विमानस्थल कालोपत्रेको काम शुरू हुन सकेन



विनोदसिंह विष्ट, बैतडी
बैतडीको पाटन विमानस्थल कालापत्रे गर्ने कार्य चैतमा सकिने दाबी गरेपनि कालोपत्रे गर्ने कार्य अझै शुरू भएको छैन। गत असारमा सक्ने लक्ष्यसहित निर्माण कार्य शुरू गरिएको विमानस्थल कालोपत्रे गर्ने कार्य समयमै नसकिँदा स्थानीय बासिन्दा निराश भएका छन्।

ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले काम गरिरहेको विमानस्थलमा कटिङ, फिटिङ र सबबेसको काम सकिएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर कविता भट्टले बताउनुभयो। काम शुरू भएपछि वर्षाका कारण काम नै ढिलो शुरू भएको र विभिन्न कारणले काममा ढिलाइ भएको हो।

विमानस्थललाई स्तरोन्नती गर्ने कार्यअन्तर्गत बेस र सबबेसको काम सकिएर अब कालोपत्रेको काम मात्रै बाँकी रहेको उहाँले भन्नुभयो–‘विमानस्थल निर्माण शुरू भएपछि इन्धनको अभाव, बेलाबेलामा हुने बन्दा हड्ताल र निर्माण कम्पनीको पनि केही लापरबाहीका कारण समयै सम्पन्न हुन नसकेको हो।’

२०७३ को चैतमा सम्झौता भएर विमानस्थल पुनर्निर्माणको काम शुरू भएको थियो। शुरूको सम्झौताअनुसार असारमा काम सक्नुपर्ने थियो। तर, सम्झौता सकिएको ८ महिना हुँदा पनि विमानस्थल कालोपत्रे हुन सकेको छैन।

पाटनमा विमानस्थलमा ५९० मिटर लम्बाई र २० मिटर चौडाईको धावनमार्ग कालोपत्रे गरिनेछ भने ७० मिटर लम्बाई र ३० मिटर चौडाईको एप्रोन कालोपत्रे गरिनेछ। यसका लागि मूल्य अभिवृद्धि कर बाहेक ११ करोड २९ लाखको लागतमा काम भइरहेको छ। विमानस्थल कालोपत्रे गर्ने कार्य समयमै नसकिने भएपछि स्थानीयबासी भने निराश भएका छन्। ‘विकास निर्माणका काम समयमै नसकिने रोग जस्तै भईसकेको पाटनका स्थानीय लोकेन्द्रप्रसाद पन्तले बताउनुभयो।

पाटनमा २०३२ सालमा विमानस्थल निर्माणको काम शुरू भएर २०३५ सालदेखि हवाई सेवा शुरू भएको थियो। पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो। त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो। २०५८ सालमा तत्कालीन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो। पाटन विमानस्थल सुचारु भएमा दार्चुलाको अपि हिमाल, बझाङको साइपाल हिमाल, बैतडी र डडेल्धुराका धार्मिक पर्यटकीय क्षेत्रमा पर्यटकहरू भित्र्याउन सजिलो हुने स्थानीयबासीको भनाइ छ। पाटन विमानस्थल तोकिएको समयमा कालोपत्रे हुन नसक्दा स्थानीयहरू सशंकित भएका छन्। गएको असारमा सक्ने भनिएको कालोपत्रे गर्ने कार्य समयमा नसकिएपछि स्थानीयबासिन्दा सशंकित भएका हन्। विकास निर्माणका काम तोकिएको समयमा सम्पन्न नहुँदा धेरै समस्या हुने गरेको नागरिकहरूको भनाइ छ।

विमानस्थल कालोपत्रे भई सञ्चालनमा आउने आशा गरेको भए पनि कालोपत्रेसमेत समयमै सम्पन्न नहुँदा निशासा छाएको स्थानीय कपिल केसीको भनाइ रहेको छ। उहाँले भन्नुभयो–‘आर्थिक अवस्था सुधार तथा पर्यटन प्रर्वद्धन गर्न सघाउने आशा भए पनि निरासा छाउँदै गएको छ।’ विमानस्थल समयमै कालोपत्रे नहुँदा निराश भएको पाटन नगरपालिकाका जानकी भट्टराईले बताउनुभयो। पाटन विमानस्थल कालोपत्रे भएर सुचारु भएमा यस क्षेत्रको धार्मिक पर्यटनको विकास हुने समेत विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्