कामनालाई स्वर्ण कुचीकलम, वात्स्यायनसहित ३ लाई बरथा स्मृति सम्मान



नेपाल कार्टुनिस्ट क्लबले बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नेपाल समाचारपत्रको सहप्रकाशन कामना सिने मासिकलाई स्वर्ण कुचीकलमबाट सम्मान गरेको छ।

कामनाले हरेक वर्ष कार्टुनचित्रहरू समावेश गर्दै गाईजात्रा विशेषांक प्रकाशित गरी कार्टुन क्षेत्रको विकासमा योगदान पुर्याएबापत क्लबले सम्मान गरेको हो।

सम्मान कामनाका सम्पादक विदुर गिरीले ग्रहण गरेका थिए। सो अवसरमा कार्टुुन क्षेत्रको विकासमा योगदान पुर्याउने विभिन्न व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गरिएको छ। बबरमहलस्थित आर्ट काउन्सिलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा शताब्दी पुरुष सत्यमोहन जोशीले विभिन्न व्यक्ति तथा सस्थालाई बराथा (बलराम थापा) स्मृति सम्मान तथा स्वर्ण कुचीकलम सम्मान समर्पण गरिएको हो।

समारोहमा कार्टुनिस्ट क्लबका संस्थापक अध्यक्ष अशोकमान सिंह, प्रा. रामकुमार पाण्डे, पत्रकार डा. कुञ्जन अर्याल, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य नारदमणि हार्तम्छाली, वासुदेव विद्यादेव लुइँटेल गुठीकी अध्यक्ष सुुस्मा आचार्य र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान पनि यस सम्मानबाट सम्मानित भएका छन्।

कार्यक्रममा बलराम थापा बराथा स्मृति सम्मान–२०७२ बाट लोकिप्रय कार्टुनिस्ट दुर्गा बराल (वात्सायन), बराथा स्मृति सम्मान–२०७३ बाट मोहनश्याम खोकना तथो बराथा सम्मान–२०७४ बाट हाल अमेरिकामा रहेका धिरेशकुमार दाहाल (डिकेड) लाई सम्मान गरिएको छ। कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीलाई अशोकमान सिंहले बनाएको उनकै क्यारेक्टर कार्टुन चित्र मायाको चिनोस्वरूप प्रदान गरिएको थियो।
कार्यक्रममा बोल्दै काटुनिस्ट क्लबका अध्यक्ष अविन श्रेष्ठले नेपाली कार्टुन क्षेत्रलाई हालको अवस्थासम्म ल्याउन महवपूर्ण योगदान दिने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गर्नुपर्छ भन्ने क्लबको लक्ष्यअनुसार यो सम्मान कार्यक्रममा आयोजना गरेको बताए।

‘नेपाली कार्टुन क्षेत्र अहिले स्वर्ण युगमा छ भनिन्छ तर यो स्वर्ण युग आफैं आएको होइन। यसमा पहिलो पुस्ताका धेरै कार्टुनिस्टको योगदान रहेको छ। पहिलेका कार्टुनिस्टको काम अहिले ल्याउन नसके पनि उहाँको नाम भने पनि ल्याऔं भनेर बलराम थापाको नामबाट बारथा सम्मान गुरुदक्षिणा स्वरूप यो सम्मान अर्पण गरेका हौं’, अविनले भने– ‘यो सम्मानबाट नेपथ्यमा रहेर कार्टुन क्षेत्रलाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मन गर्दै आइरहेका छांै।’ त्यसै गरी शताब्दी पुरुष सत्यमोहन जोशीले आफू पनि कार्टुनको एक पात्र बन्ने सौभाग्य पाएकोमा आभार प्रकट गरे। जोशीले २०३३ सालमा म तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा सदस्य–सचिव रहँदा गाईजात्रालाई संस्थागतरूपमा महोत्सवका रूपमा मनाई पहिलोपटक कार्टुनको प्रदर्शन पनि शुरू गरेको स्मरण गरे। ‘मैले सदस्य–सचिवको हिसाबले गाईजात्रालाई महोत्सवका रूपमा मानउने प्रस्ताव राख्दा अन्य प्राज्ञले असहमति जनाउनुभयो। तर, पछि उक्त कार्य सफल भयो। राजादेखि मन्त्रीसम्मले उक्त कार्यक्रम हेर्नुभयो। अर्को दिन राजदरबारमा बोलाइयो र तत्कालीन गृहमन्त्रीले कार्टुनमार्फत विभिन्न नेता तथा मन्त्रीहरूको बेइज्जत गरेको भन्दै कार्यक्रम रोक्न निर्देशन दिनुभयो’, जोशीले सुनाए– ‘टिकटसमेत बिक्री गरिसकेको अवस्थामा यस्तो निर्देशन आएपछि समस्या पर्यो।

तर, पछि दरबारबाटै कार्यक्रम नरोक्न आदेश आयो र सफलतापूर्वक महोत्सव सम्पन्न भयो।’ सम्मानित कार्टुनिस्ट दुर्गा बरालले काटुनको क्षेत्रमा प्रतिभावान व्यक्ति स्वतः आउनुपर्ने तथा राजनैतिक र सामाजिक चुनौती रहे पनि निर्भिक र निष्पक्ष भएर काम गर्नुपर्नेमा जोड दिए। ‘मैले कार्टुनको क्षेत्रमा ५० वर्ष बिताउँछु भन्ने कल्पना नै गरेको थिइनँ। चित्रकलाको मोहले काठमाडौंमा आएर पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेको नयाँ सन्देश पत्रिकामार्फत यसको शुरूआत गरें’, बरालले आफ्नो कार्टुन सिर्जना यत्रा स्मरण गर्दै भने– ‘राजा ज्ञानेन्द्रको शासनकालमा मैले संवैधानिक राजतन्त्र शीर्षकको एउटा कार्टुन बनाएको थिएँ। जसको सत्ता पक्ष र विपक्ष दुवैबाट लामो समयसम्म आलोचना भयो। मलाई मृत्युदण्ड दिनुपर्छ भन्ने कुरा पनि आयो। त्यस कारण यो एकदम रिस्की काम हो, तर कसैको थ्रेटले डराउनु हुँदैन। स्वतन्त्रतापूर्वक काम गर्नुपर्छ र अरूको स्वतन्त्रताप्रति पनि सचेत हुनुपर्छ।’

डा. कुन्दन अर्यालले हाल नेपाली कार्टुन क्षेत्र स्वर्ण युगमा रहेको भन्दै कार्टुनका विषयवस्तु र स्थितिका बारेमा बेला–बेलामा छलफल र समीक्षा हुनुपर्ने बताए। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के–के कर्मचार्यले नोलमा प्रविधिको अभावमा पनि कार्टुनिस्टहरूले आफ्नो कलालाई विभिन्न तरिकाले जीवित राख्दै नयाँ पुस्तालाई कार्टुनप्रति पे्ररित गरेको बताए।

प्रतिक्रिया दिनुहोस्