यमनको खाद्यान्न कुहिने खतराः राष्ट्रसंघ



यमन ।

यमनको युद्ध प्रभावित नागरिकका लागि संयुक्त राष्ट्रसङ्घ विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले पठाएको खाद्यान्न सहयोग लक्षित समुदायमा पु¥याउन समस्या आएका कारण कुहिने अवस्था आएको यमनका लागि राष्ट्रसङ्घीय विशेष दूतले सोमबार बताएका छन् ।

त्यसो त यमनमा खाद्यान्न अभावमा लाखौँ मानिसले आधा पेट खाएर दिन विताइरहेको खबरले जो कोहीलाई दुःख लाग्नसक्छ । यमनको पश्चिमी बन्दरगाह शहर होडेइडामा रहेको रेड सी मिल्स भण्डार गृहमा एक महिनाका लागि दशौँ लाख मानिसलाई पुग्ने सामान छ । तर उक्त सामान सहयोगी संघसंस्थाको पहुँचमा नहुँदा राहत कार्यक्रम प्रभावित बनेको छ ।

यमनका लागि राष्ट्रसङ्घीय विशेष दूत मार्टिन गिफ्रिथले चिन्ता व्यक्त गर्नुभयोे, “डब्लुएफपीको खाद्यान्न भण्डार शिविरमा एक महिना ३७ लाख नागरिकलाई पुग्ने खाद्यान्न छ तर यो विगत पाँच महिनासम्म लक्षित क्षेत्रमा पठाउन सकिएको छैन र कुहिने अवस्थामा पुगेको छ ।”

“ हाम्रो विचारमा खाद्यान्न सहयोगलाई लक्षित समुदायमा पु¥याउने काम यमनमा द्वन्द्वरत पक्षहरूको हो ।”
होडैडा र खाद्यान्न भण्डार सन् २०१४ देखि यमनी हुथी विद्रोही, जसले यमनको ठूलो क्षेत्रलाई कब्जामा लिएका छन्, को हातमा छ ।

विद्रोहीविरूद्ध तत्कालिन सरकार सहाराविहिन बनेपछि साउदी अरब नेतृत्वको गठबन्धन सेनाले यमनको सरकारलाई सहयोग गरेर राज्य कब्जा हुनबाट सन् २०१५ मा बचाइएको थियो । उक्त गठबन्धनले कारबाही तीब्र नपारेपनि यमनबाट फर्केको छैन ।

राष्ट्रसंघले विश्वकै भयावह स्थिति देखेको यमनमा भएको द्वन्द्वका कारण करिक एक करोड यमनी खाद्यान्न अभावबाट गुज्रिरहेका छन् । उनीहरूले चरम खाद्यान्न अभावको सामना गरिरहेका छन् तर खाद्यान्न कुहिने अवस्थामा पुग्नु थप चिन्ताको विषय बनेको छ ।

राष्ट्रसंघ सहयोग कार्यक्रम प्रमुख मार्क लकक तथा यमनका लागि राष्ट्रसंघीय विशेष दूतले सोमबार एक संयुक्त विज्ञप्ति जारी गरीसहयोग आपूर्ति गर्न विद्रोहीलाई बाटो खोलिदिन आग्रह गरेका छन् ।

गत बिहिबार पनि हुथी विद्रोहीलाई नागरिकको समस्यामा जिम्मेवार बन्न र खाद्यान्न कुहुने अवस्थाबाट जोगाउन आग्रह गरेपनि युद्धविराम क्षेत्रको अग्रभाग पार गरेर अघि बढ्न उनीहरूले सहमति दिएका छैनन् । यमनमा सन् २०१५देखि अहिलेसम्म करिब १० हजार मानिसको द्वन्द्वका क्रममा मृत्यु भएको विश्व खाद्य संगठनको तथ्याङ्क छ । तर अन्य अधिकारवादी समूहले तथ्याङ्कभन्दा द्वन्द्वका कारण मृत्यु हुनेको सङ्ख्या अत्यधिक रहेको बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्