प्रधान सम्पादक पुष्करलाल श्रेष्ठ गम्भीर बिरामी



नेपाल समाचारपत्र, काठमाडौं ।
कामना न्युज पब्लिकेसन (नेपाल समाचारपत्र राष्ट्रिय दैनिक) का प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा केही दिनदेखि उपचार भैरहेको छ ।

करिब चार महिना अघि नाकमा समस्या भएका कारण राजधानीको बयोधामा नाकको र ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएपनि उहाँमा विभिन्न स्वास्थ्य समस्या देखा परेपछि पुर्ण रुपमा निको हुन सकेको छैन । स्वास्थ स्थितिमा समस्या बढ्दै गएका कारण उहाँलाई थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो र केही दिनको उपचारका क्रममा चिकित्सकहरुले उहाँलाई Guillain-Barre syndrome (GBS) virus को संक्रमण भएको आशंका गरेका कारण थप उपचारका निम्ति नर्भिकले भारतको हरियाणास्थित मेदान्त अस्पताल रिफर गरेको थियो । मेदान्त अस्पतालमा करिब दुई महिनासम्म उपचार गरेपछि उहाँलाई उक्त भाइरसको संक्रमणबाट मुक्त गराई काठमाडौं ल्याएको थियो ।

काठमाडौं ल्याएपछि केही समय नर्भिक अस्पतालमा नै राखेर औषधि उपचार गर्नुका साथै फिजियो थेरापीलगायतका विधिबाट उपचार गरिएको र स्वास्थ्य अवस्था सामान्य बन्दै गएको स्थितिमा घरमा नै राखेर फिजियो थेरापीलगायतका विधिबाट उपचार गर्न सकिने चिकित्सकको परामर्शअनुसार भैंसेपाटीस्थित निवासमा राखिएको थियो ।

यसरी उहाँको नियमित उपचार प्रक्रिया चल्दै गर्दा फेरि उहाँमा गम्भीर स्वास्थ्य समस्या देखा परेपछि आइतबार देखि नेपाल मेडिसिटी अस्पताल लगि सघन उपचार कक्षमा उपचार हुँदै आएको छ । उहाँको नेपाल मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा उपचार हुँदै आए पनि उहाँको स्वास्थ्य स्थिति जटिल र स्थिर अवस्थामा नै रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

यसबीचमा उहाँको स्वास्थ स्थितिप्रति सञ्चारकर्मी, इष्टमित्र, आफन्त, राजनीतिक व्यक्तित्व, उद्योगी व्यवसायीलगायत सबै शुभेच्छुहरुले चासो राख्दै उहाँको स्वास्थ लाभको कामना गरिरहेको कामना न्युज पब्लिकेसनले विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

आर्शिवाद, शुभेच्छा र कामनाका कारण उहाँमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि भई पुनः सक्रिय पत्रकारिता गर्न सक्षम हुने अपेक्षा पब्लिकेसनले राखेको छ ।

प्रतिक्रिया दिनुहोस्