जातीय विभेद अन्त्य होस्



हाम्रो समाजमा रूप, जात, थर, लिंग आदिबाट एकले अर्कोलाई होच्याउने चलन छ। यसरी होच्याउने गर्दा कतिपयले ग्लानीको महसुस गर्छन्। रूप र लिंग त लुकाउन मिल्दैन तर जातको हकमा कतिले आफ्नो वास्तविक जात थर लुकाउने गरेको पाइन्छ। कुसुण्डालाई पनि कसैले कुसुण्डा भनिदियो भने रिसाउँछन्। गाउँघरमा यसरी बोलाउनुलाई होच्याएर अपशब्दका रूपमा बुझ्छन्। यसरी नै विभिन्न जाति, जनजाति, उत्पीडित वर्गका मानिसले जात–थरबाट बोलाउँदा रिसाएर विकल्प खोज्ने क्रममा अरू नै जात लेखाउने र बोलिचालीमा प्रयोग गर्ने चलन सबैतिर देख्न पाइन्छ। तर अचेल सामाजिक सुरक्षा भत्ताका कारण धेरैले आफ्नो वास्तविक जात–थर लुकाउन छाडेका छन्।

सरकारले कुसुण्डा, राउटे, हायु, मेचे, बनकरिया, किसानलगायतका १० जातिलाई सामाजिक सुरक्षा भत्ताबापत मासिक दुई हजार रुपियाँ उपलब्ध गराउने गरेको छ। तर उनीहरूमध्ये कसैले शाही, कसैले सेन, कसैले ठकुरी, कसैले खान आदि लेख्ने गरेका थिए। कुनै समयमा आफूहरू जंगलका राजा भएकाले आफूहरू ठकुरी भएको भनाइ कुसुण्डा, राउटे जातिको छ। फिरन्ते जातिमा पर्ने राउटे जाति कुसुण्डाका प्रजा हुन् भन्ने मान्यता पनि छ। समाजमा कसैले कुनै पनि मनगढन्ते परिभाषा लगाउन सक्छ। यो खासै अन्यथा होइन। तर, जातीय पहिचान छिपाउँदा कुन मानिस कुन समूहको हो, कुन धर्मको अनुयायी हो, उसलाई सरकारले कुन श्रेणीमा राख्ने भन्ने कुरामा अलमल हुन्छ।

गाँउघरमा अचेल पनि दुग्धजन्य पदार्थ खान मानेन भने कुसुण्डो भनेर भन्ने गरेको पाइन्छ। यो भनाइले जंगली वा असभ्य जनाउँछ। कतिपयले आफ्ना बालबालिकालाई गाली गर्नको लागि पनि यो शब्द प्रयोग गरेको पाइन्छ। यो मात्र हैन, अन्य थरहरूलाई गालीको रूपमा भन्ने गरेको सुनिन्छ। त्यसरी नै नेत्रहीन, अन्य शारीरिक अपांग भएका व्यक्तिलाई चोट पुग्ने गरी गाली गर्ने चलन गाउँघरमा जहाँतहीँ सुन्न पाइन्छ। उपल्लो जात भनाउँदाहरूले तल्लो जातिका भनिने मानिसलाई गालीको शब्द बनाएका हुन्छन्। यो सामाजिक अपराध हो। कसैलाई पनि चोट पुग्ने गरी शब्दहरू प्रयोग गर्न पाइँदैन। तर सानैदेखि लागेको बानी भनेर त्यस्ता शब्दहरू प्रयोगमा आउने गरिरहेका छन्, जसले गर्दा जात छिपाउन बाध्य हुनुपरेको छ।

अहिले राजनीतिक परिवर्तन हुनुका साथै सरकारले भत्ता दिने व्यवस्था मिलाएपछि सबै आफ्नो जातमा खुल्न थालेका छन्। साथै हेपाहा ढंगबाट कसैले आफ्नो जातको प्रयोग गर्दा त्यसको प्रतिकार पनि गर्न थालेका छन्। यसो हुनु जरुरी थियो। किनभने कसैले पनि अरूको जात थर, रूप, लिंग उच्चारण गरेर कसैलाई पनि हेप्न मिल्दैन। सबैको सबैले आदर गर्न जान्नुपर्छ। मानिस भएर मानिसको सम्मान गर्न जान्नुपर्छ। सामन्तवादी शासन प्रणाली अहिले छैन। सामन्तहरूले गरिबहरूलाई जात तोक्ने र हेपेर बोल्ने जुन चलन थियो, त्यो अहिले छैन। कसैले पनि त्यसरी कसैलाई हेप्न मिल्दैन।

कुसुण्डा जातिका मानिसले अहिले पनि दुग्धजन्य पदार्थ खाँदैनन्। गाईभैंसीले कुश खाने भएकाले दुग्धजन्य पदार्थ उनीहरूले नखाएको मान्यता छ। कुशलाई सीताको कपालको रूपमा उनीहरूले अथ्र्याउने गरेका छन्। उनीहरूले खुर भएका पशुको पनि मासु नखाने चलन छ। त्यस्ता त्यागी कुसुण्डाहरू गालीको पात्र बन्ने गरेका हुन्छन्। उनीहरू लोप नभएर पनि समाजबाट गाली खानुपरेको कारणले जात फेर्ने गर्दा लोप भएको मानिएका हुन् कि भन्ने अनुमान गरिएको छ। २०६८ सालको राष्ट्रिय जनगणनाले देशमा कुसुण्डा जातिको जनसंख्या २ सय १३ जना रहेको देखाएको छ।

कुनै पनि समाजमा अनेक नश्लका मानिसहरूको बसोबास रहेको हुन्छ। कोही पूर्व, कोही पश्चिम, कोही उत्तर र कोही दक्षिणबाट आएर बसोबास गरेका हुन्छन्। सबैको लागि सबै थरीका मानिसको आवश्यकता पर्छ। अनुहारले भन्दा पनि मानिसले जानेको सीप आवश्यकता हुन्छ। कसैले कुन काम जानेको हुन्छ, कसैले कुन सीप सिकेको हुन्छ। त्यो सबै विनिमय गरेर नै समाज टिकेको हुन्छ। म सर्वेसर्वा हुँ, मैले जे भन्छु त्यो कानुन बन्छ, मैले जस्तो सम्बोधन गर्छु त्यो अकाट्य हुन्छ भनेर अहमता देखाउँदा नै समाजमा उच–नीच, भेदभाव, जातीय असमानता बढेको हो। मानिसले नै जातीय विभाजन गरेको हो। त्यसैले त्यस्तो जातीय विभाजनलाई सबैले हटाउँदै लैजानु आजको आवश्यकता हो।
– भरत धिताल, डोटी।

सच्चा सेवी बन्न कसैले सकेनन्

राजनीतिक अभीष्ट पूरा गर्नका लागि समाज रूपान्तरणका क्रममा भएका कामहरूमा जश लिने होडबाजी नै चल्ने गरेको छ। झन्डै डेढ वर्ष सम्पन्न भएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका समयमा विभिन्न राजनीतिक दलहरूबाट उम्मेदवार बनेकाहरूले आफ्ना प्रतिबद्धतासहितका घोषणापत्र लिएर आममतदाताकासामु पुगे। मतदाताले उनीहरूका घोषणाको मूल्यांकन गरेर मतदान गरे वा आस्थाका आधारमा मतदान गरे, त्यसको उत्तर आममतदातामा नै सीमित छ।

तर विकास निर्माण र आमूल परिवर्तनको लागि राजनीतिक दलबाट उम्मेदवार बनेका प्रतिनिधिहरूले विकासे नारा लिएर विभिन्न सामाजिक संघसंस्थाको चुनावी मैदानमा जाने होड जिल्लामा चल्यो। निश्चित समयको निर्वाचनमा सफलता हासिल गर्न वा आफ्नो पोल्टामा पल्लाभारी गराउनका लागि मात्रै होइन आफ्नो दायित्व पूरा गरेर सच्चा सेवी बन्न कसैले सकेका छैनन्।
– प्रयंका सुवेदी, पुल्चोक।

प्रतिक्रिया दिनुहोस्