म्याग्दीको तातोपानी कुण्डमा बाथटप र पोखरी थपियो(फोटोफिचर)



प्रताप बानियाँ, म्याग्दी ।
तातोपानी कुण्डमा नुहाउन आउने बिरामीहरुको चाप बढेपछि ‘बाथटप’ र पोखरी थप गरेर सञ्चालनमा ल्याइएको छ । प्राकृतिक चिकित्सालयको रुपमा चिनिएको म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित रहेको तातोपानी कुण्डमा बाथटप र पोखरी सञ्चालन गरिएको हो ।

कुण्डमा स्नान गर्न आउने बिरामीको चापलाई मध्यनजर गरेर तीनवटा बाथटप क्याबिन र थप एउटा पोखरी निर्माण गरी सञ्चालन गरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । तातोपानी कुण्डको नजिकै बाथटप क्याबिन र कुण्डभन्दा बाहिर धारा नजिकै डुबुल्की मार्नका लागि एउटा पोखरीको निर्माण गरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले बताउनुभयो ।

बाथटपमा एकपटकमा तीन जनाले नुहाउन सक्ने क्षमताको तीनवटा क्याबिन रहेका छन् । बाथटप क्याबिनमा नुहाउनका लागि समितिले एक घण्टाको दुईसय रुपैयाँ शुल्क तोकेको छ भने साबुन र टाबेलको व्यवस्था गरिएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष शाक्यले जानकारी दिनुभयो । तीनवटा बाथटप क्याबिनभित्र छुट्टाछुट्टै कोठामा बसेर एक्लै डुबुल्की मार्दै नुहाउन सकिन्छ । कुण्डमा महिलाको पालोमा महिला र पुरुषको पालोमा पुरुषलाई मात्र बाथटपमा नुहाउने व्यवस्था मिलाइएको अध्यक्ष शाक्यको भनाइ छ ।

यसैगरी कुण्ड बन्द भैसकेपछि, कुण्डमा भीडभाड भएमा, महिला र पुरुषको पालो छुट्टाछुट्टै परेमा, रिजर्भमा नुहाउन चाहेमा वा अध्ययन अवलोकन तथा भ्रमणमा आउने टोलीलाई लक्षित गरेर कुण्डभन्दा बाहिर स्नान पोखरी थपिएको छ । कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले दिएको जानकारी अनुसार तातोपानी कुण्डको मुहानबाट पानी ल्याएर सङ्कलन गरी स्नान गर्ने व्यवस्था मिलाइएको उक्त पोखरी १२ मिटर लम्बाई र १२ मिटर चौडाइको छ । कुण्डमा अहिले दैनिक झण्डै ८ सय जनाले नुहाइरहेका छन् ।

कुल पाँचलाख रुपैयाँको लागतमा निर्माणसम्पन्न गरिएको बाथटप र पोखरी निर्माणमा कुण्ड व्यवस्थापन समितिले तीनलाख रुपैयाँ लगानी गरेको छ । त्यस्तै उक्त बाथटप क्याबिन तथा पोखरी निर्माणमा बेनीका क्याप्टेन केशवप्रसाद गौचनले एकलाख, रुपन्देही निवासी हिराबहादुर गौतमले ५० हजार एकसय र काठमाडौंका तेजिन्द्र खड्काले ५० हजार रुपैयाँ सहयोग गरेको कुण्डका अध्यक्ष शाक्यले बताउनुभयो । तातोपानी कुण्डमा पछिल्लो चरणमा पूर्वाधार निर्माणमा जोड दिइएको छ ।

नेपालीका साथै विदेशी पर्यटक तथा बिरामीहरु पनि तातोपानी कुण्डमा स्नान गर्न आउने गरेका छन् । कुण्डभन्दा बाहिर रहेका तातोपानीका धाराहरु २४सै घण्टा खुला राख्ने गरिएको छ । जमिन मूनिबाट ४८ डिग्री सेन्टीग्रेटको तापक्रममा बिरेनुनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्याँस्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाई, सड्केको, मर्केको, बज्रिएकोसहित चिसोका कारणबाट उत्पन्न सबै प्रकारका रोगहरु निको हुने जनविश्वास रहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्