३ महिनादेखि बैतडी जिल्ला नर्सविहीन



विनोद सिंह विष्ट, बैतडी ।
बिगत तिन महिनादेखि नर्स नहँुदा बैतडी जिल्लामा प्रसुती सेवा प्रभावित हुदै आएको छ । चार जना स्टाफ नर्सको दरबन्दी भएको जिल्ला अस्पताल गएको कात्तिक महिनादेखि नर्स विहिन छ ।

अस्पतालमा हाल एकजना पनि स्टाफ नर्स नहुँदा प्रसुती सेवा प्रभावित भएको अस्पतालका प्रमुख डा. जगदीशचन्द्र बिष्टले बताउनुभयो । जटील खालको प्रसुती सेवा दिन स्टाफ नर्स तालिम प्राप्त हुन्छन् । तर अस्पतालमा एकजना पनि नर्स छैनन् । उहाँले भन्नुभयो “ गर्भवतीको अल्ट्रासाउण्ड सेवा पनि म नभएको बेला ठप्प हुन्छ ,अल्ट्रासाउण्ड गर्ने तालिम प्राप्त नर्सको सरुवा भएपछि सेवा दिनै गाह्रो भएको छ”

जिल्ला अस्पतालमा जटीलतायुक्त प्रसुती सेवा पनि उपलब्ध छ अर्थात अप्रेशन गरेर बच्चा जन्माउने महिलाहरुको लागि सेवा उपलब्ध छ । तर नर्सको अभावमा सो सेवा समेत प्रभावित हुने गरेको डाक्टर बिष्टले बताउनुभयो । उहाँले भन्नुभयो ‘अप्रेशनका लागि डाक्टरको सहयोगीको रुपमा स्टाफ नर्सहरुले काम गर्नुहुन्छ । हामी टीम मिलेर अप्रेशन गर्ने हो । तर स्टाफ नर्स नै नहुँदा अनमी र म मिलेर अप्रेशन गरिरहेका छौं । जटील खालका केसहरुलाई टेकल गर्न समस्या हुन्छ ।’

डा. बिष्ट अस्पतालमा नभएको बेला गर्भको अल्ट्रासाउण्ड गर्न पुग्नेहरु रित्तो हात फर्किने गरेका छन् । अल्ट्रासाउण्ड गर्ने तालिम प्राप्त नर्सहरुको सरुवा भएपछि अस्पतालले प्रदान गर्ने सेवा प्रभावित भएको हो । ‘डाक्टरहरुको पनि तीनजनाको दरबन्दी हो । तर म एक्लै छु । काम बिशेषले बाहिर जाँदा अल्ट्रासाउण्ड सेवा र अप्रेशन गरेर बच्चा जन्माउनुपर्ने सेवा पूर्ण रुपमा अवरुद्ध हुने गरेको छ । यसले गर्दा स्थानीयहरुलाई असहज भएको छ ।’

जिल्ला अस्पताल बैतडीमा जटीलतायुक्त प्रसुती सेवा लिनका लागि बैतडीका मात्रै नभएर छिमेकी जिल्ला दार्चुलाका विभिन्न स्थानका सेवाग्राही पनि आउने गरेका छन् । तर स्टाफ नर्स र डाक्टरको अभावमा अस्पतालले सेवा प्रदान गर्न नसकिरहेको डा. बिष्टले बताउनुभयो ।
जिल्ला अस्पतालमा मात्रै नभएर प्राथमिक स्वास्थ्य केन्द्र पाटन र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा स्टाफ नर्सको दरबन्दी खाली छ । एक एकजना स्टाफ नर्स भएका दुवै स्वास्थ्य केन्द्रमा स्टाफ नर्स नभएको डा. बिष्टले बताउनुभयो । स्टाफ नर्स नहुँदा उपचार सेवा र परामर्श सेवा प्रभावित भएका उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले विभागलाई स्टाफ नर्स नभएको बारेमा जानकारी गराईसकेका छौं । तर पदपूर्ती कहिले हुने हो ? केही थाहा छैन् ।’

कर्मचारी समायोजनपश्चात स्टाफ नर्स आउनसक्ने अस्पताललले जनाएको छ ।
जिल्ला अस्पतालमा डाक्टर र नर्सको अभाव हुँदा बैतडीबासीले उपचारका लागि डडेल्धुरा, धनगढी तथा सीमावर्ती भारतीय शहर पिथौरागढ जानुपर्ने बाध्यता छ । ‘स्वास्थ्य सेवालाई स्थानीय तहमा हस्तान्तरण गरेपछि झन् समस्या भएको छ । जताततै कर्मचारीको अभाव छ ।

सानोतिनो बिरामीका लागि पनि भारतीय शहर जानुको विकल्प छैन् ।’ दोगडाकेदार ३ श्रीकोटका राम विष्टले भन्नुभयो, ‘स्थानीस्तरमा भएका अस्पतालहरुको स्तरोन्नती गरि दरबन्दी अनुसारका डाक्टर र नर्सको पूर्ती गर्ने तर्फ सरकारले ध्यान दिनुपर्छ । नत्र हामीले उपचारका लागि हजारौं रुपैया भारतमा तिर्नुपरीरहेको छ ।’

यस्तै तीनजना डाक्टरको दरबन्दी भएको अस्पतालमा एकजनाले मात्रै काम गर्नुपरीरहेको छ । स्टाफ नर्स र डाक्टरको पदपूर्तीका लागि स्वास्थ्य सेवा विभागमा जानकारी गराएको भएपनि अहिले सम्म पदपूर्ती हुन नसकेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्