काठमाडौँ १ सय रनले विजयी



नेपाल समाचारपत्र, काठमाडौं
धनगढी प्रिमियर लिग (डीपीएल) मा काठमाडौँ गोल्डेन्स १ सय रनले विजयी भएको छ ।

आइतवार भएको दोस्रो खेलमा काठमाडौँले आफ्नो अपराजित यात्रालाई कायमै राख्ने क्रममा रुपन्देही च्यालेन्जर्सलाई १ सय रनले पराजित गरेको हो । जारी डीपीएलमा रुपन्देहीले यो सबैभन्दा कम स्कोर बनाउंदा काठमाडौँले पराकिलो रनअन्तरको जित निकालेको हो ।

काठमाडौँले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको रुपन्देही १५.१ ओभरमा ३३ रनमै अलआउट भएका थिए । रुपन्देहीका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा स्कोर जोड्न सकेनन् । सुमित महर्जनले बनाएको ५ रन नै व्यक्तिगत उच्च स्कोर बन्यो । डीपीएलको इतिहासमै रुपन्देहीले बनाएको यो सर्वाधिक कम स्कोर हो ।

रुपन्देहीलाई अलआउट गर्न काठमाडौँका बलरहरु नन्दन यादवले ३.१ ओभरमा ५ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका र्थि । यसैगरी ललित राजवंशी र सूर्य तामाङले समान २–२ विकेट लिए । सूर्यले ३ ओभरमा ६ रन खर्चे भने ललित राजवंशीले २ ओभरमा ४ रन खर्चेका थिए । अंकित दबासले ४ ओभरमा १ मेडन राख्दै ८ रन खर्चेर १ विकेट लिए । योगेन्द्र कार्कीले १ ओभरमा ४ रन खर्चेर १ विकेट लिए भने रसिद खानले २ ओभरमा ४ रन खर्चे । रसिदले विकेट भने लिन सकेनन् ।

त्यसअघि फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले ७ विकेट गुमाएर १सय ३३ रन बनाएको थियो । काठमाडौँका लागि भारतीय खेलाडी अंकित दबासले सर्वाधिक ४३ रन बनाएका थिए । यस्तै अनिल शाहले २३, योगेन्द्र सिंह कार्कीले १३, कप्तान ज्ञानेन्द्र मल्लले १२ रन बनाउँदा रसिद खानले ५ बल खेल्दै २ चौकमा र १ छक्काको मद्दतमा नटकआउट १४ रन बनाए ।

रुपन्देहीका युवा बलर अनिल ख्लले ४ ओभरमा १ ओभर मेडन राख्दै १९ रन खर्चेर २ विकेट लिएका थिए । यस्तै विक्रम सोब र पुनित महराले पनि समान २–२ विकेट लिए ।

तेस्रो जितपछि चार खेलबाट ७ अंक जोडेको काठमाडौँले शीर्ष दुईमा रहँदै क्वालिफायर्समा स्थान सुरक्षित गरेको छ । अब लिग चरणमा काठमाडौँले एक खेल खेल्न बाँकी छ ।

सुरुको दुई खेल जितेर उत्कृष्ट सुरुवात गरेको रुपन्देहीको पछिल्लो दुई खेलमा हारपछि ४ खेलबाट ४ अंक छ । काठमाडौले सिवाइसी अत्तरिया र रुपन्देहीले धनगढी स्टार्ससँग लिगमा खेल्न बाँकी छ । चार खेलबाट १ अंक मात्र रहेको साविक विजेता धनगढी लिग चरणबाटै बाहिरिसकेको छ । अब लिग अन्तर्गत सोमवार धनगढी र रुपन्देही तथा विराटनगर र अत्तरियाबीच खेल हुनेछ भने मंगलवार काठमाडौँ र अन्तरियाबीच हुनेछ।

त्यसअघि आइतबारै भएको पहिलो खेलमा महेन्द्रनगरले सिवाइसी अत्तरियालाई पराजित गर्दै प्लेअफ पुग्ने सम्भावनालाई जिवितै राखेको छ ।
वर्षाले भिजेका मैदानका कारण ६ ओभरमा घटाइएको उक्त खेलमा महेन्द्रनगरले अत्तरियालाई ७ विकेंटले पराजित गरेको हो । फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले ६ ओभरमा ५ विकेट गुमाएर ५४ रन बनाएको थियो । अत्तरियाका लागि ओपनिङ गरेका सन्नी पटेलले १९ रन बनाए भने जयकिसन कोल्सावाला र कप्तन दिपेन्द्र सिंह भरीले समान १० रन जोडेका थिए । महेन्द्रनगरका अभिनाश बोहरा र सागर ढकालले २–२ विकेट लिएका थिए ।

५५ रनको लक्ष्य महेन्द्रनगरले २ बल अगावै ३ विकेट गुमाएर पूरा गरेको थियो । महेन्द्रनगरका लागि ओपनर सुब्रमन्यम आनन्दले सर्वाधिक १९ रन बनाए । आरिफ शेखले नटआउट १५ रन योगदान गरे । कुशल मल्ल ६ रनमा नटआउट रहे । अत्तरियाका भुवन कार्कीले २ विकेट लिए ।
जितपछि लिग चरंणका सबै ५ खेल खेलिसकेको महेन्द्रनगरले ४ अंक जोडेको छ । एक खेल मात्र जितेको महेन्द्रनगरले दुई खेलमा हार बेहोरेको थियो भने दुई खेल वर्षाका कारण प्रभावित भएपछि अंक बाँडेको थियो ।

प्रतिक्रिया दिनुहोस्