काठे पुलले जोडेको प्रगति विद्यालय



सिर्जना पन्त, बागलुङ ।

बागलुङ जिल्लाको गलकोट नगरपालिकाको एक विद्यालयलाई काठको पुलले जोडिराखेको छ । विद्यालयको एक कक्षा कोठा बाट अर्काे कक्षा कोठामा पुग्न हलुवा खोलाको काठे पुल तर्नुपर्छ । गल्कोट नगरपालिका वडा नम्बर ७ मल्ममा रहेको प्रगति आधारभूत विद्यालय क्षेत्रभित्र हलुवा खोला रहेको छ ।

विद्यालयका शिक्षक शिक्षीका र विद्यार्थीहरुलाई एउटा कक्षाबाट अर्काे कक्षामा पुग्न सोही खोलामाथि रहको काठको पुल तर्नुपर्छ । एउटै विद्यालयलाई दुई भागमा बाँडेको हलुवा खोलामाथिको काठे पुल स–साना बालवालिकाको लागि धराप थापेजस्तै भएको विद्यालयका शिक्षक शिक्षीकाहरु बताउँछन् । ‘हिउँदा खोला सानो हुन्छ, जोखिम कम हुन्छ, वर्खाको समयमा पटक पटक ठुला दुर्घटनाबाट बचेका छौं विद्यालयका प्रधानध्यापक नगेन्द्र मल्लले भन्नुभयो ।’

शुरुमा ५ कक्षा सम्म पढाईहुने उक्त विद्यालयमा हाल ८ कक्षा सम्म पढाइ सञ्चालन गर्दा भौतिक पूर्वाधारको निर्माण गर्न जग्गाको अभाव भएपछी विद्यालय परिसरवाट बग्ने हलुवा खोला पारि भवन निर्माण गरेपछी खोला वारपार गर्न समस्या भएको हो ।

‘विद्यालयको वीच भागमा खोला छ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाले भन्नुभयो, कक्षा कोठा वार पार गर्न कच्ची पुल निर्माण गरेपनि काठ कुहिने हुँदा पुल जिर्ण हुँदा समस्या भएको छ ।’ थापाका अनुसार वर्षको एक पटक निर्माण गर्दा तथा मर्मत गर्दा आर्थिक अभाव हुनेगरेको छ । कतैबाट सहयोग भए पक्की पुल निर्माण गर्न सकिए सदाका लागि समस्या समाधान हुने विद्यालयको अपेक्षा रहेको छ ।

विद्यालयले पटक–पटक पक्की पुलको माग गर्दा समेत पुल निर्माणका लागि कतैबाट सहयोग नपाउँदा विद्यार्थी आउ जाउमा जोखिम भएको थापाको भनाई रहेको छ । काठबाट निर्माण गरिएको कच्चीपुल वर्षातको समयमा कुहीने हुनाले प्रत्यक वर्ष मर्मत गर्नुपर्र्ने झन्झट रहेको छ । जम्मा ११ जना विद्यार्थी भएपछि २०६८ सालमा एकिकरण हुन लागेको उक्त विद्यालय व्यवस्थापन समिति र स्थानियको पहलले नयाँ व्यवस्थापनको साथमा अंगे्रजी माध्यमबाट पढाइ शुरु गरेपछि विद्यार्र्थी बढेर १ सय २३ जना पुगेका छन् । विद्यार्थी बढेपनि सरकारी दरवन्दी जम्मा दुइजनाको मात्र छ भने अन्य १० जना शिक्षकहरुलाई निजि स्रोतवाट तलव खुवाउदा विद्यालयलमा आर्थिक संकट समेत परेको छ ।

विद्यार्थी थोरै हुदा एकिकरण हुने समस्या थियो, विद्यार्थी बढे संगै कक्षाकोठा आवश्यक भयो,’ प्रअ मल्लले भन्नुभयो ‘विद्यालय भवन निर्माण गर्नका लागि जग्गा अभाव भएसंगै खोलापारी भवन बनाउदा पुल तर्नुपर्ने बाध्यता भएको हो ।’

हाल सल्लाका रुखमाथी फलेक राखेर पुल निर्माण गरेका छौं, वर्खाको पानीका कारण काठ कुहीने हुँदा पुल निकै जिर्ण अवस्थामा भएका कारण विद्यार्थीहरुलाई समस्या भएको छ । विद्यालयमा पक्की पुल निर्माण गर्न आगामी वर्ष बजेट निकासा गर्न गलकोट नगरपालिकामा पहल गर्ने कार्यवाहक वडा अध्यक्ष लोक बहादुर थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्