एपिएफको पोष्टमा क्यामरुनको ३ गोल



गणेश घिमिरे, इलाम ।
सशस्त्र प्रहरीको एपिएफ क्लब काठमाडौंलाई पराजित गर्दै क्यामरुनको दाउफिन्स फूटबल क्लब इलाममा जारी पाँचौं संस्करणको माईभ्याली गोल्डकप फूटबलको सेमिफाईनलमा प्रबेश गरेको छ ।

बिहीबार सम्पन्न खेलमा एपिएफलाई ३–१ गोल अन्तरले पाखा लगाउँदै दाउफिन्सले अन्तिम चारको स्थानलाई सुरक्षित बनाएको हो । खेलको १४ औं मिनेटमा दाउफिन्सका मिसिकेलले गोल गर्दै अगं्रता दिलाएका थिए ।

त्यसको ६ मिनेट बित्न नपाउँदै २० औं मिनेटमा मिसिकेको क्रस पासलाई सदुपयोग गर्दै पेटङ्गाले ब्यक्तिगत पहिलो र टिमका लागि दोश्रो गोल गरे । दुई–शुन्यले पछि परेर दबाबमा परेको एपिएफले ३६ औं मिनेटमा एक गोल फर्काउन सफल भयो । टोपबहादुर बिष्टले लङ रेञ्जबाट प्रहार गरेको बल दाउफिन्सका गोलरक्षक प्रिसोले पञ्च गरेर बचाएपनि रिवाउन्स बललाई हरि कार्कीले गोलमा परिणत गरे । कार्कीले गरेको गोल सान्त्वना गोल मात्र भयो तर जीतका लागि पर्याप्त बन्न सकेन । एपिएफले गोल अन्तर २–१ मा छोटयाउँदै कमब्याक गर्ने संकेत देखाएको थियो ।

पहिलो हाफमा २–१ को अग्रता लिएको दाउफिन्सलाई एपिएफले दोस्रो हाफमा दबाबमा राख्ने प्रयास गरेपनि उल्टो गोल खान पुग्यो । दाउफिन्सको तर्फबाट ६२ औं मिनेटमा सिलोको कर्नर प्रहारमा पेटङ्गाले पेनल्टि क्षेत्रबाट उत्कृष्ट हेड गोल गर्न सफल भए । एपिएफले खेलमा फर्कन पटक पटक प्रयास गरेपनि सफल हुन नसक्दा एपिएफ अफ्रिकन मुलको बिदेशी पाहुना टिम क्यामरुनको दाउफिन्स संग स्तब्ध बन्दै घर फर्कन बाध्य भयो । यी दुवै टिम सिधै बाई पाएर क्वार्टरफाईनलमा भिडेका हुन् । खेलको ७१ औं मिनेटमा रुप बहादुर लामाले वान भर्सेस वानको अवस्थामा समेत गोल गर्न सकेनन् ।

यसै बर्षबाट देशका बिभिन्न स्थानमा भएका गोल्डकपमा सहभागिता जनाएर तहल्का मच्चाउँदै आएको दाउफिन्सलाई माईभ्याली गोल्डकपमा उपाधिको प्रमुख दाबेदार टिम मानिएको छ । माईभ्याली गोल्डकपमा सहभागिता जनाएका बिदेशी पाहुना टिममध्ये दाउफिन्सले मात्र सेमिफाईनलको यात्रा तय गरेको हो । नेप्लिज फूटबल एकाडेमी हङकङ प्रि क्वार्टरफाईनलबाटै र युनाइटेड दार्जिलिङ्ग भारत क्वार्टरफाईनलबाट बाहिरीसकेका छन् । बिहीबारको खेलमा दाउफिन्सका पेटङ्गा म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा शुक्रबार अन्तिम क्वार्टरफाइनल खेल हुँदैछ ।

अब शुक्रबार अन्तिम क्वार्टरफाईनल खेल विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी र मेची नेत्रालय झापा काकडभिट्टा बीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताको फाईनल खेल आउँदो चैत ५ गते हुनेछ । नेपाल, भारत, हङकङ र क्यामरुनका गरि १० टिमको सहभागिता रहेको प्रतियोगिताका विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छ । उत्कृष्ट खेलाडीले एकथान मोटरसाईकल प्राप्त गर्ने आयोजक माईभ्याली फूटबल क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्