रुपन्देहीको लगातार दोस्रो जित



धनगढी, (नेस)
धनगढीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत रुपन्देही च्यालेन्जर्सले लगातार दोस्रो जित हासिल गरेको छ ।

मंगलबार फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा रुपन्देहीले विराटनगर किंग्सलाई ५ विकेटले हराएको हो । अघिल्लो खेलमा रुपन्देहीको महेन्द्रनगर युनाइटेडमाथि २ रनको रोमाञ्चक जित हासिल भएको थियो । टोलीलाई जित दिलाउन पुनीत मेहराले अलराउन्ड प्रदर्शन गरेका थिए । उनले पहिले बलरमा ३ विकेट लिए भने ब्याटिङमा ४६ रनको योगदान दिएका थिए ।

रुपन्देहीले विराटनगरले दिएको ९४ रनको सहज लक्ष्य ४ विकेट गुमाएर १३.१ ओभरमा भेटाएको थियो । ओपनर सन्दिप सुनार शून्यमा, प्रदीप ऐरी २ रन र विनोद भण्डारी ७ रन बनाएर पवेलियन फर्कदा रुपेन्देही दवावमा पुगेको थियो । तर पुनित र बाबर हयातले चौथो विकेटका लागि ३९ रनको साझेदारी गर्दै ५८ रनको योगफलमा पु¥याए । पुनीतले २७ बलमा २ चौका र ४ छक्का प्रहार गरे पनि ४ रनले अर्धसतकबाट चुकेका थिए ।

यस्तै बाबर हायतले १७ रन योगदान गरे । १२ रनमा नटआउट रहेका भीम सार्कीले १४औं ओभरको पहिलो बललाई बाउन्ड्री कटाएर जित दिलाएका थिए । कप्तान वसन्त रेग्मी ८ रनमा नटआउट रहेका थिए । विराटनगरका लागि उत्कृष्ट बलिङ गरेका अभिनाश यादवले ४ ओभरमा १६ रन खर्चेर १ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले रुपन्देहीका बलर सामु आत्मसमर्पण गरेको थियो । टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९३ रन मात्रै बनाउन सकेको थियो । टोलीका लागि राजेश पुलामी मगरले सर्वाधिक १७ रन जोडे भने असादुल्लाह खान १६ रन, अभिनाश यादव १२ रनमै सीमित भएका थिए । रुपन्देहीका लागि पुनीतले ४ ओभरमा १ मेडनसहित २० रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै वसन्त र ललित भण्डारीले २÷२ हासिल गरेका थिए ।

अत्तरियाको जित
दोस्रो खेलमा सीवाईसी अत्तरियाले धनगढी स्टार्सलाई ५ रनले पराजित गरेको छ । जितमा लागि ९६ रनको लक्ष्य पछ्याएको धनगढीले २० ओभरमा ९ विकेटको क्षतिमा ९० रनमात्र जोड्न सक्यो । अन्तिम ओभरमा जितका लागि १८ रन आवश्यक परेको स्थितिमा राजु रिजालले कमलसिंह ऐरीको ओभरमा १२ रनमात्र जोड्न सके । उनले पहिलो बलमा चौका, तेस्रोमा छक्का र पाँचौ बलमा २ रनमात्र बनाए । अन्य बलमा रन बनेन । राजु २६ बलमा २६ रनमा नटआउट रहेका थिए ।

यो धनगढीको दोस्रो लगातार हार थियो । अघिल्लो दिनको खेलमा धनगढीलाई काठमाण्डौं गोल्डेन्सले पराजित गरेको थियो । अत्तरियाको भने यो पहिलो खेलमै जित थियो । जबकी टोलीका लागि सन्नी पटेलले आक्रमक ब्याटिङ गर्दै व्याटिङ उकासेका थिए । उनले ३५ रनको योगदान दिए । बलिङमा धनगढीलाई जितबाट वंचित गर्न अत्तरियाका लागि भुवन कार्कीले ४ ओभरमा मात्र १० रन खर्चेर ४ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्