गृहनगर विराटनगरमा भरतमोहनको योगदानबारे सम्झना



सरोज यादव, विराटनगर ।
दिवंगत कम्युनिष्ट नेता भरतमोहन अधिकारीलाई उनको गृहनगर विराटनगरमा पनि सम्झना गरिएको छ । विराटनगरस्थित नेकपाको पार्टी कार्यालयमा आइतबार अधिकारीको सम्मानमा श्रद्धाञ्जली अर्पण गरिएको हो । विराटनगर १० बहेली टोलमा अधिकारीको घर थियो ।

नेपालको पहिलो कम्युनिस्टसरकारको अर्थमन्त्री हुँदा अधिकारीले ल्याएको जनमुखी कार्यक्रमको यहाँ चर्चा हुने गरेको छ । समग्र देशका लागि उहाँले ल्याएका कार्यक्रम महत्वपूर्ण र दूरगामी रहेको नेकपाका नेता तथा पूर्व सांसद ऋषिकेश पोखरेलको भनाइ छ। अधिकारीले ल्याएको ज्येष्ठ नागरिक सम्मान कार्यक्रम होस् या आफ्नो गाउँ आफैं बनाउ जस्ता ९ ‘स’ कार्यक्रम अहिले पनि उत्तिकै लोकप्रिय छ।

२०५१ मंसिर १४ गते तत्कालीन एमाले नेता मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार बनेको थियो। त्यही बेला अधिकारीले यस्तो कार्यक्रम ल्याएका थिए। ‘नेपालको मात्रै नभएर अन्तर्रा्ष्ट्रिय कम्युनिस्टआन्दोलनमा पनि अधिकारीको निधनले क्षति व्यहोरेको छ,’ पोखरेलले भने, ‘देशलाई दिएको योगदान विराटनगर र मोरङका लागि पनि थियो।’ अधिकारीले राज्य, सहकारी र नीजि क्षेत्रको तीन खम्बे अर्थनीति अंगिकार गर्नुपर्ने मत त्यसबेलै अघि सारिएको थियो।

अधिकारी उपप्रधानमन्त्रीसहित चारपटक अर्थमन्त्री हुन सफल भएका थिए। अधिकारीको योगदानको चर्चा गर्दै पुनः पूर्व एमालेका मोरङ अध्यक्ष महेश रेग्मीले उनीजस्तो मिलनसार र योजना निर्माण गर्न सक्ने नेता विरलै पाउन सकिने बताए। वृद्धवृद्धालाई कम्युनिस्टले ६० वर्ष नाघेपछि मार्छन् भन्ने हल्ला चलाइएको बेला अधिकारीले वृद्ध भत्ता दिने कार्यक्रम ल्याएर विरोधीको मुखमा बुजो लगाइदिएको थियो।

अधिकारीले त्यसबेला ल्याएको कार्यक्रमको स्मरण गर्दै विराटनगर ६ का भेषप्रसाद ढकालले जनमुखी र लोकप्रिय कार्यक्रम ल्याएकै कारण उनको कद अहिलेसम्म उँचो भएको बताए।

अधिकारी व्यवहारवादी नेता पनि भएको उनको भनाइ छ। विक्रम सम्वत १९९३ साल बैशाख २२ गते महोत्तरीको भ्रमणपुरा गाउँमा जन्मेका अधिकारीले विराटनगरको आदर्श माद्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा लिएका थिए। अधिकारी मोरङ क्षेत्र २ बाट २०४८ देखि २०५१ र २०५६ मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।

प्रतिक्रिया दिनुहोस्