फोब्र्सको सूचीमा मेसी अगाडी



न्यूयोर्क, (एजेन्सी)
फुटबललाई विश्वकै चर्चित खेलको रुपमा मानिन्छ । विश्वचर्चित अमेरिकी म्यागाजिन फोब्र्सले केही साता अघि वर्ष २०१८ मा फुटबलबाट सर्वाधिक आम्दानी गर्ने १ सय जना खेलाडीहरुको सूची सार्वजनिक गरेको थियो । जसमध्येका सर्वाधिक आम्दानी गर्ने ५ फुटबल खेलाडीको चर्चा गरिएको छ ।

१. लियोनल मेसी
लुइस लिओनेल आन्द्रेस “लियो“ मेसी अर्जेन्टिनाका चर्चित फुटबल खेलाडी हुन् । स्पेनिस ला लिगा क्लब बार्सिलोनामा डेढ दशक बिताइसकेका उनले वर्ष २०१८ मा १ सय ११ मिलियन अमेरिकी डलर आम्दानी गरेको फोब्र्सले जनाएको छ । जसमध्ये उनले तलबबाट ८४ मिलियन डलर र इन्डोर्समेन्टबाट २७ मिलियन डलर आम्दानी गरेका छन् । योसँगै उनी फोब्र्सद्वारा जारी वर्ष २०१८ को सर्वाधिक आम्दानी गर्ने खेलाडीको पहिलो स्थानमा सूचीकृत बन्न सफल भएका छन् ।


१३ वर्षको उमेरमै खेल्नका लागि उनी स्पेन पुगेका थिए । जहाँ उनलाई एफसी बार्सिलोनाले औषधोपचार गर्ने शर्तमा क्लबमा आबद्ध गरेका थिए । त्यसपछाडि एकपछि अर्को सफलता चुमेका उनले कहिले फर्केर हेर्नु परेका छैन । सन् २०१२ उनी वर्षको सर्वाधिक गोलकर्ता बने । यस्तै सन् २०१६ मा उनले पाँचौ पटक बालोन डे ओर अवार्ड जित्न सफल भए । सन् २०१७ को नोभेम्बरमा उनले आफ्नो क्लब बार्सिलोनासँग सन् २०२०÷२१ सिजनसम्मका लागि सम्झौता अवधि लम्ब्याए । जसअनुसार उनले तलब र बोनस गरी वार्षिक ८० मिलियन पाउदै आएका छन् ।

इन्डोर्समेन्टको कुरा गर्नुपर्दा एडिडाससँग उनको आजीवन सम्झौता रहेको छ । यस्तै अन्य प्रमुख इन्डोर्समेन्टमा गातोरेड, पेप्सी र हुआवेई रहेका छन् । उनी चीनमा यति चर्चित छन् कि नान्जियांगमा एउटा पार्क नै उनको नाममा निर्माणाधिन रहेको छ । सन् २०२० सम्म निर्माण सम्पन्न हुने उक्त पार्कलाई मेसी थीम पार्क नामांकरण गरिएको छ ।

२. क्रिस्टियानो रोनाल्डो
फोब्र्सद्वारा जारी गरिएको उक्त सूचीमा पोर्चुगलका विश्वचर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले दोस्रो स्थान ओगटेको छ । सन् २०१८ मा रियल मेड्रिडबाट युभेन्ट्स पुगेका उनले ६१ मिलियन डलर तलबबाट र ४७ मिलियन डलर इन्डोर्समेन्टबाट आम्दानी गरेको जनाइएको छ । जसअनुसार वर्ष २०१८ मा उनले १ सय ८ मिलियन अमेरिकी डलर आम्दानी गरेको जनाईएको छ ।
गत वर्ष रसियामा सम्पन्न फिफा विश्वकपपश्चात उनले रियल मेड्रिड छोडेर चार वर्षका लागि इटालियन सिरी ए क्लब युभेन्ट्ससँग सम्झौता गरेका हुन् ।

युभेन्ट्सले रियल मेड्रिडसँग १ सय ४० मिलियन अमेरिकी डलरमा रोनाल्डोलाई आफ्नो क्लबमा भित्राएका हुन् । जसअनुसार रोनाल्डोले तलबबापत वार्षिक ३५ मिलियन डलर प्राप्त गर्नेछन् । सो आंकडा हेर्ने हो भने २०१८÷१९ को सिजनमा तलब र इन्डोर्समेन्टमार्फत् रोनाल्डोले कुल १ सय ११ मिलियन डलर आम्दानी गर्ने अनुमान गरिएको छ ।

मेसी सरह नै उनले पनि पाँचौ पटक बालोन डे ओर अवार्ड हात पारेका छन् । यतिमात्र होइन, दुई भिन्दाभिन्दै क्लबबाट कुल ५ पटक उनी सम्मलित टोलीले यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

विश्वप्रसिद्ध खेलकूद सामाग्री उत्पादक कम्पनी नाइकीसँग उनको आजीवन सम्झौता रहेको छ । यस्तै हर्बालाइफ र इए स्पोर्ट्ससँग पनि उनको ब्यापारिक सम्झौता रहेको छ । यो बाहेक आफ्नै लगानी रहेको सीआर ७ ब्रान्डका जुत्ता, परफ्यूम जस्ता सामग्री पनि उनको आम्दानीको अन्य स्रोत हुन् । सामाजिक सञ्जालमा ३ सय २२ मिलियन फोलोवर भएका उनलाई हाल विश्वकै सबैभन्दा चर्चित खेलाडीको रुपमा मानिएको छ ।

३. नेयमार जुनियर
नेयमार डा सिल्भा सन्तोस जुनियर पूरा नाम भएपनि विश्व उनलाई पहिलो नामबाट नै बढी उच्चारण गर्न मन पराउँछन् । फोब्र्सका अनुसार उनी वर्ष २०१८ को सर्वाधिक आम्दानी गर्ने फुटबलर सूचीको तेस्रो स्थानमा रहेको छ । सन् २०१८ मा उनको कुल आम्दानी ९० मिलियन डलर रहेको छ ।


जसमध्ये ७३ मिलियन तलब र १७ मिलियन डलर इन्डोर्समेन्टमार्फत् आम्दानी गरेका छन् । उनी सन् २०१७ को अगस्तमा ५ वर्षका लागि पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लबमा आबद्ध भएका हुन् । उनलाई नाइकी, रेड बुल र मेक डोनाल्ड जस्ता ब्यापारिक संस्थाहरुले प्रायोजन गरेको छ ।

४. गेरेथ बेल
सन् २०१८ मा ३४.६ मिलियन आम्दानी गरेका रियल मेड्रिडका वेल्स स्टार गेरेथ बेल पÞmोब्र्सले जारी गरेको उक्त सूचीको चौथो स्थानमा अटाएका छन् । जसमध्ये २८.६ मिलियन डलर तलब तथा ६ मिलियन इन्डोर्समेन्टबाट आम्दानी गरेका छन् ।

सन् २०१८ को मे मा सम्पन्न यूईएफए च्याम्पियन्स लिगको फाइनलमा लगातार तेस्रो पटक रियल मेड्रिडले उपाधि उचाल्दा बेलले दुई गोल गरेका थिए । जसमध्ये बाईसाइकल किकमा उनले गरेको गोलले निक्कै चर्चा बटुलेको थियो ।

उनले २०१६ को अक्टूबरमा सन् २०२२ सम्म रियल मेड्रिडमा नै रहने गरी सम्झौता लम्ब्याएका थिए । प्रमुख इन्डोर्समेन्टका रुपमा एडिडाससँग सन् २०२० सम्म उनको सम्झौता रहेको छ ।

५. पाउल पोग्बा
सन् २०१८ मा कुल २९.५ मिलियन अमेरिकी डलर आम्दानी गरेका पाउल पोग्बा फोब्र्सले जारी गरेको उक्त सूचीको पाँचौ स्थानमा रहेको छ । जसमध्ये २५ मिलियन तलब र ४.५ मिलियन डलर इन्डोर्समेन्टबाट आर्जेका छन् ।
फ्रान्सलाई दोस्रो पटक फिफा विश्वकपको उपाधि दिलाउने टोलीको महत्वपूर्ण सदस्य पाउल पोग्बा इंग्लिश प्रिमियर लिग म्यानचेस्टर यूनाइटेडबाट मिडफील्डमा खेल्ने गर्छन ।

५ वर्ष यूनाइटेडले सम्झौता गरेका उनलाई तलबबापत् वार्षिक २० मिलियन डलर तिर्न राजी भएको हो । इन्डोर्समेन्टको रुपमा एडिडासले उनीसंग १० वर्षका लागि सम्झौता गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्