नेपालको खर्च गर्ने क्षमातामा ह्रास, सहयोग खर्च गर्न नसक्ने दाताको गुनासो



नेपाल समाचारपत्र
काठमाडौं
नेपालको खर्च गर्ने क्षमातामा ह्रास आउँदै गएकोप्रति प्रमुख दातृ निकायमध्येको एक एसियाली विकास बैंक (एडीबी) ले असन्तुष्टि जनाएको छ। एडीबीले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको कुल रकमको ६१ प्रतिशत रकम नेपालले खर्च गर्न नसकेको भन्दै एडीबीले असन्तुष्टि जनाएको हो।

नेपालको क्रमशः खर्च गर्ने क्षमता घट्दै गएको भन्दै त्यसलाई सुधार गर्न सरकारको ध्यानकर्षण गरेको छ। एडीबीको सहयोगमा सञ्चालित आयोजनाको बारेमा छलफल गर्न शुक्रबार काठमाडौंमा आयोजित वार्षिक समीक्षा बैठकमा एडीबीले आफ्नो असन्तुष्टि व्यक्त गरेको हो।

उक्त बैठकमा एडीबीको दक्षिण एसिया क्षेत्रीय उपमहाप्रबन्धक दिवेश शरणले नेपाललाई पूर्वाधार विकासका लागि ठूलो लगानी आवश्यक भए पनि नेपालले उपलब्ध स्रोत खर्च गर्न नसकेको धारणा व्यक्त गरेका छन्। उनले नेपालको खर्चको अनुपात दक्षिण एसियाली मुलुकमध्ये सबैभन्दा कमजोर रहेको उल्लेख गर्दै सन् २०१७ को तुलनामा २०१८ मा नेपालको खर्च क्षमता घटेको बताए। नेपालले वार्षिक खर्च क्षमता बढाएर ४० करोड डलरसम्म खर्च गर्नुपर्ने शरणको भनाइ छ।

समीक्षा बैठकमा अर्थसचिव डा. राजन खनालले एडीबीको सहयोगमा सञ्चालित केही आयोजनाको प्रगति सन्तोषजनक रहेको दाबी गर्दै नेपालको पूर्वाधार विकासका लागि ठूलो लगानी आवश्यक रहेको बताउनुभयो। उहाँले दातृ निकायको सहयोग परिचान गरेरै अगाडि बढ्ने धारणा राख्नुभयो। कार्यक्रममा एडीबीका देशीय निर्देशक मुक्तर कमुखनोभले नेपालमा एडीबीको सहयोगमा सञ्चालित कार्यक्रमबारे प्रकाश पारेका थिए। एडीबीले गत वर्ष ३३ करोड ८० लाख डलर खर्च गर्ने लक्ष्य राखेकोमा जम्मा २६ करोड ८० लाख मात्रै खर्च भएको जनाएको छ।
एडीबीलेले गत वर्ष नेपालमा ५९ करोड २२ लाख अमेरिकी डलर सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो। त्यसमध्ये २४ करोड ६७ लाख डलरमात्रै उपयोग गर्न सकेको छ। साथै गत वर्ष ३३ करोड ८० लाख डलर खर्च गर्ने लक्ष्य राखेकोमा जम्मा २६ करोड ८० लाख मात्रै खर्च भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्