शैक्षिक हड्तालका कारण परीक्षा प्रभावित



सरिता चलाउने, सल्यान ।
सल्यानमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीले आयोजना गरेको शैक्षिक हड्तालका कारण कक्षा ५ र ८ को परीक्षा प्रभावित भएको छ ।

जिल्लाभर शुक्रबारदेखि शुरु भएको परीक्षा हड्तालका कारण आईतबारको परीक्षा प्रभावित भएको हो । आइतबार अंग्रेजी विषयको परीक्षा भएपनि हड्तालका कारण परीक्षाको अन्तिम दिन गराउनुपर्ने बाध्यता भएको जनकल्याण नमुना माध्यमिक विद्यालय थारमारेका प्रधानाध्यापक पूर्णबहादुर भण्डारीले बताउनुभयो ।

शैक्षिक हड्ताल भएको थाहा नपाएका विद्यार्थीहरु विद्यालयमा आएर फिर्ता भएका छन् । हड्तालका कारण नगर, गाउँपालिका स्तरिय वार्षिक परीक्षा दिनबाट सयौं विद्यार्थी वञ्चित भएका छन् ।

आफ्ना संगठनका पूर्व (जिल्ला सचिव मदन केसी, वर्तमान सचिव गणेश आरसी र युवा संगठनका सचिव खुम केसीलाई पक्राउ गरिएको विरोधमा एक दिने शैक्षिक हड्तालको आयोजना गरिएको अखिल क्रान्तिकारीले जनाएको छ । पक्राउ परेका संगठनका नेताहरुलाई विना शर्त रिहाइ नगरिए थप चरणबन्द आन्दोलनको घोषणा गर्ने संगठनका जिल्ला अध्यक्ष टंक प्रकाश केसीले विज्ञप्ति जारी गरी चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्