बोगटान सडकमा डबलकटिङको काम सुरु



विमल बिष्ट, डोटी ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपीशर्मा ओलीले जिल्लाकोे सबै भन्दा पुरानो वोगटान सडक यहि फागनु ७ गने कालोपत्रेको सिलान्यास गरेसँगै उक्त सडकमा डबलकटिङको काम सुरु भएको छ ।

उक्त सडक खण्डको कैलालीको सहजपुरबाट डबलकटिङको काम सुरु भएको सोयल टेस्ट कनसल्टेन्सिका ईन्जिनियर राजकुमार पोख्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “पिच गर्नकालागि ९ मिटर चौडा सडक आवस्यक पर्ने भएकाले हामीले अहिले डबलकटिङको कार्य सुरु गरेका छौँ ।”

डबलकटिङ गर्दा अधिकाँस स्थानियका घर,खेतवारी तथा जमिनमा लगाएको बाली नोक्सानी हुन थालेकाले कामगर्नमा केहि समस्या उत्पन्न भएको ईन्जिनियर पोख्रेलले जानकारी दिनुभयो ।

“डबलकटिङ गर्दा चुरे गाउँपालिकाका केही स्थानियका घर खेत जानथालेकाले मुअब्जा माग्दा समस्या उत्पन्न भएको छ”, उहाँले थपभन्नुभयो, “स्थानिय जनप्रतिनिधी सहित हामी बसेर छलफल गरी समस्या समाधान गर्न खोजिरहेका छौँ ।” ४ वर्ष पहिले भएको सर्वे अनुसार नै अहिले उक्त क्षेत्रमा डबलकटिङ गर्दा घरवारी तथा खेती लगायका जमिन मासिन थालेको बोगटान गाउँपालिका बिपिनगर १ का स्थानिय रोजबहादुर कलेलले बताउनु भयो ।

उहाँले भन्नुभयो, “खेतीवारी भन्दा पनि कतिपयको त घरबास नै उठ्ने अवस्था आएको छ,सरकारले मुअब्जा नदिए उनिहरुको बिचल्ली हुने देखिन्छ ।” कैलालीको सहजपुर देखी डोटीको बडीकेदार गाउँपालिका सम्म ५० किलोमिटर सडक ३० महिना भित्रमै पिच गरिने लक्ष अनुसार ठेकेदार कम्पनीले धमाधम रुपमा काम अघि बढाएको हो ।

सडक कालोपत्रे हुने भएपछि यहाँका स्थानियहरु निकै खुसि भएका छन् । रु २ अर्ब ५ करोडमा उक्त सडक कालोपत्रेको जिम्मा कुमार श्रेष्ठ निर्माण सेवालाई दिईएको छ । कैलालीको चुरे गाउँपालिकाभित्र पर्ने १८ किमी र डोटीको बिपी नगरदेखि बडीकेदार गाउँपालिका सम्म २८ किमी सडक कालोपत्रे हुने भएको हो । डोटीबाट नेकपाबाट बिजयी भएका प्रतिनिधी सभाका साँसद प्रेमबहादुर आलेमगरको प्रतक्ष पहलमा उक्त सडक पिच हुँन थालेको बताइएको छ । सडक पिच भए कैलालीका तत्कालीन २ र डोटीका १७ गाविसका वासिन्दा प्रतक्ष लाभान्वित हुने साँसद प्रेमबहादुर आलेमगरले बताउनु भयो ।

उहाँले भन्नुभयो, “आर्थिक समृद्धिको मेरुदण्ड मानिएको सहजपुर बोगटान सडक पिच भए जनतालाई निकै सुबिधा मिल्ने छ,पिचको कार्यमा अवरोध हैन,सहयोग गरौँ ।” भारतको एक्जिम बैंकको ऋण प्रक्रियाबाट नेपाल सरकारको सडक विभागले उक्त सडक कालोपत्रे गर्न लागेको बताईएको छ ।

सिलान्यास भएको ३३ वर्ष पछि उक्त सडक अहिले आएर कालोपत्रे हुनथालेको कैलालीको चुरे गाउँपालिका सिवनगरका स्थानिय दानबहादुर विष्टले बताउनु भयो । सहजपुरदेखि बडीकेदार गाउँपालिका हुँदै बोगटान गाउपालिकाको सिमचौर भएर दिपायल जोड्ने उक्त सडक बिसं २०४२ सालमा पहिलो पटक कच्चि सडक शिलान्यास भएको थियो ।

प्रतिक्रिया दिनुहोस्