धार्मिक पर्यटक भित्र्याउन पहल



नेपाल समाचारपत्र, काठमाडौं
नेपालको साहसिक तथा आद्यात्मिक पर्यटन प्रवद्र्धन गर्नको लागि पाटा एड्भेन्चर ट्राभल मार्टमा नेपालले सहभागिता जनाएको छ ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) द्वारा फेब्रुअरी १३ देखि १५ मा भारतको उत्तराखण्डस्थित ऋषिकेशमा आयोजित ‘पाटा एड्भेन्चर ट्राभल एन्ड रेस्पोन्सिबल टुरिजम कन्फरेन्स एन्ड मार्टमा’ नेपाल पर्यटन बोर्ड र नेपाली निजी ६ पर्यटन व्यवसायी संस्थाले सहभागिता जनाएका थिए ।

ऋषिकेशमा वार्षिक ३५ लाख श्रद्धालु तथा पर्यटक भ्रमण गर्ने गर्दछन् । नेपाली पर्यटनको मुख्य बजार भारत भएता पनि नेपालको स्रोत र साधनको तुलनामा नेपाल आउने भारतीय पर्यटकको संख्या निकै न्यँन रहेको बेला नेपाली पर्यटन व्यवसायी र बोर्डले प्रचारप्रसारलाई तीव्र बनाएको हो ।

सरकारले सन् २०२० मा २० लाख पर्यटन भित्र्याउने लक्ष्य साथ अगाडि बढेको बेला नेपाली पर्यटन व्यवसायीले पाटा नेपाल च्याप्टरको सहकर्यमा प्रचार प्रसार तीव्र पारेको छ ।

नेपालका आकर्षक एवं महत्वपँर्ण धार्मिक स्थलहरु पशुपतिनाथ, लुम्बिनी, जनकपुर, मुक्तिनाथ आदि क्षेत्रलाई धार्मिक पर्यटनको सेवासँंगै उपयुक्त संयोजन गरी प्रभावकारी प्रचार गर्न सकेमा नेपालमा भारतीय भक्तजन तथा पर्यटकको आगमनमा वृद्धि गराउन सक्ने पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुढालको भनाइ छ ।

उत्तराखण्ड टुरिजम डेभलपमेन्ट बोर्डद्वारा आयोजित उक्त मार्टमा २८ वटा विभिन्न मुलुकबाट सरकारी तथा निजी क्षेत्र सम्बद्ध तीन सय जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्