सेना फिर्तापछि सिरियामा शान्ति होला ?



जीवनदेवी बन्जरा/राम राज शर्मा
आइसिसको पतनसँगै सिरिया र सम्पूर्ण मध्यपूर्वमा शक्ति सन्तुलन बादलिँदो अवस्थामा छ । राष्ट्रपति ट्रम्पले सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णय गरेपछि उक्त निर्णयको सर्वत्र चर्चा भैरहेको छ । अमेरिकाका नजिकका सहयोगी राष्ट्रहरुले राष्ट्रपतिको उक्त निर्णय अनपेक्षित भन्दै पुनर्विचार गर्न आग्रह गरे तापनि ट्रम्प उक्त निर्णयबाट पछि हटेनन् । अहिले अमेरिकी सेनाका उपकरणहरु फिर्ता गर्ने काम शुरु भएको छ । अचानक गरिएको उक्त निर्णयले आइसिसको पुनरुदय हुनसक्ने वा इरानले आफ्नो प्रभुत्व झन् बलियो बनाउन सक्ने आँकलन सबैतिर गरिएको छ । विशेष गरी युरोपको सुरक्षा मध्यपूर्वको स्थायित्वसँग गाँसिएको हुनाले युरोपका अमेरिकी सहयोगी राष्ट्रहरु यो निर्णयप्रति खुशी छैनन् । रसियाले आफ्नो जीत ठानिरहेको छ भने इरान उक्त निर्णयबाट उत्साहित देखिन्छ ।

कुनै बेला सिरिया र इराकको १ लाख वर्गकिलोमिटर क्षेत्रमा आफ्नो वर्चश्व राख्न सफल भएको आइसिस अहिले पराजित अवस्थामा पुगेको छ र ९८ प्रतिशतभन्दा धेरै भूभाग गुमाइसकेको छ । इराक र सिरियाको सिमानाका केही गाँउहरुमा सीमित रहँदै अन्य ठाउँहरुमा स–साना आक्रमणहरु गरिरहेको आइसिस अब पूर्णरुपमा पराजित भइसकेको भन्दै आफ्ना सैनिकहरु सिरियाको भूमिबाट फिर्ता गर्ने निर्णय गरेका हुन् राष्ट्रपति ट्रम्पले ।
सिरियाको युद्ध आजसम्मकै सबैभन्दा जटिल युद्धमध्येको एक हो । बहुपक्षीय यो युद्धमा रसिया, इरान र लेबनानी हेजबुल्लाहको सहयोगमा सिरियन राष्ट्रपति आसादका सेनाहरु, आइसिस लडाकूहरु, आफ्नो छुट्टै राज्य निर्माणको लागि लामो समयदेखि लडिरहेका कुर्दहरु, टर्कीको सहयोग प्राप्त टर्किस लडाकूहरु र अमेरिका, बेलायतलगायत पश्चिमा राष्ट्रहरुको सहयोग प्राप्त फ्री सिरियन आर्मीहरु एक–आपसमा भिडन्त गरिरहेका थिए र छन् ।

अझै अल क्वेदा समर्पित नुस्रा फ्रन्टलगायत कैयौं स–साना समूहहरु आ–आफ्ना स्वार्थ र उद्देश्य पूर्तिका लागि लडिनै रहेका थिए । तर अब यो युद्ध अलि सरल बाटोमा हिँड्न शुरु गरेको जस्तो देखिन्छ । आइसिस अब लगभग पराजित अवस्थामा छ भने फ्री सिरियन आर्मी पनि देशको अधिकांश भूभागमा पराजित हुँदै अहिले उत्तरी सिरियाको इडलिव प्रान्तमा सीमित भएको छ । कुर्दहरु लामो समयसम्म रसियाको सहयोग पाएका हुनाले अहिले राष्ट्रपति आसादप्रति नरम नै छन् र उनहिरुले पूर्वी र उत्तरी सिरियाको अधिकांश कुर्दिस भूमिमा कब्जा जमाएर बसेका छन् । यसै गरी टर्किस लडाकूहरुले टर्कीको सिमानाको अफ्रिन प्रान्तमा अड्डा जमाएका छन् ।

अहिले सिरियाको ८० प्रतिशतभन्दा धेरै भूमि सरकारी नियन्त्रणमा रहेको छ र युद्ध खुम्चिँदो अवस्थामा छ । तर लडाइँ भने जारी नै छ ।
सिरिया मध्यपूर्वको एक रणनीतिक क्षेत्र हो । टर्की, इराक, लेबनान र इज्रायलको स्थायित्व पनि सिरियासँग जोडिएको छ । लामो समयदेखि शासन गरिरहेका राष्ट्रपति आसाद रसिया र इरानको नजिकका मित्र हुन् ।

सन् २०११ को अरब स्प्रिङलाई माध्यम बनाएर आसादलाई पदच्यूत गर्दै आफू अनुकूलको सरकार बनाउने अमेरिकालगायत पश्चिमा राष्ट्रहरुको चाहना पूरा हुन सकेन । फ्री सिरियन आर्मीको रुपमा गठन भएको विद्रोही समूहलाई तालिम र हतियार सहयोग गर्दै अमेरिका र उसका सहयोगी राष्ट्रहरुले आसादलाई सत्ताच्यूत गर्न निकै प्रयास गरे तर उनीहरुको कदम आफैंका लागि प्रत्युत्पादक साबित भयो । छ हजार फ्री सिरियन आर्मीका लडाकूलाई विशेष तालिम र हतियार उपलब्ध गराएको अमेरिकाले केही महिनापछि छानबिन गर्दा आधिकांश लडाकू हतियारसहित आइसिसमा विलय भएको पत्ता लागेको थियो । त्यसपछि अमेरिकाले आफ्ना २ हजार सेना सिरियाको भूभागमा पठाएको हो ।

अमेरिकी सेना फिर्ता हुनेबित्तिकै टर्कीले कुर्दहरुमाथि थप आक्रमण गर्न सक्ने चिन्ता थपिएको छ । त्यस्तो अवस्थामा सिरियन कुर्दहरुले रसिया र सरकारी सेनाको साथ लिन सक्ने संकेतहरु देखा परिसकेका छन् । यस्तो भयो भने युद्धले अर्कै मोड लिन सक्ने सम्भावना देखिन्छ ।

टर्की पनि पश्चिमा राष्ट्रहरुजस्तै आसादको अन्त्य चाहन्छ । तर ऊ आफ्नै चाहनाको सरकार स्थापना होस् अनि टर्की र सिरियाको सिमानामा छरिएर रहेका कुर्दहरुलाई कडा नियन्त्रण गरोस् भन्ने चाहन्छ । कुर्दहरुको रसियासँग लामो समयदेखिको सम्बन्ध छ र रसियाले उनीहरुविरुद्ध कडा कदम चाल्दैन । अमेरिकालगायत उसका सहयोगी राष्ट्रहरुले त अहिले कुर्दहरुलाई हतियारसहित सहयोग गरेर आइसिसविरुद्ध लडाएकै हुन् । सिरियन र इराकी कुर्दहरुको भूभागमा तेलको ठूलो भण्डार छ ।

त्यसैले सबैको स्वार्थ त्यसैमा गाँसिएको छ । सिरियाका कुर्दहरुलाई छुट्टै राज्यको लागि सहयोग गर्नु भनेको इराकी कुर्दिसलाई बल मिल्नु हो । यदि इराकबाट कुर्दिस्तान छुट्टियो भने इराकको तेलखानीबाट जति पश्चिमा देशहरुले फाइदा लिइरहेका छन् त्यो गुम्न सक्छ । त्यही अवस्था सिरियामा पनि हुनेछ । टर्कीका कुर्दिस पिकेके विद्रोही झन् शक्तीशाली हुनेछन् र टर्कीको स्थायित्वमा पनि खलल पुग्नेछ । कम्युनिस्ट सिद्धान्तबाट निर्देशित पिकेकेलाई अमेरिका र टर्कीले आतंककारी संगठन मान्दछन । पिकेके र सिरियन कुर्दहरुको गहिरो सम्बन्ध छ । किनकि पिकेके पनि कुर्दहरुकै संगठन हो । तर इराकी र सिरियन कुर्दहरुलाई अमेरिका र उसका सहयोगी राष्ट्रहरुले मित्र मान्दै सहयोग गरिरहेका छन् ।

टर्कीमा आउने तेलको मुख्य स्रोत नै सिरियाका तेल भण्डारहरु हुन् । सिरियामा आफू अनुकूल सरकार निर्माण गर्न सकियो भने सिरियाको तेलखानी दोहन गर्न पाइन्छ भन्ने उसको चाहना एकतिर छ भने अर्कोतिर सिरियन कुर्द र उनीहरुका लडाकू संगठन वाईपीजी र वाईपीडीलाई नियन्त्रण गर्दै आफ्ना देशभित्रका पिकेके विद्रोहीलाई तह लगाउन सहज हुने टर्कीको आँकलन छ । टर्कीले पटक–पटक सिरियन कुर्दहरुमाथि आक्रमणसमेत गरेको छ र अब छिट्टै सिरियाभित्रको कुर्दिस शहर मान्बिजमा आक्रमण गर्ने घोषणा पनि गरेको छ । अहिले अमेरिकाले सिरियन कुर्दहरुलाई सहयोग गरिरहँदा अमेरिका र टर्कीको सम्बध थप बिग्रिएको छ । अमेरिकाले यही विषयलाई लिएर टर्कीको अर्थतन्त्र ध्वस्त पार्ने धम्कीसमेत दिएको छ ।

अमेरिकी सेना फिर्ता हुनेबित्तिकै टर्कीले कुर्दहरुमाथि थप आक्रमण गर्न सक्ने चिन्ता थपिएको छ । त्यस्तो अवस्थामा सिरियन कुर्दहरुले रसिया र सरकारी सेनाको साथ लिन सक्ने संकेतहरु देखा परिसकेका छन् । यस्तो भयो भने युद्धले अर्कै मोड लिन सक्ने सम्भावना देखिन्छ । उत्तरी सिरिया देशकै उर्वर भूमि रहेको र तेलको भण्डार रहेको हुनाले सिरियन सरकार त्यो क्षेत्र गुमाउन चाहँदैन । कुनै मूल्यमा पनि टर्कीको कब्जामा जान नदिन प्रयास गर्नेछ । यस्तो अवस्थामा युद्ध रसिया र इरानको सहयोगमा सिरिया र टर्कीको प्रत्यक्ष युद्ध बन्न पुग्नेछ भने सुसुप्त अवस्थामा रहेको आइसिसले फेरि टाउको उठाउने मौका पाउन सक्छ ।

अमेरिकाले सिरियामा आफ्नो स्वार्थ लगभग पूरा गरिसकेको छ । आइसिसलाई नियन्त्रण गर्नुको मुख्य उद्देश्य इराकमा रहेको तेल भण्डार उनीहरुको कब्जामा नपुगोस् भन्ने थियो, जसमा अमेरिका सफल भइसकेको छ । अमेरिकी सेना सिरियाबाट फिर्तीसँगै देखिने सम्भावित असरहरु निम्न छन् ।

आइसिसको पुनः उदय
आइसिस समूह पराजित भएको हो तर अस्तित्व नै सकिएको भने पक्कै होइन । अहिले पनि आइसिसका हजारौं लडाकू सिरिया र इराकका विभिन्न क्षेत्रमा लुकेर बसिरहेका छन् । अमेरिकी सेनाको फिर्तीसँगै फरक–फरक समूहको भिडन्त हुँदा आइसिसले फेरि टाउको उठाउने हो कि भन्ने आशंका जीवित छ । सिरिया, इराक, यमन लिबियामा मात्र होइन पश्चिमा देशहरुमा समेत आफ्नो प्रभाव फैलाउन सफल आइसिसको पुनः उदय भयो भने अर्को ठूलो संकट निम्तिनेछ ।

आइसिस प्रमुख अबु बक्र अल बग्दादी अझै जिउँदै रहेको अनुमान छ भने सिरिया र इराकका विभिन्न ठाउँमा उनीहरुका स्लिपर सेलहरु अझै सक्रिय छन् । आर्थिक स्रोतलाई अझै नियन्त्रण गर्न सकिएको छैन, धार्मिक भावना कमजोर भएको पनि छैन । यस्तो अवस्थामा अमेरिकी सेना सिरियन भूभागबाट फिर्ता जाँदा पुनः आइसिसको उदय हुन्न भन्न सकिन्न ।

सिरियन कुर्दहरुको अस्तित्व संकट
सिरियाको उत्तरी भूभागमा रहेका सिरियन कुर्दहरुले टर्किस कुर्द समूह पिकेकेलाई सहयोग गरिरहेको आरोप लगाउँदै टर्कीले आफू समर्पित लडाकू र आफ्ना सेनाहरुमार्फत बेला–बेलामा उनीहरुलाई सिरियाकै भूमिभित्र छिरेर आक्रमण गरिरहेकै छ । आइसिसले कोबानेमा नरसंहार गर्दा पनि टर्कीले हेरेर मात्र बस्यो, कुनै सहयोग गरेन । पिकेकेलाई टर्कीले आफ्नो देशको लागि सबैभन्दा जोखिम समूह मान्दछ ।

अर्कोतर्फ सिरियाको तेल भण्डार त्यही क्षेत्रमा रहेको र सिरियाको अन्य भूभागबाट आउने तेल पनि कुर्दिस क्षेत्र भएर नै ल्याउनुपर्ने अवस्थामा कुर्दहरु बलियो हुँदा टर्कीलाई ठूलो समस्या हुन सक्छ । राष्ट्रपति आसादले पनि यो भूभाग जुनसुकै मूल्यमा आफ्नो नियन्त्रणमा लिन चाहन्छन् । यस्तो अवस्थामा दुई पक्षको चेपमा परेर सम्पूर्ण सिरियन कुर्दहरुको अस्तित्व नै धरापमा पर्न सक्ने अवस्था छ । अहिले अमेरिकी सेनाको उपस्थितिले सम्पूर्ण कुर्द क्षेत्रलाई बफर जोन बनाएकोले उनीहरु केही सुरक्षित महसुस गरेका छन् ।

इरान र रसियाको प्रभाव बढ्ने
मध्यपूर्वमा आफ्नो प्रभाव बढाउँदै गैरहेको रसिया इरानसँगको सहकार्यमा अमेरिकी सेना फिर्तीपछि त्यो क्षेत्रमा झनै शक्तिशाली बन्ने पक्का छ । सिरियामार्फत आफ्नो पकड बढाउँदै लगेको रसिया टर्कीलाई साइजमा राख्न चाहन्छ । लेबनानका हेज्बुल्लाह र इरानी प्रभाव त्यो क्षेत्रमा फैलिँदो छ ।

यमनमा हाउथीमार्फत आफ्नो प्रभुत्व जमाउन सफल इरान सिरियामार्फत साउदीलाई थप चुनौती दिन चाहन्छ । यो अवस्थामा सम्पूर्ण मध्यपूर्वको तेल भण्डारमा अमेरिका र अन्य पश्चिमी राष्ट्रहरुको प्रभाव कम हुँदै जानेछ भने इरान र रसिया थप मजबुत हुनेछन् । कतिपयले त अमेरिकी सेनाको फिर्तीलाई रसिया र इरानको जीत भन्न शुरु गरिसकेका छन् ।

टर्की र इजरायलमाथि दबाब
त्यो क्षेत्रमा टर्कीको लागि कुर्दहरु र इज्रायलको लागि इरान प्रमुख दुश्मन हुन् । अमेरिकी सेनाको फिर्तीसँगै कुर्दहरु सिरियन सरकार र रसियासँग नजिक हुने निश्चित छ । त्यस्तो हुनु भनेको टर्कीको सिमानामा इरान बलियो हुनु हो । त्यस्तो हुँदा इज्रायल र टर्कीले आफूलाई झन् खतरा बढेको महसुस गर्नेछन् । अहिले इज्रायलले बेला–बेलामा आसादका सैनिक अखडाहरुमा हावाई आक्रमण गरिरहेको छ, रसियाको लडाकू विमानलाई टर्कीले जमिनमा झारेकै थियो तर अबको अवस्थामा झन् टर्की र इज्रायललाई थप दबाब हुने देखिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्