विदेशी रोज्ने बलिउड सुन्दरी



रश्मी थापा
विदेशीलाई जीवनसाथी चुन्ने बलिउड नायिकको कुरा गर्नुपर्दा बलिउडमा मानिसहरू प्रियंका चोपडालाई सम्झन्छन्। केही महिनाअघि मात्र हलिउड गायक निक जोन्ससँग विवाह गरेकी प्रियंकाको विवाहको स्मरण मानिसहरूको मनमा अहिलेसम्म पनि ताजै छ। तर, बलिउड नगरीमा विदेशी युवकसँग प्रेम रोमान्स र विवाह कुनै नौलो कुरा होइन। प्रियंका मात्र नभएर बलिउडका अन्य हिरोइनले पनि विदेशीलाई आफ्नो जीवनसाथीका रूपमा चुनेका छन्।

प्रीति जिन्टा
बलिउडकी डिम्पल गर्ल प्रीति जिन्टाले पनि विदेशीलाई आफ्नो जीवनसाथीका रूपमा चुनिन्।
तर कुनै बेला सिनेमा डाइरेक्टर शेखर कपुर र प्रीतिको प्रेम सम्बन्ध चर्चामा रहेको थियो। भनिन्छ प्रीतिसँगको प्रेम सम्बन्धका कारण नै शेखर कपुरको विवाह टुटेको थियो। यो कुराको खुलासा शेखरकी पत्नी सुचित्रा कृष्णमुर्तीले गरेकी थिइन् तर प्रीतिले भने सुचित्राको भनाइलाई पागलपनको संज्ञा दिएकी थिइन्।
प्रीतिले सन् २०१६ मा आफूभन्दा १० वर्ष कान्छा अमेरिकी ब्याङ्कर जिन गुडइनफसँग विवाह गरिन्। लस एन्जलसमा भारतीय रीतिरिवाजअनुसार विवाह गरेकी उनी हाल फिल्मी दुनियाँबाट टाढा छिन्।

रिना राय

Reena Roy

कुनै समय बलिउडकी चर्चित अभिनेतृ रिना रायको पाकिस्तानी क्रिकेटर मोहसिन खानसँग जोडतोडले रोमान्स चलेको थियो। पछि उनीहरूले विवाह गरे। विवाहपश्चात् मोहसिन क्रिकेट छोडेर फिल्मतिर लागे पनि सफलता भने पाएनन्। विवाहपछि रिना केही समय पाकिस्तानमै बसिन्। तर पछि उनीहरूले आ–आफ्नो बाटो रोजे।

माधुरी दीक्षित
बलिउडमा धकधक गर्लका रूपमा पहिचान बनाएकी माधुरी दीक्षितको नाम ९० को दशकमा अभिनेता सञ्जय दत्तसँग जोडिएको थियो। सञ्जय र माधुरीले खतरोंके खिलाडी, इलाका, साजन, खलनायकजस्ता फिल्ममा एकसाथ काम गरेका थिए। नाम जोडिए पनि उनीहरूले भने कहिल्यै यसबारे मुख खोलेनन्। सन् १९९३ मा बम्बई ब्लास्ट काण्डमा मुछिएका कारण सञ्जयलाई गिरफ्तार गरिएपछि उनीहरूको सम्बन्ध सकिएको र उक्त समय माधुरी सञ्जयलाई भेट्नसमेत नगएको बताइन्छ।
सन् १९९९ मा माधुरीको करिअर शिखरमा पुगिसकेको थियो। निर्माता निर्देशकहरू उनलाई आफ्नो फिल्ममा लिएपछि फिल्म हिट हुनेमा ढुक्क हुन्थे। तर यही बेला उनले अमेरिका बस्ने भारतीय मुलका निर्देशक डाक्टर श्रीराम माधव नेनेसँग मराठी रीतिरिवाजअनुसार विवाह गरिन्। उनीहरूका दुई सन्तान छन्।

किम शर्मा
बलिउड नायिका किम शर्माले केन्याका एक विजनेसम्यानलाई पतिका रूपमा रोजिन्। विवाहको केही वर्षसम्म राम्रै चलेको उनीहरूको दाम्पत्य सम्बन्ध अहिले छुटिसकेको छ।

सेलिना जेट्ली
फिल्म जानशीबाट बलिउडमा डेब्यु गरेकी नायिका (मिस इन्डिया २००१) सेलिना जेट्लीले पनि विदेशी पति रोजिन्। उनले अस्ट्रेलियन नागरिक पिटर हागसँग सन् २०११ मा विवाह गरेकी हुन्। दुबईमा पहिलोपटक पिटरसँग सेलिनाको भेट भएको थियो। यसपश्चात् हाग सेलिनाको परिवार भेट्न भारत गए र पछि विवाह गरे। सेलिना विवाहपश्चात् फिल्मबाट टाढा छिन्।

निना गुप्ता

भारतीय अभिनेतृ निना गुप्ताको नाम पनि विदेशीसँग विवाह गर्ने नायिकाको लिस्टमा आउँछ। उनले बेस्ट इन्डिजका चर्चित पूर्वक्रिकेटर भिभियन रिचर्डससँगको अफेयरको करिब एक वर्षपछि छोरी जन्माइन्। उनीहरूले विवाह गरेनन् तर कहिल्यै पनि आफ्नो सम्बन्ध लुकाएनन्। उनीहरूकी छोरी मसाबा गुप्ता एक चर्चित फेसन डिजाइनर हुन्।

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्