राष्ट्रिय गौरवका आयोजनामा अवरोध नहोस्



राष्ट्रिय गौरवका आयोजना मध्यपहाडी लोकमार्ग र दक्षिण क्षेत्रलाई जोड्ने कालिगण्डकी कोरिडोर बेला–बेलामा चर्चामा आइरहन्छन् । पछिल्लो समय कालिगण्डकी कोरिडोरको मालढुंगा–बलेवा खण्डको स्तरोन्नतिको काम शुरु भएको छ । मन्त्रीहरु नै आएर थालनी भएकोले यो चर्चामा आयो । यता मध्यपहाडी लोकमार्गमा भने विभिन्न बहानामा अवरोध सिर्जना भएपछि चर्चा शुरु भएको छ । आगामी वैशाख–जेठभित्रै कालोपत्रे गर्ने तयारीका साथ काम गरिरहेको ठेकेदार कम्पनीले सडकमै अवरोध भोगेको हो । यो घटनाले प्रायः ठेकेदारले काम गर्दैनन् भन्ने विश्वास विपरीत काम गर्न नदिएको समेत स्पष्ट भएको छ ।

मध्यपहाडी लोकमार्गको घोडाबाँधेदेखि बुर्तिबाङसम्मको सबै खण्ड कालोपत्रे भैसकेको छ । बागलुङ बिहुँ घोडाबाँधे खण्डको कामलाई तीव्रता दिइरहेको ठेकेदार कम्पनीले अवरोधका कारण काममा ढिलाइ भोग्नु भने राम्रो पक्ष होइन । हामीसँग प्रशस्त उदाहरण छन् । चाहे जिल्ला प्रशासन कार्यालयको भवन निर्माण होस् वा अञ्चल अस्पतालको भवन निर्माण नै किन नहोस्, स–साना अवरोधका कारण देखाएर निर्माण कम्पनीहरुले काममा ढिलाइ गरेका । यो सडकमा भने ठेकेदारभन्दा सरकारी संयन्त्रको बेवास्ता र सरकारी संस्थाहरुकै लापरबाहीले ढलाइ हुने देखिएको छ । आयोजनाले वितरण गर्नुपर्ने मुआब्जा नदिएकोले भत्काउनुपर्ने घरले काममा समस्या छ । यो समस्या निर्माण कम्पनीले भन्दा पनि आयोजनाले तत्काल समाधान गर्नुपर्ने समस्या हो ।

सडक विस्तार गर्दा प्रभाव पार्ने बिजुली, पानीका पाइपलगायतका अत्यावश्यक कुराहरुमा प्रभाव पर्ने देखेर आयोजनाले पहिले नै सम्बन्धित पक्षलाई सडकको क्षेत्रबाट विद्युत्का पोल र पानीको पाइप हटाउनका लागि निश्चित रकम उपलव्ध गराइसकेको छ । रकम बुझेर आवश्यकताभन्दा धेरै खर्च गर्ने र थप रकमका लागि बार्गेनिङ गर्ने गरेका कारणले पनि काममा समस्या भएको हो । सडक बनाउँदा अरु बनेका संरचना भत्काउनुपर्छ वा कुनै ख्याल गरिनुपर्दैन भन्ने होइन तर सडक, पानी, बिजुली र बनेका घर सबै आमसर्वसाधारणको लागि अति आवश्यक पूर्वाधारहरु भएका कारण एक–आपसमा समन्वय, समझदारी र सहकार्यमार्फत काम अघि बढाइनु आवश्यक छ । सानातिना बहानामा काम नै रोकिने गरी राष्ट्रिय गौरवको आयोजनालाई प्रभावित गरिनु अनुचित हो ।

आयोजनाको प्रभावित क्षेत्रमा देखिएको विवाद समाधान गर्न स्थानीय सरकार र सम्बन्धित आयोजनाको समेत चासो देखिनु आवश्यक छ । भत्काउनुपर्ने घरहरुलाई तत्काल मुआब्जा दिलाउने काममा आयोजना लाग्नुपर्छ । प्रभावित क्षेत्रमा रहेका विद्युत् प्रसारण लाइनलाई व्यवस्थापन गर्न लाग्ने खर्चको लेखाजोखा गरेर त्यसको क्षतिपूर्ति वा स्थानान्तरणका लागि आवश्यक बजेटको व्यवस्थापन तत्काल गर्ने, खानेपानीको पाइप व्यवस्थापनमा एक–आपसमा छलफल र समझदारी गरेर बढ्नुपर्नेछ । निर्माण कम्पनीले द्रुत गतिमा कामलाई अघि बढाउने वातावरण सिर्जना गर्नुपर्छ । बहानाबाजीमा लोकमार्गको बाँकी रहेको खण्ड कालोपत्रेको काम समयमा सकिएन भने यहाँका सबै क्षेत्रमा प्रभाव पर्छ नै, त्यसको सबैभन्दा ठूलो प्रभाव आर्थिक क्षेत्रमा देखा पर्नेछ । सडक कालोपत्रेको काम कुनै निर्माण कम्पनीको नभई आम बागलुङवासीको सहजताको लागि हो भन्ने हेक्का राखेर अहिले रहेका अवरोध हटाउन प्रशासनिक पहलसमेत थालिनुपर्ने बेला भएको छ ।
– राकेश सुवेदी, पर्वत ।

प्रतिक्रिया दिनुहोस्