नतिजा प्राप्त गर्न समय लाग्दो रहेछ



राजु अधिकारी, वडाध्यक्ष
गल्छी गाउँपालिका–४, धादिङ
स्थानीय तह पुन संरचनापछि धादिङको तत्कालिन बैरेनी गाविसका १, ३ र ७ वडा गाभिएर अहिले गल्छी गाउँपालिकाकाको ४ नं वडा बनेको छ । पृथ्वी राजमार्ग र त्रिशुली नदीले छोएको यो वडाको परिचय यतीमै सीमित छैन, देशका विभिन्न नमूना सहर मध्ये एक सहर यहाँको परिचय फराकिलो बन्दैछ । यही सेरोफेरोमा वडाका विविध गतिविधी र भावी योजनाका बारेमा नेपाल समाचारपत्रले गरेको कुराकानीको संक्षेप ।

तपाईले वडाको नेतृत्व सम्हाल्नु भएको २ वर्ष पुग्न लागेको छ । यो अवधिलाई कसरी मूल्यांकन गर्नु भएको छ ?
मैले २०७४ जेठ ७ गतेदेखि वडाको कार्यभार सम्हालेको हो । यो अवधिमा केही काम भएका छन्, केही अघि बढेका छन् र केही अझै प्रकृयामा छन् । कर्मचारी समायोजन प्रक्रिया लम्बिएपछि स्थानीय तहले समयमा कर्मचारी नपाउँदा यो वडा र यो गाउँपालिकाले यहाँ मात्र होइन, धेरै स्थानीय तहले जनअपेक्षा अनुसार नतिजा दिन सकेका छैनन् ।

विगतमा स्थानीय तह लामो समय जनप्रतिनिधी विहिन बनेर होला स्थानीय तहले प्रतिनिधी पाएपछि सबै काम फटाफट हुन्छ भन्ने बुझाई धेरैको थियो । स्थानीय तहले नतिजा प्राप्त गर्न संघ र प्रदेशसँग पनि समन्वय गर्नुपर्ने हुन्छ, स्थानीय तहका केही अधिकार स्वायत्त त छन् तर कही न कही त्यस्तो अधिकार केन्द्र र प्रदेशसँग जोडिदा परिणाममुखी नतिजाका लागि समय लागेको हो ।

निर्वाचनताका भएका प्रतिवद्धता कति कार्यान्वयन भए ?
वडा कार्यालयले दिने सेवा सुविधामा कमी भएको छैन । विकास निर्माणमा द्रुत गतिमा नतिजा दिन नसकेपनि वडाको सेवालाई सरल र प्रभावकारी बनाइएको छ । सडक, शिक्षा, स्वास्थ्य, खानेपानीका कार्यक्रम अघि बढिरहेका छन् । यो जिल्ला भूकम्प प्रभावित जिल्ला भएकाले पुन निर्माणका काम पनि भइरहेका छन् ।

विगतमा स्थानीय तहमा भएका वेतिथीलाई तोड्दै अघि बढ्नु पर्ने भएकाले नतिजा प्राप्त गर्न समय लाग्दो रहेछ । स्थानीय तह पुन संरचनापछि विगतका वडा हेरफेर भएर गाउँपालिका बनेपछि लगभग एक वर्ष अलमल र काम सिक्नमै वित्यो । तर अहिले विगतको प्रतिवद्धता अनुसार वडाको काम कार्वाही प्रभावकारी बनाउन निरन्तर लागेका छौ । प्रतिवद्धताको सत प्रतिशत नतिजा दिन त नसकिएला तर प्रयास भने जारी रहन्छ ।

भूकम्पपछिको पुन निर्माण अहिले कुन अवस्थामा छ ?
यो वडा र समग्र गल्छी गाउँपालिका भरी पहिलो किस्ता लगभग सबै सेवाग्राहीले प्राप्त गर्नु भएको छ । आफ्नो नाममा लालपुर्जा नभएका, नाबालक र पारिवारिक समस्या भएकाहरुका हकमा भने समस्या भएको छ । तर यस्तो समस्या रहेका घर परिवारको पहिचान भने गरिएको छ । ४ नं वडाभित्र ५०, ६० प्रतिशत सेवाग्राहीले तेस्रो किस्ता पनि प्राप्त गरिसक्नु भएको छ ।

यहाँबाट सिफारिस भएर राष्ट्रिय भूकम्प पुन निर्माण प्राधिकरण पुगेको प्रकृया समयमा सम्बोधन नहुँदा केही सेवाग्राहीलाई समस्या पनि भएको छ । यससँगै मापदण्ड पालना नगरी बनाइएका केही घरको घर नक्सा पास गर्न प्राविधिक कठिनाई भएकाले त्यस्तो पक्ष सुधार्न प्राविधिकले पनि सहजीकरण गरिरहेका छन् । पुन निर्माणमा ढिलासुस्ती नहोस भनेर वडाले पनि प्राधिकरण र अन्य निकायसँग समन्वय गरिरहेको छ ।

तपाईको वडा त देशका विभिन्न नयाँ सहर आयोजना मध्येको एक हो । अहिले आयोजनाको काम के भइरहेको छ ?
साविकका बैरेनी गाविसका ७, ८ ९ वडा र कल्लेरीको वडा नं १ र पछि गोगनपानी गाविसको केही भाग पनि नमूना सहर परियोजनामा जोडिएको छ । सहरी विकास मन्त्रालय मातहतको यो परियोजनाले प्रस्तावित सहरी क्षेत्रका लागि आवश्यक पर्ने जग्गाको ‘ल्यान्ड पुलिङ’का लागि जग्गा रोक्का गरेको छ ।

मुलुक संघिय ढाँचामा गएपछि यो परियोजना संघ मातहत रहने कि प्रदेश मातहत रहने भन्ने अन्योलता १ वर्षसम्म रह्यो । तर अहिले संघकै मातहतमा परियोजना रहने, पूर्वाधारका काम अघि बढ्ने भएपछि कर्मचारी काममा खटिनु भएको छ । यसका लागि आवश्यक बजेट र अन्य टेन्डर प्रकृया केन्द्रले नै अघि बढाउने हो । अन्य काम कार्वाही प्रभावकारी बनाउन वडा र गाउँपालिका पनि जुटेको छ । केन्द्रले नै परियोजना अघि बढाउने भएपछि यहाँका स्थानीय निकै उत्साहित बन्नु भएको छ ।

वडामा अव्यवस्थित बालुवा खानी धेरै छन्, यही कारणले त्रिशुली नदी प्रदुषित भयो भन्ने चर्चा पनि छ नि ?
विगतमा स्थानीय स्वात्त शासन ऐन २०५५को व्यवस्था अनुसार खानी विभागले नियमन गरेर गल्छी र आसपासमा बालुवा खानी र प्रशोधन उद्योग सञ्चालनमा आएका हुन् । केही उद्योग बस्ती, खोला र सडकसँगै जोडिएर सञ्चालन हुँदा अव्यस्थित बनेको चर्चा पनि भएको हो । बालुवा खानी र अन्य प्रशोधन उद्योग व्यवस्थित गत वर्ष गल्छी गाउँपालिका सहित विभिन्न ६ वटा गाउँपालिकाले मापदण्ड तोकेका छौ । मुख्य सडक, खोलाबाट १ सय मिटर दायाँ–बायाँ उद्योग चलाउन नमिल्ने सामुहिक निर्णय भएको छ र वडा नं ४ले सो निर्णय कार्यान्वयनमा पनि ल्याएको छ ।

१ सय मिटरको मापदण्ड कहिँकतै ८÷१० मिटर तलमाथि होला कार्यान्वयन भने भएको छ । तर सोही निर्णय गजुरी, रोराङ, थाक्रे गाउँपालिकाले कार्यान्वयन नगर्दा केही व्यवसायीले गुनासो गर्ने ठाउँ पनि पाउनु भएको छ । प्रशासन, सुरक्षा निकाय, गाउँपालिका प्रमुख र अन्य सरोकारवाले गरेको सामुहिक निर्णय कार्यान्वयन हुन सकेको छैन ।

त्रिशुली नदीलाई सफा र स्वच्छ बनाउन वडाको एक्लो पहलले मात्रै संभव छैन, बालुवाखानी प्रशोधन उद्योगका लागि गरिएको प्रतिवद्धता पूर्ण रुपमा कार्यान्वयन हुनु प¥यो । नुवाकोटको सिसडोलदेखिको प्रदुषित फोहोर कोल्फुखोला हुँदै त्रिशुलीमा मिसिन्छ त्यसैले नुवाकोटका स्थानीय तह र त्रिशुली सफाईसँग जोडिएका अन्य संघ÷संस्था वीचमा पनि समन्वय आवश्यक छ ।

तपाईको वडा पृथ्वी राजमार्गसँग पनि जोडिएको छ । सडक र सवारीलाई व्यवस्थित गर्न वडाले पनि कुनै पहल गरेको छ कि ?
गल्छी गाउँपालिकाको वडा नं ४, ६ र ७ले पृथ्वी राजमार्गलाई छोएको छ भने ८ नम्बर वडाले गल्छी–रसुवा सडकलाई छोएको छ । पृथ्वी राजमार्गको चिरौदीदेखि बेल्खुखोलाको करिव साढे २ किमी क्षेत्र यो वडासँग जोडिएको छ ।

पक्कै पनि राजमार्ग आसपासको वस्ती, पैदलयात्रु र सवारी सुरक्षित बन्नैपर्छ, यसबारेमा वडाले चासो लिएको छ । सडक दायाँ–बाँयाको क्षेत्रमा कुनै किसिमको अवरोध हुनु हुँदैन भनेर वडाको पहलमा गत वर्ष ७ लाख ८२ हजारको लागतमा खुला गरिएको छ । विगतका तुलनामा अहिले सडक दुर्घटना पनि ज्यादै न्यून भएका छन् ।

प्रतिक्रिया दिनुहोस्