‘विकास निर्माण कछुवा गतिमा छ’



दिनेश कार्की
वडाध्यक्ष, ललितपुर महानगरपालिका–२४

स्थानीय तह पुन संरचनाका क्रममा तत्कालिन ललितपुर उप–महानगरपालिकामा साविकका हरिसिद्धी, धापाखेल, सुनाकोठी, सैवु, बुङमति र खोकना गाभिएपछि ललितपुर महानगर बनेको छ । धापाखेल गाविसकाका विभिन्न ७ वडा गाभिएर अहिले महानगरको २४ वडा बनेको छ ।

वडाको नेतृत्व लिनु भएको छ धापाखेल गाविसका पूर्व अध्यक्ष दिनेश कार्कीले । वडाध्यक्ष कार्कीसँग वडाका विविध गतिविधी र भावी योजना लगायतका विषयमा नेपाल समाचारपत्रले गरेको कुराकानीको संक्षेप ।

स्थानीय निकायको जिम्मेवारी सम्हाल्नु भएको डेढ वर्ष पुरा भएको छ । यो अवधिलाई कसरी मूल्यांकन गर्नु भएको छ ?
विगतमा स्थानीयतहमा जनप्रतिनिधी नहुँदा वडा र स्थानीय तहको काम कार्वाही निकै प्रभावित थियो । विगतमा जसको पहुँच थियो उसको मात्रै काम बन्ने अवस्था थियो तर स्थानीय तहले जनप्रतिनिधी पाएपछि वडा र स्थानीयतहले प्रदान गर्ने सेवा सहज बनिरहेको छ । सेवालाई चुस्त बनाउन २४ वडा जुटेको छ, जनगुनासो न्यूनीकरण गर्ने तर्फ वडाले ध्यान दिएको छ । वडा सदस्यहरुलाई पनि कामको वाँडफाँड गरिएकाले सबैलाई न्यायोचित ढंगले सेवा प्रदान गरिरहेका छौ, म विहान ७ बजेदेखि नै वडा कार्यालयमा उपस्थित हुन्छु ।

अनि विकास निर्माणका काम चाहिँ के–के भए ?
विकास निर्माणका योजना धेरै अघि बढेका छन् । तर जनअपेक्षा अनुसार अझै काम हुन पाएको छैन । विकास निर्माणका लागि ऐन, नियम, बजेटसँगै विवादित विषयलाई किनारा लगाउन वडाबासीको पनि साथ र सहयोग आवश्यक पर्छ । यो क्षेत्र महानगरपालिका भित्रको नयाँ वडा हो, जनअपेक्षा धेरै छन्, तर जनअपेक्षा अनुसार काम हुन सकेको छैन, विकास निर्माणका गतिविधी कछुवा गतिमा अघि बढेको छ ।

यो अवधिमा तपाईले निर्वाचन ताका गरेका प्रतिवद्धता कति पुरा भए ?
निर्वाचनको समयमा मैले केही प्रतिवद्धता जनाएको थिए । वडाको मुख्य र अन्य सहायक सडक स्तरउन्नती गर्ने र फराकिलो गर्ने, खानेपानी, ढल व्यवस्थापन, सिटीहल, फुटवल ग्राउन्ड निर्माण सहित वडाको महत्वर्पूण सम्पदा नागदहलाई व्यवस्थित गर्ने जस्ता योजना अघि सारेको थिए । प्रतिवद्धता अनुसार केही काम अघि बढेका पनि छन् ।

सातदोबाटो–ठेचो सडकलाई फराकिलो बनाउने काम भइरहेको छ जग्गाको मुआब्जा वितरणका लागि अर्थ मन्त्रालयसँग रकम माग गरिएको छ । त्यसैगरी तीनकुनेदेखि गोदावरी नगरपालिकाको १३ वडा झरुवारासी जोड्ने सडकको पनि स्तरउन्नती भइरहेको छ । सो सडकको करिव २५ प्रतिशत काम सकिएको छ भने बासाईबाट हरिसिद्धि जोड्ने सडकको काम ५० प्रतिशत सकिएको छ । खानेपानीलाई व्यवस्थित गर्न सिमलीको बोटमा डीप बोरिङ सम्पन्न भएको छ, ट्यांकी बनाउन बाँकी छ । मेलम्चीको दोस्रो फेजको प्रोजेक्टले पनि वडामा खानेपानी वितरण गर्ने योजना अघि सारिएको छ ।

खेलकूद गतिविधीका लागि धापाखेलको जलपा स्कूलको ग्राउन्ड पछाडी फुटवल ग्राउन्ड बन्नेछ । खेलकूद गतिविधीलाई प्रभावकारी बनाउनेबारेमा लागि जर्मन क्लवसँग पनि प्रारम्भिक चरणको छलफल भइरहेको छ । ढल व्यवस्थित गर्नका लागि सर्वे हुँदैछ, यसका लागि प्रदेश सरकारबाट ५० लाख रुपियाँ बजेट विनियोजन भइसकेको छ । महानगरपालिका भित्र व्यवस्थित सिटी हलको आवश्यकता महसुस गरिएको छ, यही वडाभित्र हल बन्दैछ । महानगरको कार्यपालिकाको बैठकले यो प्रस्ताव पास गरिसक्यो, नगर परिषद्ले पास गर्न बाँकी छ । नागदहलाई व्यवस्थित गर्न बजेट सहित विभिन्न योजना अघि सारिएको छ ।

नागदहका योजना कस्ता छन् ?
नागदहसँग जोडिएका विविध पूर्वाधारका काम अहिले पनि भइरहेका छन् । पोखरी वरिपरीको ट्र¥याक निर्माण, मल्टिपल हल, भ्यू टावर निर्माण हुनेछन् । यहाँको पुरानो मन्दिरको पुननिर्माण भएको छ भने २ वटा पार्टी निर्माण हुनेछन् । नागदह र आसपासका अन्य सम्पदालाई जोडेर ‘टे«किङ रुट’ तयार हुँदैछ ।

टे«किङ रुटले नागदह, गोदावरी नगरपालिकाको सन्तानेश्वर, ब्रजवाराही लगायतका गतन्व्यलाई समेट्ने योजना अघि सारिएको छ । नागदलहाई व्यवस्थित गर्न सहरी विकास मन्त्रालयबाट साढे ३ करोड रुपियाँको बजेट आएको छ भने त्यसैगरी संस्कृति मन्त्रालयबाट पनि चाँडै २५ लाख रुपियाँको बजेट आउँदैछ ।

तपाई विगतमा पनि धापाखेल गाविसको अध्यक्ष हुनुहुन्थ्यो, अहिले महानगरभित्रको वडाध्यक्ष हुनुहुन्छ । अध्यक्ष र वडाध्यक्ष हुँदा के फरक हुँदो रहेछ ?
पक्कै पनि फरक महसुस गरेको छु । अवसरसँगै चुनौती पनि छन् । समय बदलिएको छ, विगतमा स्थानीय तहले पाएको अधिकार र अहिले धेरै फरक छ । अहिले म जुन वडाको नेतृत्वमा छु यो वडामा तीब्र गतिमा सहरीकरण भइरहेको छ । महानगरभित्रको नयाँ वडा भएकाले जनअपेक्षा सम्बोधन गर्दै विकास निर्माणका गतिविधी अघि बढाउन समय लाग्छ ।

साँघुरो घडेरीमा बनेका घर धेरै छन्, वल्लो घरको इनारसँगै जोडेर पल्लो घरबेटीले सेफ्टी ट्यांकी बनायो, सेफ्टी ट्यांकी चुहिएर दुगन्ध फैलियो भन्ने प्रकृतिका विवाद धेरै छन् । त्यसैले बढ्दो सहरीकरणले वडाबासीका आकांक्षा पनि बढाएको छ, अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न त्यति सहज छैन ।

तपाई आफैं ललितपुर महानगरपालिकाको सामाजिक विकास समितिको संयोजक पनि हुनुहुन्छ । समितिले के कस्ता काम गरिरहेको छ ?
समितिले महानगरपालिकाकाको शिक्षालाई व्यवस्थित गर्न कार्यविधी बनाएको छ । कार्यविधी नगरसभाले छिटै पारित गर्दैछ ।

नगर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन कार्यविधी तयार भएको हो । त्यसैगरी महानगरपालिका भित्र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन यही आर्थिक वर्षभित्रैमा महानगरपालिकाको २७ वडा सुनाकोठीमा सामुदायिक अस्पताल निर्माण शुरु हुँदैछ । अस्पताल निर्माणका लागि प्रदेश सरकारले १ करोड रुपियाँ विनियोजन गरेको छ ।

सामुदायिक अस्पतालको सेवालाई प्रभावकारी बनाउन निजी अस्पतालसँग सहकार्य गर्ने बारेमा पनि छलफल भइरहेको छ । यससँगै यही आर्थिक वर्ष भित्रैमा ‘पाइलट प्रोजेक्ट’का रुपमा महानगरकाका १७ र २० वडामा नेपाल भाषाको कक्षा आरम्भ हुँदैछ । साथै स्थानीय पाठ्यक्रममा बरिष्ठ सस्कृतिविद् सत्य मोहन जोशीले योगदानलाई समेटिदैछ । समितिले नगर क्षेत्रमा व्यवस्थित सामुदायिक पुस्तकालय स्थापना गर्नेबारेमा पनि प्रारम्भिक तयारी अघि बढाइरहेको छ । पुस्तकालयका लागि विद्यार्थी संख्या न्यून भएका सामुदायिक विद्यालयको पूर्वाधार प्रयोग गर्ने विकल्प अघि सारिएको छ ।

अबको बाँकी अवधिमा कुनै नौला काम हुँदैछन् कि ?
बेरोजगारी देशकै मुख्य समस्या बनिरहेको बेला यो वडामा बेरोजगारी अन्त्य गर्दै स्वरोजगारका अभ्यास अघि सार्नुपर्छ । यसका लागि ‘एक वडा एक उत्पादन’ भन्ने नारालाई सार्थक बनाउन कार्यक्रम शुरु हुँदैछ । यसका लागि महानगरले ‘सीड मनी’ उपलब्ध गराउने बारेमा छलफल भइरहेको छ ।

यससँगै लागु औषध दुव्यसनी न्यूनीकरण गर्ने शान्ति सुरक्षा कायम गर्न वडाका विभिन्न स्थानमा सीसी क्यामेरा जडान गर्ने, सार्वजनिक जग्गालाई व्यवस्थित गर्दै गार्डेन र हरियाली बढाउने कार्यक्रम पनि कार्यान्वयन हुनेछन् । यस्ता काममा स्थानीय क्लव र विभिन्न समुहलाई पनि संलग्न गराइनेछ ।

प्रतिक्रिया दिनुहोस्