‘आयान कुर्दी’बारे चर्चा–परिचर्चा



कवि राजेन्द्रप्रसाद अधिकारीको कविता सङ्ग्रह ‘आयान कुर्दी’माथि चर्चा गर्दै वरिष्ठ साहित्यकार नारायण ढकालले समाजका विसंगतिविरुद्धका आवाजहरू समेटिएका कवि अधिकारीका कवितामा बौद्धिकता एवं दार्शनिकता रहेको बताउनुभयो। उहाँले कविताको तुलनामा आख्यानलाई आफ्ना कुराहरू राख्न फराकिलो बाटो उपलब्ध हुने हुँदा थोरै शब्दमा धेरै कुरा व्यक्त गर्न सक्नुपर्ने जनाउँदै कविले विचारलाई समेत राम्ररी उनेको बताउनुभयो। अधिकारीका कविताहरू बौद्धिक र दार्शनिक ढङ्गको रहेको उहाँको भनाइ थियो।

कवि प्रह्लाद पोख्रेलले अधिकारीका कविताहरू सरल, सरस र चोटिलो भएको बताउनुभयो। समाजमा विद्यमान विसंगतिहरूलाई केलाउँदै मानवता र मानवाधिकारको पक्षमा उभिन अधिकारीका कविताहरू सफल रहेको उहाँले औंल्याउनुभयो। कवि पोख्रेलले ‘आयान कुर्दी’ भित्रका कविताले कविले भोगेको युगको राजनीतिक विसंगतिहरूलाई कलात्मक ढंगबाट स्पष्टरूपमा उजागर गरेको धारणा राख्नुभयो।

कवि स्नेह सायमीले कवि अधिकारीसँगको आफ्नो तीन दशकभन्दा लामो अवधिको यात्रामा जोडिएका साहित्यिक आन्दोलनका विविध पक्षहरूको बारेमा प्रकाश पार्नुभयो। उहाँले २०४६ साल चैत्र ३ गते लेखक कलाकारले कालो पट्टी बाँधेर गरेको विरोध प्रदर्शन, प्रतिभा प्रवाह कार्यक्रमको सञ्चालन गर्दाको परिस्थितिजस्ता ऐतिहासिक साहित्यिक सांस्कृतिक घटना तथा गतिविधिहरूको संक्षिप्त चर्चासमेत गर्नुभयो।

‘आयान कुर्दी’का प्रकाशक एवं कवि लिखत पाण्डेले आफूले व्यावसायिक हिसाबले नभई नेपाली साहित्यको प्रवद्र्धनका लागि यस्ता कविता सङ्ग्रहहरू प्रकाशन गर्ने गरेको बताउनुभयो। कार्यक्रमको अन्त्यमा कवि अधिकारीले सामाजिक परिवेश, घटना र समाजभित्रका विसंगति प्रवृत्तिका चित्रहरू आफ्ना कवितामा रहेको बताउनुभयो। उहाँले ‘कर्णाली विकास अभियान र अभियन्ता’, सिरियाको गृहयुद्धसँग जोडिएको शरणार्थीहरूको अवस्थाको चित्रण गर्ने ‘आयान कुर्दी’ लगायतका कविताहरूको बाचनसमेत गर्नुभएको थियो। कवि अधिकारीका यसअघि ‘खै ⁄ के हाँस्नु र ?’ र ‘आजको आकाश’ (२०४२) र आजको आकाश २०६३ संयुक्त कविता सङ्ग्रह प्रकाशित भइसकेका छन्।

भृकुटी एकेडेमिक पब्लिकेसन्सबाट प्रकाशित कविता सङ्ग्रह ‘आयान कुर्दी’मा कवि अधिकारीका २०३८ देखि २०७२ सालसम्म लेखिएका ४५ कविताहरू समेटिएका छन्।

प्रतिक्रिया दिनुहोस्