विराटनगरमा प्रदेशस्तरीय महिला सम्मेलन शुरु



सरोज यादव, विराटनगर ।
प्रदेश नम्बर १ का महिलाहरुको अवस्था एवं सवालहरुको पहिचानगरि लैंगिक निति तर्जुुमागर्ने उद्धेश्यले विराटनगरमा प्रदेशस्तरीय महिला सम्मेलन सुरु भएको छ । नीति निर्माण तहमा महिला सहभागिता र नेतृत्वको विषयमा छलफल गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयले सम्मेलन आयोजना गरेको हो।

सम्मेलनमा एक सय ३५ स्थानीय तहका उपप्रमुख, प्रदेशसभामा महिला सदस्य र गैरसरकारी संस्थाका विज्ञ सहभागी छन् । सम्मेलन मंगलबारसम्म चल्नेछ। प्रदेशका सभामुख प्रदिपकुमार भण्डारीले सम्मेलन उद्घाटन गर्दै प्रदेश सरकार गठन भई कार्य संचालनसमेत गरिरहेको अवस्थामा संसदबाट विभिन्न कानुन निर्माणले गति लिएको बताउँदै भने, “यो प्रक्रियामा महिला सदस्यसमेत निकै गहन रुपमा सहभागी हुनुहुन्छ।“ उनले संविधानले नै सामाजिक न्याय र समावेशीलाई आत्मसात गरेकोले धेरै क्षेत्रहरुमा महिला सहभागिता बढ्ने क्रम सुरु हुनु सकारात्मक भएको चर्चा गरे ।

उपसभामुख सरस्वती पोखरेलले अपेक्षा गरेजस्तो राज्य संचालनका विभिन्न तहमा महिलाको सहभागिता बढ्न नसकेको बताइन्। “संविधानले नै व्यवस्था गरेकोले त्यसमा अटाएका विषयमा महिला सहभागिता भएको छ“, पोखरेलले भनिन्, “तर, प्रमुख जिम्मेवार पदमा भने अझै सहभागिता हुन सकेको छैन्।“

नीतिगत रुपमा नै सुनिश्चित नहुञ्जेल महिला सभागिता बढ्न नसक्ने पोखरेलको भनाइ छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले सम्मेलनबाट प्रदेशभरका महिलाले भोग्नु परेको समस्या र उनीहरुको अधिकारको पैरवीको विषयमा निचोडमा पुग्न सकिने बताउँदै भने, “त्यसैलाई आधार बनाएर हामी योजना तथा कार्यक्रम तय गर्नेछौं।“ मन्त्री घिमिरेले विराटनगर घोषणापत्र महिला अधिकारको पक्षमा कोषेढुंगा सावित हुने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्