प्रदेश ५ को वस्तु स्थिती विवरणसहितको पुस्तक सार्वजनिक



यमलाल भुसाल, बुटवल ।
प्रदेश पाँच प्रदेश सरकारले प्रदेशको बस्तुस्थिती विवरण सहितको पुस्तक सार्वजनिक गरेको छ । बुधबार प्रदेश पाँचका मुख्य मन्त्री शंकर पोखरेलले उक्त पुस्तक सार्वजनिक गर्दै प्रदेशको आवधिक योजनाको जग भएको बताउनु भयो । उहाँले पुस्तकमा प्रदेशको वर्तमान अवस्था समेटिएको र सरकारका प्राथमिकता छनौटमा समेत महत्वपूर्ण दस्तावेज हुने उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले प्रदेश स्थापना भएको एक वर्षमा नै प्रदेश सरकार खोज्ने र खोजेको बेलामा भेटिने स्थितीमा पुगेको दावी गर्दै पाँच वर्ष भित्रमा प्रदेशलाई बिकासको नमुना मोडेलको रुपमा स्थापित गरिने बताउनु भयो ।

उक्त पुस्तकमा प्रदेशका सूचकहरु, जनसांख्यिक विवरण, आवासको स्थिती, आर्थिक क्षेत्र, भौतिक पूर्वाधार, सामाजिक क्षेत्र, आय गरिवी र मानव बिकास, बन जलाधार र प्राकृतिक लगायतका दस्तावेज समेटिएको छ । यसले प्रदेशको यथार्थ बस्तुस्थिती चित्रण भएकाले प्रदेशको बिकासका लागि मात्रै नभएर अन्य अध्ययताहरुकालागि समेत पुस्तक फलदायी हुने मुख्यमन्त्री पोखरेलले विश्वास व्यक्त गर्नुभयो ।

प्रदेशको बिकासको आधार कृषि र पर्यटन रहेकाले सरकारले मुख्य प्राथमिकता कृषि र पर्यटनलाई दिएको बताउनु भयो । कृषि उद्यमशिलताका माध्यमबाट तत्काल प्रतिफल लिन सकिने भएकाले कृषिको बिकासकालागि आधुनिकरण र व्यबसायिक खेती प्रणालीलाई जोड दिएको उहाँले बताउनु भयो ।

राष्ट्र निर्माणमा महत्वपूर्ण प्रदेशको रुपमा स्थापित गर्नकालागि प्रदेश भित्रका पर्यटकीय क्षेत्रहरुलाई बिकासका गतिमा अंगाडी बढाउन सरकारले काम गरेको बताउँदै प्रदेशलाई शैक्षिक तथा स्वास्थ्य हवको रुपमा बिकास गरि छिमेकी प्रदेशहरुको समेत शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा आकर्षण बढाउने बताउनु भयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण सम्पन्न भएपछि लुम्बिनीमा आउने पर्यटकको संख्या पनि बढ्ने र उनीहरुको बसाई समेत लम्बिने बताउँदै उहाँले पर्यटकीय पूर्वाधारको बिकास निर्माणमा सरकारले उच्च प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्