लुट्न सके लुटमा मुलुकको यथार्थ प्रस्तुत गरेको थिएँ –पशुपति शर्मा



लमजुङ, (नेस)। लमजुङको सदरमुकाम बेसीशहरमा आयोजना गरिएको गण्डकी प्रदेशस्तरीय छैठौं लमजुङ महोत्सवमा चर्चित लोकगायक पशुपति शर्माको प्रस्तुती सुन्न र हेर्न दर्शकको ओइरो लागेको छ।

शर्मा आउने थाहा पाएपछि उनको प्रस्तुती हेर्नका लागि महोत्सवस्थलमा वृद्धवृद्धा र युवाहरूको घुइँचो लागेको थियो। शर्माले गीत गाउँदा दर्शकहरू नाच्दै थप हौसला दिइरहेका थिए। पशुपतिले हालै युट्युबबाट हटाएको लुट्न सके लुट बोलको गीत सुन्न गएका दर्शकलाई भने उनले निरास बनाए। त्यो गीतका बारेमा बोल्न भने उनले छुटाएनन्। भने– ‘म कुनै राजनीतिक दलप्रति आस्था नभएको मान्छे हुँ।

त्यो गीतमा दलीय हिसाबले नभएर मुलुकमा भएको यथार्थ प्रस्तुत गरेको थिएँ।’ उनले त्यो गीत धम्कीले नभएर सल्लाह सुझावको आधारमा हटाएको पनि उल्लेख गरे। उक्त गीतको सिलसिलामा केही तस्वीरहरू भुलबस परेको र आफँले सच्याएर गीतसमेत हटाएको जानकारी दिएका थिए।

त्यसअघि गायकहरू निशा लामा, कुसुम गुरुङ, शान्ति सुनार, तिलक गुरुङलगायतका कलाकारले आ–आफ्नो प्रस्तुती दिएका थिए। त्यस्तैै हास्यव्यंग्यकार दिनेश काफ्लेले प्रहसन प्रस्तुत गरेका थिए। यसैगरी, गायक सञ्जीवसिंह रानाले पप आधुनिक गीतहरू प्रस्तुत गरी महोत्सवमा रौनकता थपेका थिए। ‘स्थानीय उत्पादन संस्कृति तथा पर्यटन, नागरिक समृद्धिका लागि लगानी वातावरण’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको हो।

प्रतिक्रिया दिनुहोस्