जनमत सम्मानको घोषणा



बनेपा। जनमत वाङ्मय प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएका विभिन्न सम्मानहरू यस वर्ष विभिन्न साहित्यकारहरूलाई प्रदान गरिने भएको छ। यसपटक वरिष्ठ शिक्षासेवी, शिक्षाविद् तथा लेखक डा. सुरेशराज शर्मालाई हृदयचन्द्र वरिष्ठ जनमत साधक सम्मान, वरिष्ठ कलाकार हरिप्रसाद शर्मालाई जनमत–महेन्द्रलाल कलाकार सम्मान, साहित्यिक पत्रकार हिरण्यकुमारी पाठकलाई भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान, साहित्य अभियन्ता तथा भाषासेवी हनिफ मियाँलाई जनमत–जनक सेवा सम्मान, वरिष्ठ बालसाहित्यकार विनयकुमार कसजूलाई जनमत–केदार÷सुदर्शना बालसाहित्य सम्मानले सम्मानित गरिनेछ।

यसै गरी वरिष्ठ साहित्यकार तथा साहित्यिक अभियन्ता काजी रोशनलाई गणेश÷खिलकुमारी दुवाल–जनमत सम्मान, वरिष्ठ कथाकार देविका तिमल्सिनालाई दीपा–जनमत सम्मान, धादिङकी साहित्यकार रुकु कार्कीलाई केवलपुरे–जनमत सम्मान, साहित्यसेवी अनुराधा शर्मालाई कमला सैंजू–जनमत सम्मान र स्याङ्जाका सक्रिय युवा साहित्यकार मिलन समीरलाई जनमत–राजभाइ सहयात्री सम्मानले सम्मानित गरिनेछ।

जनमत प्रकाशनको ३५ औं वार्षिकोत्सवका अवसरमा आगामी २०७५ चैत्र २३ गते बनेपामा आयोजना हुने कार्यक्रममा प्रत्येक सम्मानित प्रतिभाहरूलाई रु. ५००५।– नगद राशीसहित यी सम्मानहरू प्रदान गरिनेछन्। यस वर्षको जनमत वार्षिक दिवसका अवसरमा हुने बृहत् साहित्यिक समारोहका विशिष्ट अतिथिहरू सात प्रदेशका दुई–दुईजना स्रष्टाहरू हुने प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले जानकारी गराउनुभयो।

प्रतिक्रिया दिनुहोस्