सामाजिक सञ्जालमा निगरानी



अहिलेको युग भनेको सूचना प्रविधिको युग हो । अहिले संसारका जुनसुकै कुनामा जस्तोसुकै घटना भए पनि संसारभर एक निमेषमा उक्त घटनाको सूचना फैलने गरेको छ । सूचना प्रविधिले संसारलाई एकदमै सानो बनाइदिएको छ । पछिल्लो समय सूचना प्रविधिको विकासका कारण सामाजिक सञ्जालमा सक्रिय हुने मानिसको संख्या पनि अत्यधिकरुपमा बढेको पाइन्छ । सामाजिक सञ्जालका कारण अहिले हरेक व्यक्तिले आफ्ना मनमा लागेका कुरा संसारभरका मानिसलाई सुनाउँदै आएका छन् भने सार्वजनिक पद धारण गरेको व्यक्ति तथा मुलुक गलत बाटोमा जाँदै गरेको छ भने त्यसलाई सही ठाउँमा ल्याउनसमेत मद्दत गरेका उदाहरणहरु संसारमा थुप्रै पाइन्छ ।

कसैले गलत मनसाय राखेर समाज तथा मुलुकलाई गलत बाटोतर्फ लैजान लागेको भान भएमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले खबरदारी गरेर गलत क्रियाकलापको भण्डाफोर मात्र गरेका छैनन्, गलत गर्नेलाई पदच्यूत गराउने र कारबाहीको दायरामा ल्याएको पनि देख्न र सुन्नमा आएको छ । नेपालको सन्दर्भमा भने समाजिक सञ्जालका प्रयोगकर्ताहरु समाजलाई सही बाटोमा डो¥याउने भन्दा पनि समाज भाँड्ने र मुलुकलाई अधोगतितर्फ लैजान उद्यत भएको देखिन्छ । सामाजिक सञ्जालमा ठूला–ठूला कुरा गरेर आफूलाई अब्बल साबित गराउन खोज्ने एउटा गिरोह मुलुकको विकास होइन विनाशतर्फ उन्मुख भएको पाइन्छ ।

आफू समाज र मुलुकका लागि एक प्रतिशत पनि योगदान नदिने तर राज्यले यो गरेन र ऊ गरेन भनेर सराप्ने तथा हुन लागेका कामलाई भाँड्ने समूह अहिले सक्रिय भएको कारण मुलुक कता जान्छ भन्न सक्ने अवस्था देखिँदैन । बाटोमा पान खाएर थुक्ने अनि सरकारलाई सराप्ने एक समूह अहिले पनि समाज र राज्यका विरुद्ध हात धोएर लागेका छ । आफैं समाजमा आतंक मच्चाउने गिरोहको पछिल्लो गतिविधि भने डर लाग्दो अवस्थामा छ । त्यसकारण सरकारले समाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई नियमन गर्नुपर्ने अवस्था आएको छ । होइन भने यस्ता गलत मनसाय राख्ने गिरोहको कारण मुलुकको भविष्य अन्धकारतर्फ उन्मुख हुँदै जाने देखिन्छ । त्यसकारण राज्य यस्ता विषयमा उदार होइन अनुदार बन्नुपर्ने बेला आएको छ ।

बेलैमा होस नपु¥याउने हो भने मुलुक दुर्घटनामा नपर्ला भन्न सकिन्न । यसतर्फ सरकारको ध्यान जानु जरुरी छ । सामाजिक सञ्जाल नियमन गर्ने नाममा सरकारले निरङ्कुश शैली भने लाद्न खोज्नुहुँदैन । गलत गर्नेलाई कारबाही र सही गर्नेलाई प्रोत्साहनको व्यवस्था राज्यबाट हुन जरुरी छ । जति सक्दो चाँडो सरकारले यतातिर ध्यान दिन जरुरी छ । केही व्यक्ति वा समूह अहिले तिललाई पहाड बनाउने खेतीमा लागेका कारण त्यसले समाज सुधारमा सकारात्मक भन्दा पनि नकारात्मक भूमिका बढी खेल्ने भएकाले यसतर्फ सरकारको ध्यान जाओस् ।

प्रतिक्रिया दिनुहोस्