म्याग्दीमा प्रथम राष्ट्रपति रनिङ कप प्रतियोगिता शुरु



प्रताप बानियाँ, म्याग्दी ।
पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको सदरमुकाम दरबाङ बजारमा प्रथम राष्ट्रपति रनिङ कप प्रतियोगिता सुरु भएको छ । ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने नारासहित मालिका गाउँपालिकाको आयोजनामा पालिकास्तरीय अन्तर माध्यमिक विद्यालय छात्रछात्रा प्रतियोगिता सञ्चालन गरिएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले खेल क्षेत्रको विकासमा प्रदेश सरकारले जोड दिएको बताएकी छिन् । उनले खेलकुदको माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन र खेल पर्यटनको विकासका लागि योजना अगाडि सारिएको बताउँदै हिमाली जिल्ला मुस्ताङमा हाई अल्टिच्युटको रङ्गशाला निर्माण, अन्तर्राष्ट्रियस्तरको खेलमैदान र स्थानीय तहसँगको समन्वयमा खेलकुदका पूर्वाधार विकास गरिने बताइन् । मन्त्री पुनले प्रदेश र स्थानीय सरकार मिलेर खेल क्षेत्रको विकासमा अगाडि बढ्नुपर्ने बताउँदै अनुशासनपूर्वक खेल खेल्न र न्यायपूर्ण तरिकाले खेलाउन खेलाडी र रेफ्रीलाई आग्रह गरिन् ।
जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले खेल क्षेत्रको विकास र विस्तारमा ध्यान दिनुपर्ने बताउँदै उत्कृष्ट खेलाडीहरु उत्पादन गर्नुपर्ने बताए । उनले गण्डकी प्रदेश सरकारले बेनी–दरबाङ सडकखण्डको बेनीदेखि १० किलोमिटर सडकखण्ड कालोपत्रे गर्न ८० करोड र बाबियाचौरदेखि दरबाङसम्म सडक विस्तार तथा स्तरोन्नतिका लागि ७५ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिएका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जिल्ला, प्रदेश र राष्ट्रलाई चिनाउनका लागि खेलकुद क्षेत्रको योगदान महत्वपूर्ण रहेको भन्दै अनुशासनको पालना गरेर खेल खेल्न सुझाव दिएका छन् । मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले ग्रामीण क्षेत्रमा लुकेर रहेका खेल प्रतिभाहरुको प्रतिभा प्रस्फुटन गराउनका लागि प्रतियोगिता आयोजना गरिएको बताउँदै यसले खेल क्षेत्रको विकास, खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताए । गाउँपालिका उपाध्यक्ष खरमाया बिटालुले खेल क्षेत्रको विकासका लागि केन्द्र र प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने बताइन् ।

तीन दिनसम्म चल्ने गाउँपालिकास्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७५ मा गाउँपालिकामा रहेका विभिन्न ११ ओटा विद्यालयहरुले सहभागिता जनाएका छन् । प्रतियोगितामा भलिबल, एथ्लेटिक्स, कबड्डी र दौड प्रतियोगिताहरु आयोजना गरिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः ५० हजार, ३० हजार र १५ हजार रुपैयाँसहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ । यसैगरी विभिन्न विधा अन्तर्गत उत्कृष्ट हुनेहरुलाई नगद १० हजार, सातहजार र पाँचहजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

यसैबीच उद्घाटन खेलमा १५ सय मिटरको छात्र दौडतर्फ जनप्रिय माविका प्रेम श्रीपाली प्रथम, भीम माविका सुजन घर्ती द्वितीय र केबि एकेडेमीका विशाल पुन तृतीय भएका छन् । छात्रातर्फ भीम माविका विमला फगामी प्रथम, केबि एकेडेमीका सङ्गीता गुरुङ द्वितीय र सिद्धार्थ माविका रोजिना थापामगर तृतीय भएका थिए ।

औपचारिक कार्यक्रम सुरु हुनुपूर्व सामुदायिक तथा निजी विद्यालय, जातीय संघसंस्था, जनप्रतिनिधि, स्थानीय, दरबाङ बजारवासी, टोल सुधार समिति र सरोकारवालाहरु लगायतको सहभागी ¥यालीले दरबाङ बजार क्षेत्रको परिक्रमा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्