सुन्दर कलाकार ः सुन्दर श्रेष्ठ



मोहन दुवाल

कल्पना र अनुभूतिको समिश्रण नै साहित्य हो भन्न मन पराउने कलाकार सुन्दर श्रेष्ठको परिभाषामा– मनमा उब्जेका कुरालाई रङ्गको माध्यमबाट कागज र क्यानभासमा उतार्नु नै कला हो। समय र परिस्थितिकै प्रेरणाले कलाकार बनेका सुन्दर वि.सं. २०१७ कार्तिक १ गते पिता स्व. पुण्यलाल श्रेष्ठ र माता गंगादेवी श्रेष्ठका छोरा भई वसन्तपुर टोल, तानसेन, पाल्पामा जन्मेका हुन्। सानै छँदादेखि नै चित्र कोर्न मन पराउने यिनी विद्यालय पढ्दादेखि नै चित्रकलामा मन राखेर चित्र कोर्ने गर्छन्।

यिनी आइडियल डिजाइनर्सका संस्थापक रहेर व्यावसायिक कलाकारितामा आफूलाई पनि प्रतिस्पर्धामा राखी कलामा निपुणता खोप्न सक्रिय र सङ्घर्षरत छन्। थोरै बोल्छन् तर धेरै गर्छन्। त्यसैले कला डिजाइनिङमा यिनी नामझैँ सुन्दर पनि छन्। शिष्ट बोल्न सिपालु भद्र भलाद्मी देखिने सुन्दरका मुहार त अझ सुन्दर नामभन्दा सुन्दर र मनोरम छन्। चलचित्रको पोस्टर २०४२ सालदेखि लेख्न शुरू गरेका यिनले यस क्षेत्रमा तहल्का नै मच्चाइदिएका छन्। धेरैजसो चलचित्रका पोस्टरहरू बनाएर आफ्नो निपुणता देखाइसकेका यिनले थुप्रै गीत एल्बमका कभरहरू पनि रेखाङ्कन गर्न पाएका छन्। २०४८ सालमा पुकार चलचित्रको गीत एल्बममा कभर डिजाइनिङ गरेर देखा परेका यिनी नेपाल राष्ट्र बैंकका नोट डिजाइनर पनि हुन्। सेवाले राष्ट्र बैंकका कर्मचारी, कर्मले आइडिएल डिजाइनर, सेवाका हिसाबले कलाकार। सुन्दर श्रेष्ठका थुपै्र चाहनाहरूसँग जुना श्रेष्ठको चाहनाहरू भावविह्वल भई मिसिएका छन्। सोनम र सोफिया यिनीहरूका सिर्जनाहरू हुन्। तर सोनम कतै झरिदिएपछि सुन्दरका मन पनि कसरी–कसरी भक्कानिएका छन्। तर पनि उनी सुन्दर हुन प्रयासरत छन्।

स्नातकसम्म उत्तीर्ण गरेका श्रेष्ठले थुपै्र चित्रहरू कोरेका छन्। यिनका चित्रहरू थुप्रै कार्यालयका कोठाहरूमा सजिएका छन्। शहरका भित्ताहरूमा यिनीद्वारा रेखाङ्कित चित्रहरू झुन्डिएका छन्। सयौं पुस्तकहरू यिनकै सुन्दर कलामा रंगिएका छन्। क्यासेट, सिडीका आवरणमा यिनीद्वारा सिर्जित कला सम्पे्रषित छन्। रू. २५०।– र २५।– का नोटका डिजाइनरसमेत रही सेवा गरिसकेका यिनी सिने मासिक चलचित्रका र पाक्षिक दर्पणका सञ्चालक र प्रकाशक पनि रही आफ्नो क्षमता देखाइसकेका कलाकार हुन्। श्री ५ ज्ञानेन्द्रबाट सयपत्री सम्मान, श्री ५ दीपेन्द्रबाट कदरस्वरूप ताम्रपत्र पाइसकेका यिनी कलाकारलाई नेपालका पहिलो चलचित्रका डिजाइनर भएबापत परिवर्तन सम्मानका साथै थुप्रै संघसंस्थाबाट विभिन्न खालका सम्मान र कदरस्वरूप थुप्रै अवार्ड र सयौं प्रमाणपत्रहरू दिइसकेर सम्मान भइसकेका छन्।

यिनी गीतकार पनि हुन्। यिनको भविष्यको इच्छा हो– नयाँ–नयाँ कला सिर्जना गर्ने र हरेक मनलाई छुने गीतहरू लेख्ने। जीवन यिनको दृष्टिमा जन्मेदेखि नमरून्जेलसम्म गर्नै पर्ने संघर्ष हो। चित्र कोर्ने व्यक्ति भएकोले यिनी सबै रङ्गलाई माया गर्छन्। साहित्यकारहरूमा देवकोटा, पारिजात, मोहन दुवाललाई विशेष मन पराउने यिनी कलाकारहरूमा अमर चित्रकार, दुर्गा बराल, राधेश्याम मुल्मी, आई.बी. मल्ल मन पराउँछन्। गीत लेखनमा आफ्नै पहिचान हुनुपर्छ भन्ने मान्यता राख्दै आएका यिनी गीतकारहरूमा यादव खरेल र कालीप्रसाद रिजाललाई विशेष मन पराउँछन्।

चित्रकलामा आफ्नै खालका विम्ब खोप्न सिपालु चित्रकार। डिजाइनमा आफ्नै नाम र धाम बनाइसकेका डिजाइनर। कविता र गीत लेख्न र पढ्न मन पराउने कलाकार। सङ्क्षेपमा भन्न सकिन्छ, सुन्दर श्रेष्ठ सिपालु चित्रकार हुन्। यिनी चित्रहरू लेख्दालेख्दै, चलचित्रका चित्रहरू बनाउँदा बनाउँदै, पुस्तकका गाताहरूमा चित्र भर्दाभर्दै, नोटका डिजाइनरसमेत बन्न सफल सुन्दर श्रेष्ठका कलाहरू सुन्दर र सङ्ग्रहीत गर्न मिल्ने खालका छन्। सुन्दर कला विम्बमा, डिजाइनिङका हृदयपटमा, गीतका मर्म–मर्महरूमा यिनको सुन्दरतालाई नियालेर जनमत प्रकाशनका तर्फबाट वि.सं. २०६० मा जनमत कलाकार सम्मानले बनेपामा सम्मानित भएका हुन्। कला सिर्जनामा उठोस्, कला सुन्दर भई फुलोस्। सुन्दर सबैका लागि सधैँ सुन्दर बनोस्।

प्रतिक्रिया दिनुहोस्