गण्डकी प्रदेश छनोट शुरू



पोखरा, (नेस)
प्रदेश नं ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि पोखरामा शुक्रबारबाट प्रदेशस्तरीय खेलाडी छनोट प्रक्रिया शुरू गरिएको छ। छनोट खेलमा १० किलोमिटर दौडमा बागलुङका श्याम शेरचनले प्रतियोगिताकै पहिलो स्वर्ण पदक हात पारे। उनले उक्त दूरी ३५ मिनेट २०।४ सेकेन्डमा पूरा गरेका थिए। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा पोखरा रंगशाला शुरू भएको छनोटमा महिलातर्फ १० किलोमिटर दौडमा नवलपुरकी डोलमाया महतोले ४५ मिनेट ५५।३ सेकेन्डमा पूरा गर्दै प्रथम भएकी छन्।

यसै गरी १ सय मिटर दौडमा नवलपुरका प्रकाश रानामगरले ११।३ सेकेन्डमा दूरी पार गर्दै स्वर्ण पदक जिते। महिला १ सय मिटर दौडमा नवलपुरकी कल्पना श्रेष्ठले १४।२ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण हासिल गरिन्। पुरुष १५ सय मिटर दौडमा कास्कीका स्माइल भण्डारीले ४ मिनेट ३२ सेकेन्डमा दूरी पार गर्दै स्वर्ण जितेका छन्। महिलातर्फ कास्कीकी ललिता लामिछानेले ५ मिनेट ४४ सेकेन्डमा दूरी पार गर्दै स्वर्ण पदक हात पारिन्। हाइजम्प पुरुषतर्फ कास्कीका सागर नेपाली र महिलातर्फ कुसुम रानामगरले स्वर्ण पदक जितेका छन्।

प्रतिक्रिया दिनुहोस्