दश मुक्तक



कृष्णकुमार वैद्य, बनेपा
१) फास्टट्रयाक
थोरै कर्मचारीबाट धेरै काम लिने रे
प्रोत्साहनस्वरूप बढी नै भत्ता दिने रे
भ्रष्टाचारको फास्टट्रयाक पो खुलेको हो कि–
शासकले सुशासनको तरिका चिने रे ⁄
२) बन्द बिर्को
डीडीसी भित्र पनि माखन चोर पसेछ
बन्द बिर्को बट्टाबाट दही कता खसेछ
मह काढ्नेले हात चाट्छ भन्ने सुन्या थिएँ–
दही चाट्ने कर्मचारी त काण्डमा फसेछ।
३) उच्च आसन
निर्दोष मार्ने हात चिलाउँछ
मारेर आए जुस पिलाउँछ
जति ठूलो दुष्कर्म गर्न सक्यो–
त्यति उच्च आसन दिलाउँछ।
४) गलगाँडो
ठूलो स्वरले बज्छ रित्तो भाँडो
बोक्रे धाक उघ्रन्छ ढिलो चाँडो
ढाक छोप गर्लान् केही बेर–
घाँटीमा झुन्डिएको गलगाँडो।
५) पाखण्ड
मास्टर्नी भएर बच्चालाई नै झोला बोकाउने
स्कुलमा ठूलो स्वरले नैतिक शिक्षा घोकाउने
बालअधिकारको नारा कागजको खोस्टा भयो–
कानुन कहाँ गो पाखण्डलाई नेल ठोकाउने।
६) साहस
मेरो देशको नक्सा बिलाउने पो हो कि
लुटेका सिमाना बरु मिलाउने पो हो कि
फर्काउने साहस गर मिचिएको सीमा–
च्यातिएको भागहरू सिलाउने पो हो कि ⁄
७) ब्युरोक्रेसी
नाइँ नाइँ बाबा चाहिँदैन सिंहदरबार पनि
राज गर्न आऊलान् गाउँ उनकै घरवार भनी
चलामाला देखेकै हो दरबारमा बस्नेहरूको–
उँघेर दिन काट्छन् ब्युरोक्रेसीको तरबार बनी।
८) जिब्रो
बोल्या जस्तो कहिले गर्ने हो पूरा
बाँदर पनि पत्याउँदैनन् कुरा
विनाहाडको जिब्रो धेरै पल्टायो–
फर्केर त हेर कति छन् अधुरा।
९) खेलबाड
यस्ता पनि डाक्टर देख्नुभो त चाला
यसरी के रोग निदान गरी खाला
जनस्वास्थ्यमा यस्तो खेलबाड गर्ने–
कुबुद्धिको अन्त्य कहिले भइजाला।
१०) कसी
हेर्नलाई दुर्बिनको बिर्को खोल्नु पर्दैन
मार्नलाई बोलीमा विष नै घोल्नु पर्दैन
कति दूरदर्शी छन् नेता भनाउँदाहरू–
सुन जाँच्न कसी लाउने हो पोल्नु पर्दैन।

प्रतिक्रिया दिनुहोस्