मुलुकको समृद्धिका सरोकारहरु



निरज बराल
मुलुकका अधिकांश आर्थिक एवं सामाजिक परिसूचकहरु नकारात्मक छन् । यसले राष्ट्र गम्भीर मोडमा रहेको संकेत गर्दछ । व्यापार घाटा चुलिँदो छ भने वैदेशिक मुद्रा सञ्चिति घट्दो छ । अर्थतन्त्रको ऐना शेयर बजार धराशायी छ ।

रेमिट्यान्सको आम्दानीले आयात धानिनुपर्ने अवस्थामा छ । सरकारी खर्च आयातीत सामानको राजस्व असुलीमा निर्भर छ । औद्योगिक उत्पादन र उत्पादकत्व ह्रासोन्मुख छ । जति नै जोडबल र करबल गरे पनि वैदेशिक लगानी बिलखबन्दमा छ, नगण्य छ । नैराश्यपूर्ण राजनीति र भद्रगोल रोजगार बजारदेखि वाक्कदिक्क भएर नौजवानहरु हुलका हुल युरोप–अमेरिका खाडी राष्ट्र गएका गएकै छन् । समाज हत्या, हिंसा, बलात्कारजस्ता दुराचारले आक्रान्त छ । भ्रष्टाचार र वित्तीय अनुशासनहीनताले संक्रमित छ । यो गएगुज्रेको स्थितिलाई अचेट्न टालटुलले सम्भव छैन । आमूल सुधारको टड्कारो खाँचो परिसकेको जनआवाज छ ।

संसारकै उच्चकोटिको शासन प्रणाली लोकतान्त्रिक गणतन्त्र अवलम्बन गर्दाखेरि पनि जनताको जनजीविकाको सवालमा तात्विक भिन्नता आउन नसक्नु, सुधारोन्मुख नदेखिनु, सीधा र ठाडो भाषामा भन्दा राजनीतिक नेतृत्वको नालायकीपन नै हो । कमजोर र कामचोर शासन प्रणालीको परिणति हो । जनतालाई परिवर्तन खातिर गोलबन्द गर्न सक्ने राजनीतिक पार्टी र नेतृत्वले विकासको व्यवस्थापन गर्न नसकेको देख्दा ताजुब लागेर आउँछ ।

भनिरहनुपर्दैन, देशको मूल नीति राजनीति हो र यसैले देश र समाजलाई हाँक्दछ । अमेरिकामा धरी राजनीतिलाई फोहोरी खेल भने तापनि यसको बाहुपासले जुनसुकै नागरिकलाई लपेट्न छोड्दैन । राजनीतिक शासनको मूल नै गन्धा भएपछि राज्य प्रशासन अछूतो भएर बस्न सक्दैन । यो स्वतः धमिलो भइहाल्छ । नेताहरुले पञ्चायती राजको कालकोठरी र दमन यति चाँडै बिर्सिएको देख्दा जनताको मन कुँडिनु अस्वाभाविक होइन । जनताले भोट हाल्दा वाद या विचारधाराको फेरो मात्र समाएका हुन्छन् भन्नु अत्युक्ति हुन जान्छ । चुनावताकाका उद्घोष र घोषणापत्रका बाचाबन्धनलाई पनि मनन गरेका हुन्छन् अनि आफ्ना इच्छा–आकांक्षालाई त्यसमा अन्तरघुलित गरीकन परिणाम पस्किन्छन् ।

सत्तापक्ष र विपक्षका नेताजीहरू पदीय भागवण्डा र मिलिभगत नसल्टिउन्जेलसम्म ङारङार–ङुरङुर गर्छन् । आफ्ना सेवा–सुविधाहरु बेग्रल्ती बढाएका बढायै छन् । के ठेगान भोलि नपाउने हो कि भने जसरी मनोमानी ढंगले सक्दो गुमक्र्याका गुमक्र्याइ छन् । यता स्थायी सरकारको पगरी गुथ्ने कर्मचारीतन्त्र ढसमस्स ठालु पल्टेर बसेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ठिमाहा वैचारिक धार अँगालेको नाम मात्रको कम्युनिस्ट हो । विभिन्न कालखण्डमा टुक्रा–टुक्रा भएर जोडिएको र कुनै पनि बेला टुक्रिन सक्ने अवस्थामा छ, जति नै एकताको कोकोहोलो मच्चाए पनि । सर्वहारा वर्गको उत्थानको दुहाइ दिँदै, बुर्जुवा वर्गको सफायामा लागेकाहरुको वैचारिकता फुस्किएर लिँडो मात्र बाँकी छ भन्दा हुन्छ । मानवलाई मेसिनजन्य व्यवहार गर्ने र मानवीय भावनालाई दुत्कार्ने तथा बुद्धिजीवीको मानमर्दन गर्ने कम्युनिज्मभित्रका कस हुन् । राष्टवादी जलप लगाएर नेपाली जनतालाई फस्ल्याङफुस्लुङ पारी दुई तिहाइ मत ल्याउन सफल त भयो तर जनगणको उत्कट विकासको चाहलाई, विगत एकवर्षको काम गराइको मूल्यांकन गर्ने हो भने र यस्तै पाराले चल्ने हो भने, आउँदो ४ वर्षमा अझ दूरवस्था भोग्नुपर्ने देखिन्छ ।

प्रतिपक्षी नेपाली कांग्रेस (नेका) जो सदैव आफूलाई प्रजातन्त्र र लोकतन्त्रको मसिहा ठान्दछ, उसका उच्चपदस्थ पार्टी पदाधिकारीका तुच्छ बोलीबचन र असभ्य आचार–विचार भन्न र सुन्न लायक रहेन । अन्तरपार्टीगत वैचारिक मतभेदलाई छलफलले निरुपण गर्नुपर्नेमा सार्वजनिकरुपमा आरोप–प्रत्यारोप गर्नु, गालीगलौजमा उत्रिनु, असहिष्णु हुँदै जानु, सयौं किलोको माला भिर्नु, समाजवादी विचारधाराका हिमायतीहरूका निकृष्टपन हुन् । बीपीका अनुयायी हुनुका लज्जा हुन् । हाल उसको फितलो र दिशाविहीन सोच शैलीका भाषण पट्यार लाग्दो ट्याउँट्याउँ लाग्दछ ।

पञ्चायती शासनकालको मोजमज्जा र हालिमुहालीका मतियारहरु स्रोत र शक्तिविहीनताले रन्थनिएका छन् । प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्र परिवर्तन खातिर आन्दोलनमा उत्रेका जनसागरलाई निर्ममतापूर्वक दमन गरेकाहरुले धर्मको झन्डा उचालेर शाही राजको चिहान खन्दै राजनीतिक भुलभुलैया गर्दै छन् । चर्च र पादरीका शासनकालका ऐतिहासिक दुरवस्था पढेका नेपाली जनतालाई आँखामा छारो हाल्न शायद अब सक्ने छैनन् ।
अन्य क्षेत्रीय र नवकेन्द्रीय पार्टीहरु आ–आफ्नै ताल र सुरको दौडाहामा देखिन्छन् । सामाजिक विकृति–विसंगतिको लहरो पक्रेर जनगणको मनमा गड्न भरमग्दुर कोशिश त गर्दै छन् तर निष्प्रभावी छन् । कुनै गतिलो र आशालाग्दो वैकल्पिक वैचारिक धारा नेपाली जनताले पाएका छैनन्, तथापि समय र परिस्थितिले पर्गेल्ने नै छ ।

सत्तापक्ष र विपक्षका नेताजीहरू पदीय भागवण्डा र मिलिभगत नसल्टिउन्जेलसम्म ङारङार–ङुरङुर गर्छन् । आफ्ना सेवा–सुविधाहरु बेग्रल्ती बढाएका बढायै छन् । के ठेगान भोलि नपाउने हो कि भने जसरी मनोमानी ढंगले सक्दो गुमक्र्याका गुमक्र्याइ छन् । यता स्थायी सरकारको पगरी गुथ्ने कर्मचारीतन्त्र ढसमस्स ठालु पल्टेर बसेको छ । ३० औं वर्षको पञ्चायती राजको कर्मकाण्डीय कार्यगत शैलीमा बानी परेकाले होला यद्यापि अल्छे, लोसे, सुस्त, शुष्क, असिर्जनशील र प्रभावहीन लाग्दछन । राज्यको शासन–प्रशासन भ्रष्टाचार र कमिसनमा लिप्त हुँदै जाने र वित्तीय संघसंस्थाहरु सुद खोरितामा रमाउँदै जाने हो भने मुलुकले बडो नराम्रो संकट तथा दुर्घटना बेहोर्नुपर्ने दैखिँदै छ । जनताको सेवामा जुट्ने सरकारी अड्डा अदालत विकृति र विसंगतिले ग्रस्त भइदिँदा निजी क्षेत्रको उत्पादित वस्तु तथा प्रदत्त सेवाको गुणस्तरीयताको कुरा गर्नु फतुर लाग्न सक्छ । तर मनपरि मूल्यका कमसल र अस्वस्थकर चीज छ्यासछ्यास्ती बजारमा देखिन्छन्, भेटिन्छन् । सरकारी अनुगमन झारा टार्ने निकाय प्रतीत हुन्छ । व्यावसायिक नैतिकता गुम्दा अविश्वासले अँठ्याएको छ । कुनै यस्तो क्षेत्र छैन, जो नबिटुलिएको र दागरहित होस् ।

मुलुकको दरिद्रताको फाइदा लुट्दै देश–विदेश सबैतिर ठगी र शोषणको मारमा नेपाली जनता परेका प¥यै छन् । शिक्षा र श्रममा अझ बढी हरिबिजोग छ । सतही अध्ययन गरी नागरिक जनलाई परदेश ठेली अलपत्र पार्ने, मृत्युको मुखमा जाक्ने सरकारी संयन्त्र जालझेलपूर्ण छ । उसको दलाली चरित्रले अन्तर्राष्ट्रिय साख गिर्दाे छ ।

संविधानमा उल्लिखित समाजवादमा उपल्लो वर्गकै हालिमुहाली छ । शिक्षा र स्वास्थ्यको चरम व्यापारीकरणले वर्गीय विभेद र शोषित–दमित समाजलाई प्रोत्साहित गरिरहेको छ । दीन–दुःखी, असहाय गरिब जनको अभिभावकीय अपनत्व र जिम्मेवारी राज्यले बहन गर्न सकेको छैन । भुइँवर्ग राज्यसँग चुँडिएको सम्बन्धमा छ, जो घोर निराशामा चक्कर काटिरहेको छ । गरिब जनले आत्मसम्मानपूर्वक जीविकोपार्जन गर्न नपाउने रोजगार बजारको परिदृश्य छ । तीन तहको राज्य शासन प्रणाली आ–आफ्नो स्वार्थीय मनोदशाको आहालमा निस्फिक्री डुबुल्की लगाइरहेका छन् । यी समग्र हालत हेर्दा लोकतन्त्र ऐठनमा छ ।

नसुल्झिएको ३३ किलो सुन र निर्मला बलात्कार–हत्याकाण्डजस्ता जघन्य आपराधिक घटनाहरूको ढाकछोप र ढिलासुस्ती सामाजिक उकुच हुन्, विधिको शासन र कानुनी राजका बर्खिलाप हुन् । सम्पूर्ण राज्य संयन्त्र लाग्दाखेरि पनि समस्याको निचोड ननिस्कनु गैरजिम्मेवारीको पराकाष्ठा हो । न्यायालय र सुरक्षा निकायको कार्यपद्धति तथा कार्यसम्पादन हेर्दा नयाँ शिराबाट पुनस्र्थापित गर्नुपर्ने देखिन्छ ।

सदाचार र नैतिकता गुमाएको समाजले समुन्नति प्राप्त गर्न कठिन हुन्छ । पारदर्शिता र इमानदारिता नेपाली समाजमा खुस्किएको÷बिग्रिएको चुकुल हो । छानोको छिद्र नटालेर भएको भ्वाङ हो । भ्रष्टाचार सामाजिक क्यान्सरको रुप धारण गर्दै तीव्र फैलावटले गर्दा संक्रमित अंग नै काटेर फ्याँक्नुपर्ने अवस्थामा छ, केमो पनि काम नलाग्ने देखिँदै छ ।

भ्रष्टाचार निवारण र नियन्त्रण खातिर खडा भएका निकाय र अदालत स्वयं भक्षकमा परिणत हुँदै गएका छन् । ती ‘मुखमा राम राम बगलीमा छुरा’ लाग्छन् । सामाजिक आचार विचारलाई नैतिकता र इमानदारिताको कसीले बाँधबुध नगरुन्जेल आर्थिक परिदृश्य धुमिल नै हुनेछ । शिक्षाले नै मानवीय चेत र चेतना उघार्न सक्दछ, नत्र भने विकासको गति धीमा नै हुन्छ । कामलाई उँच–नीच ठान्ने र सम्मान नगर्ने सामाजिक परिवेश जीवित रहुन्जेल अविकासको दुश्चक्र यथावत् रहन्छ । हरकोहीलाई काम, कर्तव्य, जिम्मेवारी र जवाफदेहिताको दायरामा नल्याएसम्म लक्षित प्रतिफलको गुञ्जायस छैन ।

सामन्तहरूको महासामन्त राजालाई फ्याँकेर मुलुक गणतान्त्रिक भइसक्दा पनि जननिर्वाचित नेताहरुले सोही शाही प्रवृत्ति टपक्क टिपेको देख्दा जनतामा चरम निराशा व्याप्त छ । सुषुप्त अवस्थामा रहेका शाही राजका अवशेषहरु अभ्यासरत लोकतन्त्रको दोहोलो काढ्दै त्यसको कोपभाजन खातिर जुर्मुराउँदै छन् । व्यवस्था परिवर्तन भए तापनि प्रवृत्ति नसुध्रिनुलाई परिवर्तन आत्मसात् गर्न आनाकानी गर्ने परम्परागत सोचका अहंकारी राजनीतिक नाइकेहरु स्वयं जिम्मेवार हुन् । समृद्धिका बाधक विकृति र विसङ्गतिहरू उनीहरु आफैंभित्र छन् । अरूमाथि दोष थोपर्नु पानीमाथि ओभानो हुन खोज्नु हो । परिष्कृत तथा परिपक्व राजनीतिक तथा सामाजिक आचार–विचारले नै आर्थिक पाटोलाई जाज्वल्यमान बनाउँछ ।

सरोकारवालाहरुसँग विहंगम बहस र छलफलपश्चात् सोही बमोजिम ऐन–नियम बनाउँदै, नीति तथा कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्दै गएमा राष्ट्रिय लक्ष्यहरु भेदन गर्न जस्तोसुकै छेकबार पनि नाकामयाव हुन्छ । ‘मेरो गोरुको बाह्रै टक्का’को लिँडे ढिपीले अराजक परिवेश मात्र उत्पन्न गर्दछ । विकास र समृद्धिको राष्ट्रिय अठोट राख्नेले ठूलो छाती गरेर भावनात्मक सुझबुझका साथ सामूहिक सहभागितात्मक एकताको माहोल बनाउँदा हरेक प्रयासहरूले आ–आफ्नो मुकाम भेट्नेछन् । यसले तँ–तँ र म–म को रडाको मात्र शान्त पार्दैन, सौम्य र सुसंस्कृत समाजको राष्ट्रिय परिकल्पनासमेत साकार पार्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्