हेटौंडा बर्डफ्लु प्रभावित क्षेत्र घोषित, ४१ हजार ५ सय कुखुरा नष्ट गरिन



नेपाल समाचारपत्र
हेटौंडा
हेटौंडामा बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरापालक किसानलाई उचित क्षतिपूर्ति दिएर कुखुरा नष्ट गरिने भएको छ। बर्डफ्लु संक्रमित पाइएको वडा नम्बर–७, नागस्वतीका कुलप्रसाद चौलागाईंले सञ्चालन गरेको फर्मबाट दायाँबायाँ सीमा निर्धारण गरी सोभित्रका जिउँदा ४१ हजार ५ सय कुखुरा नष्ट गरिने भएको हो।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा व्यवसायी र किसानसहितको बैठकले उचित क्षतिपूर्तिसहित संक्रमित क्षेत्रका लेयर्स कुखुरा नष्ट गर्नेे निर्णय गरेको हो। हेटौंडा–७ मा रहेका ४८ वटा फर्ममध्ये २८ वटा फर्ममा मात्र कुखुरा बाँकी रहेको र ती फर्मको कुखुरा नष्ट गरिने प्रजिअ तामाङले बताउनुभयो। सीमाक्षेत्र बाहिरका कुखुरा फर्ममा पशु चिकित्सक टोली परिचालन गरी रोग नियन्त्रणका लागि नमूना संकलन गर्ने र रोग प्रमाणित भए कुखुरा नष्ट गर्ने निर्णय भएको छ। संक्रमित क्षेत्रका ५० किसानले ७ करोड लागतमा एक लाख कुखुरापालन गरेका छन्।

शुक्रबार बसेको बैठकले बर्डफ्ल नियन्त्रणका लागि आवश्यक जनशक्ति अस्पतालहरू तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरबाट माग गर्ने र नपुग जनशक्ति उच्च निकायबाट माग गरी रोग नियन्त्रण कक्षका संयोजकले खटाउने निर्णय गरेको छ। पशु सेवा विभागको प्राप्त पत्रअनुसार तोकिएका चार किल्ला किल्लाका घरपालुवा पन्छी तथा पन्छीजन्य पदार्थ नष्ट गरी उचित विसर्जन गरिने बताइएको छ। चार किल्ला क्षेत्र बाहिरका कुखुरा तथा पन्छीको निरन्तर सर्भिलेन्स गरी नमूना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाइने र प्रयोगशालाबाट वर्डफ््ल प्रमाणित भए उक्त खोरका पन्छी नष्ट गरी विसर्जन गरिने छ।

पन्छी तथा पन्छीजन्य पदार्थ नष्ट गरिसकेपछि जसको नष्ट गरिएको हो, उनै किसानको जग्गामा उचित विसर्जन गर्ने निर्णय पनि भएको छ। नष्ट गरिएका पन्छी तथा पन्छीजन्य पदार्थको क्षतिपूर्तिको दररेट निर्धारण गर्न वर्डफ्ल नियन्त्रण आदेश, २०६४ बमोजिम क्षतिपूर्तिका लागि पशुसेवा विभागमा सिफारिस गरिने बताइएको छ।

क्षतिपूर्ति निर्धारणका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ। मकवानपुर कुखुरा व्यवसायी संघले जिउँदो लेयर्स प्रतिगोटा ९ सय, ब्रोइलर ४ सय, दाना प्रतिकिलो ६५ रुपियाँ र अण्डा प्रतिगोटा ११ रुपियाँ मूल्य निर्धारण गरी जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिलाई शनिबार पत्र बुझाउने भएको छ। बर्डफ्लु संक्रमण देखिएको चौलागाईंको फर्मका ६ हजार कुखुरा मरेका थिए। अनपेक्षितरुपमा कुखुरा मरेको किसानको गुनासोपछि पशु चिकित्सक टोली संक्रमित क्षेत्र पुगेको थियो। टोलीले संक्रमित क्षेत्रबाट ५ वटा फर्मबाट १० वटा नमूना संकलन गरी जाँचका लागि केन्द्रीय प्रयोगशाला पठाएको थियो। सोको रिपोेर्ट २५ दिनपछि आउँदा किसानको खोर रित्तिएको स्थानीयको गुनासो छ।

बर्डफ्लु प्रभावित क्षेत्रमा चार किल्ला तोकेर कुखुरा र कुखुराजन्य पदार्थ निर्यातमा रोक लगाएपछि प्रजिअ तामाङको अध्यक्षतामा मकवानपुर कुखुरा व्यवसायी संघ, पशुसेवा विभाग काठमाडौंका प्रतिनिधि तथा जिल्लाका कुखुरा व्यवसायी र उपभोक्तावादी संघसंस्थाका प्रतिनिधिबीचको बैठकमा चर्काचर्की परेको थियो। बैठकमा बर्डफ्लु घोषणा हुनुपूर्व मरेका कुखुराको क्षतिपूर्तिको विषयले महत्व पाएको थियो। किसानलाई उचित क्षतिपूर्ति नदिएर कुखुरा मार्न आए उनीहरूलाई लखेट्ने किसानले चेतावनी दिएका थिए।

उपभोक्ता अधिकारकर्मीले राज्यले उचित क्षतिपूर्ति दिएर कुखुरा नष्ट गर्नुपर्ने बताएका थिए। यदि नष्ट नगरिए मानव स्वास्थ्यमा पर्ने असरको जिम्मा सरकारले लिनुपर्ने उनीहरूले चेतावनी दिएका छन्। संघले उचित क्षतिपूर्ति दिए कुखुरा मार्न तयार भएको भन्दै राज्यले यसबारे सोच्नुपर्ने बताएको छ। केन्द्रीय पशु विभागका पशु चिकित्सकले राज्यले तोकेभन्दा बढी क्षतिपूर्ति दिन नसकिने बताएपछि लामो समय विवाद भएको थियो। बैठकमा कुखुरा मार्ने वा उच्च निगरानीमा राख्ने भन्ने विषय उठान भएको थियो।

रोेगको संक्रमण फैलन सक्ने भन्दै प्रशासनले बिहीबारबाट पन्छीजन्य उत्पादन ओसारपसारमा रोक लगाएको थियो। शुक्रबारको बैठकपछि प्रशासनले सिल गरेका क्षेत्रबाहेक अन्यत्रका उत्पादन बिक्री वितरण खुला गरेको छ। प्रजिअ तामाङले पशु चिकित्सकको सिफारिसमा बिक्री वितरण खुला गरिएको बताउनुभयो। प्रशासनले पन्छीजन्य उत्पादन बिक्रीका लागि पशु चिकित्सक भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र प्रमुख चेतनारायण खरेलको सिफारिस अनिवार्य हुनुपर्ने बताएको छ। रोग प्रभावित क्षेत्रमा फागुन १३ अगाडि गम्बारो र रानीखेतसहितको संक्रमण देखिएको रिपोर्ट भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रले दिएको थियो।

प्रतिक्रिया दिनुहोस्