कैदीबाट घूस लिएको आरोपमा जेलरविरुद्ध मुद्दा



हेटौंडा ।
कैदीबाट घूस लिएको अभियोगमा पक्राउ परेका भीमफेदी गापा–६ स्थित भीमफेदी कारागारका जेलर (शाखा अधिकृत) मदन अधिकारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

लागुऔषध मुद्दाका कैदीलाई अन्यत्र सरुवा गरिदिने भनी धम्क्याएर ७५ हजार घुस लिएको दाबी गर्दै पक्राउ गरी अख्तियारले २९ वर्षीय जेलर अधिकारीविरुद्ध मुद्दा दायर गरेको हो । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले ७५ हजार घुससहित पक्राउ गरेको थियो ।

अख्तियारका डीएसपी केशब भट्टराईको नेतृत्वमा गएको टोलीले जेलर अधिकारीलाई फागुन १० गते रकमसहित पक्राउ गरेको हो ।

कारागारका चौकीदार डानियल लामालाई पैसा नदिए अन्यत्र कारागारमा सरुवा गरिदिने धम्की दिँदै जेलर अधिकारीले घुस मागेको अख्तियारको भनाइ छ । लामो समयदेखि अधिकारीले चौकीदारलाई सरुवाको बहानामा रकम माग्दै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्