ज्ञानेन्द्रको तराईमा सक्रियता बढ्यो



ईश्वरराज ढकाल, काठमाडौं
मध्यतराईको भ्रमणमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहको थप भ्रमण तालिका  आमा रत्नको स्वास्थ्य अवस्थापछि मात्रै सार्वजनिक हुने भएको छ। जनकपुरमा रहनुभएका ज्ञानेन्द्रले ३ गतेसम्म पहिलो चरणको भ्रमण गर्नुहुने भएको छ।
उहाँले हिजो शुक्रबार दिउँसो जनकपुरको प्रसिद्ध जानकी मन्दिरमा पूजाअर्चना गर्नुभएको थियो। आज शनिबार उदयपुर जाने र पर्सि सप्तरीको मन्दिरमा पूजा गर्ने कार्यक्रम रहेको छ। उहाँले आफूलाई स्वागत गर्न बसेका जनतासँग बाटोमै सामान्य कुराकानी गर्नुभएको थियो।
मध्यतराईको भ्रमणमा स्वागत गर्ने लहर बढेपछि प्रसन्न हुनुभएका ज्ञानेन्द्रले ३ गते झापा पुगेपछि केही राजनीतिक भेटघाट गर्नुहुने भएको छ। अस्ति बिहीबार मलंगवाको धार्मिक भ्रमणमा निस्कँदा उहाँलाई सयांै स्थानीयले स्वागत गरेका थिए।
‘जनकपुरको सीताशरण होटलमा बस्दै आउनुभएका उहाँले होटलमा कसैसँग भेट गर्नुभएको छैन। भेटघाट कार्यक्रम झापा पुगेपछि मात्रै तय हुनेछ।’ –उहाँनिकट स्रोतले नेपाल समाचारपत्रसँग भन्यो। ‘गएको फागुन २१ गतेदेखि नर्भिक अस्पताल भर्ना हुनुभएकी ९१ वर्षीया आमा रत्नको स्वास्थ्य अवस्था कस्तो हुन्छ, त्यसपछि मात्रै थप भ्रमण कार्यक्रम तय हुनेछ।’ –स्रोतले भन्यो।
चैत महिनाभरि झापामै बस्ने तयारी गर्नुभएका ज्ञानेन्द्र झापाबाटै भारतको सिक्किम, दार्जिलिङलगायत स्थानमा भ्रमण गर्ने कार्यक्रम तय भएको छ। हालसम्म कहिले भ्रमण गर्ने भन्ने विषयमा जानकारी नभएपछि उहाँ चैत अन्तिममा भारत जाने कार्यक्रम रहेको छ।
पछिल्लो समय हिन्दू राज्य र राजतन्त्रको वकालत गर्दै आएको राप्रपा नेपाल र राप्रपाले देश दौडाहा शुरू गरेसँगै ज्ञानेन्द्रले समेत सक्रियता बढाउनुभएको छ। उहाँले केही राजावादीसँग कुराकानी गर्दै हिन्दू राज्यको पक्षमा लाग्न आह्वानसमेत गरिसक्नुभएको छ। धार्मिक भ्रमणमार्फत जनचाहना बुझ्दै गरेका ज्ञानेन्द्रले पछिल्लो समय सक्रियता बढाउन थाल्नुभएको छ।
मध्यतराई भ्रमणपछि उहाँ पूर्वका केही जिल्ला जाने कार्यक्रम रहेको छ। गत वर्ष राप्रपाका तेस्रो तहका नेतालाई भेटेर हिन्दू राज्यको पक्षमा अघि बढ्न आश्वासन दिनुभएका ज्ञानेन्द्रले यो भ्रमणलाई अति सफल दाबी गर्नुभएको छ। उहाँको भ्रमणमा शिवसेना नेपालले सक्रिय भूमिका खेलेको छ।
शिवसेना नेपालको व्यवस्थापनमा भएको धार्मिक भ्रमणमा शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतले नेतृत्व गर्दै आउनुभएको छ।
उहाँका सबै भ्रमणमा बस्नेत अग्रपंक्तिका देखिनुहुन्छ। यसअघि पोखरा भ्रमणको क्रममा पश्चिमाञ्चलका करिब ४ सय जनालाई भेट गरी आफ्नो अभिमत साट्नुभएका ज्ञानेन्द्रले मध्यतराई र पूर्वका राजावादी, राप्रपा नेपाल र राप्रपाका स्थानीय र माथिल्लो दर्जाका नेतालाई भेट गरी जनमत लिने तयारीमा लाग्नुभएको छ।
‘मध्यतराईको भ्रमण सकेपछि आमाको स्वास्थ्य अवस्था हेरेर काठमाडौं आउने वा उतै बसेर भेटघाट गर्ने भन्ने विषयमा टुङ्गो लाग्नेछ।’ –स्रोतले भन्यो।
ज्ञानेन्द्रको भ्रमणमा निजी सचिव सागर तिमिल्सना, संवाद सचिव डा. फणीराज पाठक, निजी सहयोगी सुदन थापा, करिब तीन दर्जन सशस्त्रका सुरक्षाकर्मीलगायतको टोली छ। भ्रमण गर्नुअघि सो टोलीले सबै स्थानमा रेकी गरी सुरक्षा अवस्थाबारे जानकारी लिने गरेका छन्।
उदयपुरमा रेकी गरी सुरक्षाको अवस्थाबारे जानकारी लिइसकिएको छ। झापास्थित आफ्नै स्वामित्वमा रहेको हिमालयन टी स्टेटमा बस्दै आउनुभएका ज्ञानेन्द्रले झापाबाटै अन्य जिल्ला भ्रमणको तय गर्ने गर्नुभएको छ।
उता १२ दिनदेखि नर्भिकमा भर्ना हुनुभएकी रत्नको स्वास्थ्य अवस्थामा सुधार हँ्ुदै गए पनि बुढ्यौलीका कारण केही समस्या देखिएकाले उहाँलाई अस्पतालमै राखिएको छ। आफ्नी हजुरआमाको स्वास्थ्य अवस्थाप्रति चिन्तित पूर्वयुवराज पारस अधिकांश समय अस्पतालमै रहने गर्नुभएको छ।
कमलादीस्थित शोभा शाहको निवासमा बस्दै आउनुभएका पारस दिनरात हजुरआमाकै सेवामा लाग्ने गर्नुभएको छ। उहाँको साथमा पूर्वरानी कोमल पनि सँगै रहनुभएको छ। झापा रहँदै आएकी कोमल सासू बिरामी भएपछि काठमाडौं फर्किनुभएको थियो। ‘आज शनिबार भयो, आइतबार वा सोमबारभित्र उहाँलाई डिस्चार्ज गर्ने तयारी भएको छ।’ –निर्मल निवास स्रोतले भन्यो।
– व्यवस्थापनको जिम्मा शिव सेनालाई
– आमाको स्वास्थ्य अवस्थापछि अन्य जिल्लाको भ्रमण मिति तय हुने

प्रतिक्रिया दिनुहोस्