अख्तियारको नियन्त्रणमा आएका असइ फरार



महोत्तरी, दश हजार रुपैयाँसहित रङ्गेहात अख्तियारको नियन्त्रणमा लिइएएका महोत्तरीका एक प्रहरी सहायक निरीक्षक(असइ) फरार भएका छन् । आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिवासबाट खटिएको टोलीले रङ्गेहात नियन्त्रणमा लिएका महोत्तरी औरही प्रहरी चौकीका असइ रामनरेश साह फरार भएका छन् ।

औरहीस्थित नवदुर्गा सःमिलबाट अख्तियारको टोलीले नियन्त्रणमा लिए तापनि स्थानीयवासी अवरोध गर्दा प्रहरी सहायक निरीक्षक साह अख्तियारको नियन्त्रणबाट भागेका हुन् ।

महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जनाएअनुसार असइ अहिले सम्पर्कविहीन रहेको र औरहीमा सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ । अख्तियारको फन्दाबाट फरार भएका असइ साहलाई खोजी कार्य तीव्र रुपमा अगाडि बढाइएको प्रहरी उपरीक्षक कार्कीले जनाएका छन् ।

बर्दिबासस्थित कार्यालयबाट गएको पाँच÷छ जनाको टोलीले प्रहरी चौकीमा कार्यरत असइ साह र नवदुर्गा सःमिलका सञ्चालक दिनेश साहलाई नियन्त्रणमा लिएलगत्तै स्थानीयवासीले अवरोध गरेका थिए । हाल दुवै जना नियन्त्रणबाहिर रहेको प्रहरी स्रोतले जनाएको छ । अख्तियारको टोलीसँग गएका प्रहरीले सःमिलमै गई त्यसका सञ्चालक दिनेश साह र असई साहलाई नियन्त्रणमा लिएको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्