म्यानचेस्टर युनाइटेडको पहिलो हार



लन्डन, (एजेन्सी)
युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा इंग्लिश प्रिमियर लिग क्लब म्यानचेस्टर यूनाइटेड घरमै पराजित भएको छ ।
युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा मंगलबार राति भएको खेलमा पीएसजीसँग २–० ले पराजित भएको हो । पिएसजीलाई जित दिलाउन प्रेस्नेल किम्पेम्बे र किलियन एम्बाप्पेले गोल गरेका थिए । प्रमुख खेलाडी नेयमार र एडिन्सन काभानीबिनै खेलेको पीएसजीले जित आत्मसात गरेको हो ।

खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न नसकेपनि दोस्रो हाफमा फ्रेन्च क्लबले दुई गोल ग¥यो । चोटका कारण युनाइटेडले दोस्रो हाफ सुरु हुँदा दुई खेलाडी परिवर्तन गरेको थियो । जेसी लिङगार्ड र एन्थोनी मार्सियलको स्थानमा एलेक्सिस सान्चेज र जुआन माटा मैदान प्रवेश गरेका थिए । खेलको ५३औं मिनेटमा एन्जल डि मारियाको कर्नरमा किम्पेम्बेले हेडमार्फत गोल गरे । ६० औं मिनेटमा डि मारियाको क्रसमा एम्बाप्पेले गोल गर्दै अग्रता दोब्बर पारे ।

खेलको अन्तिम समयमा युनाइटेड १० खेलाडीमा सिमित हुन पुग्यो । दोहोरो पहेंलो कार्ड पाएपछि पोग्बा मैदान छाड्न बाध्य भए । पोग्बाले दोस्रो लेगको खेल पनि गुमाउनेछन् । यो युनाइटेडको प्रशिक्षक ओले गुुनर सोल्सजरले कार्यवाहकका रुपमा आएपछि पहिलो हार बन्यो । दोस्रो लेग मार्चको पहिलो सातामा पीएसजीको मैदानमा हुनेछ ।

यस्तै अन्तिम १६ को अर्को खेलमा इटालियन क्लब एएस रोमाले पोर्चुगिज क्लब पोर्टोलाई २–१ ले पराजित ग¥यो । रोमालाई घरेलु मैदानमा जित दिलाउन निकोलो जानिओलोले ७०औँ र ७६औँ मिनेटमा गोल गरेका थिए । पोर्टोका लागि एड्रिएन लोपेजले ७९औँ मिनेटमा एक गोल फर्काए ।

प्रतिक्रिया दिनुहोस्