राप्रपाको स्वाभिमान यात्रा आज काठमाडौं आइपुग्ने



काठमाडौं । राप्रपाले गत फागुन १५ गते ताप्लेजुङमा शुभारम्भ गरी प्रारम्भ गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज काठमाडौं आइपुग्ने छ ।

हिन्दुराष्ट्रको पुनःस्थापना, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयता बारे राष्ट्रिय जनमतसंग्रह, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, ०४७ पछिका उच्च पदस्थ राजनीतिक र प्रशासनिक व्यक्तिको सम्पत्ति छानबिन, विद्यमान आरक्षणको व्यवस्थामा परिवर्तन गरि आर्थिक रुपमा विपन्नलाई आरक्षण दिइनुपर्ने लगायतका माग राखी गत फागुन ७ गते नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको राप्रपाले आफ्ना मागहरू बारे जनतालाई जानकारी दिन र मागका पक्षमा जनमत सिर्जना गर्न मेची महाकाली यात्रा गरेको हो ।

राप्रपाले २८१० किमि यात्रा पन्ध्र दिनमा तय गरेको छ, यस क्रममा साना ठूला गरी १५० वटा सभाहरु भएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।
यात्राका क्रममा हिन्दु राष्ट्रका पक्षमा देखिएको जनताको समर्थन काठमाडौं बसेर कल्पना गर्न नसकिने खालको रहेको र हिन्दु राष्ट्रको जनचाहनालाई सम्बोधन गरिनुपर्ने श्रेष्ठ बताउछन् । राप्रपाको यात्रामा ७० वटा भन्दा बढी सवारी साधन र ५०० यात्रीहरु नियमित थिए ।

राप्रपा अध्यक्ष कमल थापाले नेतृत्व गरेको यात्रामा हिन्दु, बौद्ध र किराँत धर्म झल्कने आकर्षक पशुपतिनाथ, गाई, बौद्ध स्तुपा पनि फरकफरक सवारीमा यात्रा संगै थिए । हरेक दिन कम्तीमा १० वटाका दरले भएका साना ठूला सभाहरुमा स्थानीय र टाढा टाढाबाट समेत जनताको उपस्थिति रहेको थियो । प्रत्येक सभालाई अध्यक्ष कमल थापाले सम्बोधन गरेका थिए ।

आज काठमाडौं आइपुग्ने स्वाभिमान यात्राले ललितपुरका विभित्र स्थानमा कोणसभा गर्नेछ । स्वाभिमान यात्रा चैत १ गते भक्तपुरबाट काठमाडौ आइ शहरका विभिन्न भाग परिक्रमा गरि डिल्लीबजारबाट शुरु हुने कलश यात्रा सहित अपरान्ह १२।१५ बजे भृकुटीमण्डपमा विशाल जनसभा गर्दै समापन हुनेछ । सभालाई अध्यक्ष कमल थापा सहित पार्टीका वरिष्ठ नेताहरूले सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्