विराटनगरमा ६ राष्ट्रका १० नाटक



विराटनगर, (नेस)। विराटनगर–८ हाटखोलास्थित आरोहरण गुरुकुलको सुशीला कोइराला नाटक घरमा प्रदेश–१ मै पहिलोपटक अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ। २०३८ सालदेखि कला, साहित्य र रंगमञ्चको क्षेत्रमा काम गरिरहेको आरोहणको विराटनगर शाखाले महोत्सव गर्न लागेको हो।

आगामी फागुन १५ देखि २४ गतेसम्म महोत्सव हुन लागेको आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षत्रीले जानकारी दिए। महोत्सवमा भारत, बंगलादेश, श्रीलंका, अफगानिस्तान, इटालीका ११ र नेपालका ५ गरी १० वटा नाटक मञ्चन हुनेछन्। हरेक दिन एउटा नाटक मञ्चन हुने क्षत्रीले जनाए। महोत्सवमा नेपालमा काम गरिरहेका झन्डै १ सय र अन्य मुलुकका करिब १ सय जना कलाकार, निर्देशक, प्राविधिक, लेखक तथा पत्रकारको जमघट हुनेछ। महोत्सवमा सहभागी हुन इटालीबाट आएका रंगकर्मीले ३ दिनको नाट्य कार्यशालासमेत सञ्चालन गर्ने उनले बताए।

१५ गते आरोहणको विराट पर्व, १६ गते बंगलादेशको मातब्रिङ, १७ गते इटालीको डिसापारायसिट ओएस ह्यास ४३ र १८ गते भारतको चम्पावती नाटक मञ्चन हुनेछ। त्यस्तै श्रीलंकाको लभ एन्ड लाइफ १९ गते, झोराहाट नाट्य समूहको घरभित्रको अर्को घर २० गते, परिवर्तन थिएटर काँकडभिट्टाको बिटुलो आख्यान २१ गते, अफगानिस्तानको ता राहाये २२ गते, थिएटर नेपाल उदयपुरको देश बनाउँछु भन्नेहरू २३ गते र कदम थिएटर दमकको गैंडा टाइम्स २४ गते मञ्चन हुनेछ।

महोत्सवको उद्घाटनका दिन सांस्कृतिक प्रदर्शनी, महोत्सव अवधिभर पुस्तक, चित्रकला प्रदर्शनीसमेत राखिनेछ। प्रत्येक नाटक मञ्चनपश्चात् मञ्चन भएको नाटकका विषयमा कलाकारका बीच अन्तरक्रियासमेत सञ्चालन गरिने महासचिव विवश पोखरेलले जानकारी गराए। महोत्सवमा आएका विदेशी कलाकारलाई प्रदेश–१ का पर्यटकीय तथा ऐतिहासिक गन्तव्यहरूमा अवलोकन गराइने उनले बताए।

स्थानीय समुदाय, स्थानीय सरकारसँग अन्तरक्रियासमेत हुनेछ। ‘जसबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा काम गरिरहेका सहभागीको अन्तरक्रियाले नेपाली सभ्यता, संस्कृति, भौगोलिक अवस्था तथा कला साहित्यलाई थप हौसला र ऊर्जा प्रदान गर्नेछ’, क्षत्रीले भने– ‘साथै स्तरीयता वृद्धि तथा अन्तर्राष्ट्रियकरणमा महवपूर्ण भूमिका निर्वाह गर्नेछ।’ महोत्सव सम्पन्न गर्न ४५ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ। ‘तर, दुःखका साथ भन्नुपर्छ अहिलेसम्म ५० हजार रुपियाँ मात्रै संकलन भएको छ’, अध्यक्ष क्षत्रीले भने– ‘१ सय ७५ ठाउँमा प्रायोजन र सहयोगका लागि प्रपोजल छाडेका छौं। कतैबाट पनि रेस्पोन्स आएको छैन।’

यसअघि आरोहणले ३ पटक अन्तर्राष्ट्रिय र १० पटक राष्ट्रिय महोत्सव गरिसकेको छ। आरोहण गुरुकुलले भने एकपटक पूर्वाञ्चल नाटक महोत्सव गरेको थियो। विराटनगर महानगरपालिकाको संरक्षण तथा प्रवद्र्धनमा हुन लागेको महोत्सवको तयारी तीव्र पारिएको महोत्सव आयोजक समितिका संयोजक दीपेश भण्डारीले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्