जुनसुकै क्षेत्रमा भ्रष्टाचारको जालो



हेटौंडा ।
भ्रष्टाचारको अर्थ भ्रष्ट (गलत) आचार भन्ने हो । सार्वजनिक प्रशासन तथा सेवा र अन्य जुनसुकै पनि काममा ऐन–नियमविपरीत चल्नुलाई भ्रष्टाचार भनिन्छ ।

पूर्णरुपमा भ्रष्टाचारमुक्त प्रशासनिक अबस्था नै सुशासन हो । सुशासन, समाज तथा राष्ट्रको उन्नतिका लागि आदर्श शव्द हो भने भ्रष्टाचार यसको विपरीत समाज तथा राष्ट्रको उन्नतिलाई धराशयी बनाउने नैतिकता भ्रष्ट कुरुप शव्द हो ।

भ्रष्टाचार नियन्त्रणको अर्थ सुशासनको प्रत्याभूति हो । जहाँ भ्रष्टाचार नियन्त्रित हुन्छ र सुशासनको पूर्ण प्रत्याभूति हुन्छ, त्यहाँ लोकतन्त्र बलियो र प्रभावकारी हुन्छ । फलस्वरुप, समाजमा शान्ति र प्रगतिको आदर्श दियो बल्छ, जसको शालिन, सौम्य प्रकाशमा देश र दुनियाँको मुहार मुस्कुराहट भएर उन्नति–सभ्यताले झाँगिएको देख्न सकिन्छ ।

लामो समयदेखि निरंकुश शासन चलाएको राजतन्त्र आज एकादेशको कथा बन्न पुगेको छ । तर, मौखिकरुपले हामीले जतिसुकै गणतान्त्रिक महात्म्य पाठ गरे पनि भ्रष्टाचारको गहन जालो उत्तिकै झाँगिएकै अबस्थामा छ ।

लोकतान्त्रिक गणतन्त्र भए पनि जनताले सुशासनको प्रत्याभूति पाइरहेका छैनन् । मुलुकबाट भ्रष्टखोर र घुसखोरहरु झन् मौलाइरहेका छन् । त्यसैले, आज पनि यहाँ व्यक्तिभन्दा कानुन बलियो हुनुको सट्टा कानुनभन्दा व्यक्ति शक्तिशाली भएका छन् ।

नेपाल विश्वमै भ्रष्टाचारयुक्त देशमध्ये पर्दछ । ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार सूचकांकको वार्षिक प्रतिवेदनमा संसारका १ सय ८० देशमध्ये नेपाल १ सय ४३ औं स्थानमा थियो । यसबाट के स्पष्ट हुन्छ भने हाम्रो देश अन्य विकासका क्षेत्रमा जतिसुकै पछाडि भए पनि भ्रष्टाचारको क्षेत्रमा चाहिं अग्रणी हुँदै गएको छ । तथ्यांकले दखाउँछ कि, नेपालमा भ्रष्टाचार तीव्रगतिले बढिरहेको छ ।

यही तथ्यलाई दृष्टिगत गर्दै प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले जुनसुकै क्षेत्रमा पनि भ्रष्टाचारको जालो रहेको बताउनुभएको छ । भ्रष्टाचारको जालो तोड्न गाह्रो भए पनि सबै मिलेर भ्रष्टाचार न्यूनीकरणमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडास्थित कार्यालयको आयोजनमा २८ औं अख्तियार स्थापना दिवसको हेटौंडामा उद्घाटन गर्दै उहाँले ‘भ्रष्टाचार गर्दिनँ’ भनेर आफंैबाट प्रण गर्नुपर्ने बेला आएको बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले प्रदेशमा भ्रष्टाचारीलाई कुनै स्थान नभएको बताउनुभयो । सरकारले भ्रष्टाचार न्यूनीकरण तथा सुशासनको पक्षमा काम गरिरहेको भन्दै भ्रष्टाचार नियन्त्रणका लागि कडा कदम चालिने उहाँले बताउनुभयो । उहाँले रकम लेनदेनमात्र भ्रष्टाचार नभएर तोकिएको समयभर कार्यालयमा रहेर कार्यसम्पादन नगर्नु पनि भ्रष्टाचार रहेको बताउनुभयो । सबै पक्ष मिलेर भ्रष्टाचार न्यूनीकरणमा लाग्नुपर्ने भन्दै उहाँले अख्तियारको कामलाई सघाउनुपर्ने औंल्याउनुभयो ।

हालसम्म प्रदेश सरकारको अनुभूति नभएको बताउँदै उहाँले अधिकार नपाउँदा समस्या भएको गुनासो गर्नुभयो । प्रदेश सरकारको कामका विषयमा एक÷दुई÷तीन भनेर जानकारी दिन नसकिए पनि आत्मसन्तुष्टि हुने गरी काम भइरहेको उहाँको दाबी छ । साधनस्रोत र ऐनकानुन अभावमा पनि काम धेरै गरिएको मुख्यमन्त्री पौडेलले दाबी गर्नुभयो ।

प्रदेशका प्रमुख सचिव आनन्दराज ढकालले भ्रष्टाचारविरुद्ध प्रदेश सरकारले रणनीति तयार गरेको बताउनुभयो । अख्तियारलाई हरेक क्षेत्रबाट काममा सहयोग गरे सुशासन कायम हुने उहाँले बताउनुभयो । प्रमुख सचिव ढकालले सबैलाई ऐननियमको परिधिभित्र रहेर काम गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–भ्रष्टाचारीले प्रविधि दुरुपयोग गरेर वा देशको सीमापारि गएर आर्थिक लेनदेन गरेको पाइएकोले त्यसलाई तत्काल नियन्त्रण गर्नु आवश्यक छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा प्रमुख होमकला पाण्डेले एक वर्ष अवधिमा भ्रष्टाचारका एघार वटा स्टिङ अपरेसनमा १५ जनालाई पक्राउ गरिएको बताउनुभयो । पाण्डेले भ्रष्टाचार नियन्त्रण गर्न प्रमुख आयुक्तको नेतृत्वमा अनुसन्धान टोली गठन भएको जानकारी दिँदै भ्रष्टाचार नियन्त्रणमा नागरिक परिचालनमा जोड दिइएको बताउनुभयो ।

भ्रष्टाचार मानवविकासका लागि सबभन्दा ठूलो शत्रु भएको र यसले विधि तथा सुशासनलाई अवमूल्यन गर्दै आएको वक्ताहरुले बताए । यसले बजारलाई अव्यबस्थित बनाएको, उपभोग्य वस्तुको मूल्यवृद्धि गरेको, जीवनको गुणस्तरमा ह्रास ल्याएको, सामाजिक सेवाहरुमा जनताको सहज पहुँच अवरुद्ध गर्दै सार्वजनिक पूर्वाधार, सार्वजनिक संस्था र सामाजिक सेवामा लगानी हुने स्रोत अन्यत्र स्थानान्तरण गरेर विकास लक्ष्यलाई हासिल गर्ने कार्यमा व्यबधान खडा गर्न खोजेको उनीहरुले बताए ।

यसले मुख्य गरेर महिला, गरिब, सीमान्तकृत, आर्थिकरुपले असहाय वर्गलाई गम्भीर असर गरेको भन्दै उनीहरुले भने–अर्काेतर्फ, राज्य संयन्त्रमा हुने नीतिगत भ्रष्टाचारले देश विकास र समृद्धिमा अवरोध खडा गर्नुका साथै दातृसंस्था तथा मित्र राष्ट्रबाट पाइने सहयोगमा विचलन ल्याउन खोजेको छ ।

बारा, पर्सा, चितवन र मकवानपुरका जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, भ्रष्टाचार नियन्त्रणका अभियन्ता तथा पत्रकार महासंघ जिल्ला अध्यक्षहरुको सहभागिता रहेको कार्यक्रममा जिल्ला समन्वय समिति बारा प्रमुख नवलकिशोर सिंह, चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, भ्रष्टाचारविरुद्ध अभियन्ता भीमबहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष प्रताप बिष्ट र अख्तियार उपसचिव देवकुमार राईलगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्