पशुमा खोरेत रोगको प्रकोप



मनोज भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरको बेलौरीका केही ठाउँका पशुहरूमा खोरेत रोगको प्रकोप देखिएको छ । यस क्षेत्रका पशुमा महामारीकै रूपमा खोरेत रोगको संक्रमण फैलिएको छ । सिद्धबाबा गाईपालन फार्ममा रहेका गाईहरू मध्ये करिब ३ दर्जन भन्दा बढी गाईहरूमा खोरेत देखिएको फार्मका सञ्चालक हिरा सिंह बिष्टले बताए ।

त्यस्तै यहाँका अन्य घरपालुवा पशुहरूमा पनि खोरेत रोग देखिएको छ । यस विषयमा पशु सेवा शाखामा बारम्बार आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको बिष्टको गुनासो छ ।

तर पशु सेवा शाखा बेलौरीका प्रमुख शेर बहादुर थापाले बेलौरी नगर क्षेत्र भित्र खोरेत रोगको प्रकोप भएका पशुहरूको पहिचान गरि उपचार गर्ने कार्य जारी रहेको बताउनुभयो । बेलौरी नगरपालिकाले पनि नगर परिधिभित्रका पशुहरूमा रिङ भ्याक्सिन लगाउने गरि तयारी गरिरहेको शाखा प्रमुख थापाले बताउनु भएको छ ।

सिद्धबाबा गाईपालन फार्मका सन्दर्भमा उहाँले भन्नुभयो, ‘पशु सेवा शाखाबाट दुई पटक फार्ममा नै पुगेर सक्दो उपचारात्मक सेवा उपलब्ध गराइएको छ । तर समय, सामग्री र जनशक्ति अभावले गर्दा फार्महरुले चाहेजती सेवा दिन सकिएको छैन ।’

यहाँ पालिएका पशुमध्ये विशेषगरी गाई, भैैँसी र बाख्रामा संक्रमण बढी देखापरेको छ । अन्यत्रबाट पशुहरू भित्र्याउदा प्राविधिक चेकजाँच गरेर मात्रै ल्याउन उहाँले आग्रह गर्नुभएको छ । पशुहरूलाई बेलाबेलामा खोरेत विरुद्धको भ्याक्सिन लगाइयो भने यो रोग लाग्नबाट पशुलाई बचाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्