धेरै सन्तान जन्माउन आह्वान गरेको बयानले जापानी मन्त्री विवादमा



टोक्यो (एजेन्सी)
जापानका उपप्रधानमन्त्री तारो आसोको एक बयान विवादास्पद बनेको छ । उनले देशमा बढ्दो बृद्ध आवादी र घट्दो जन्मदरका लािग महिला दोषी भएको बताएका थिए ।

उनले देशमा समस्या बृद्धबाट नभएर बच्चा नजन्माउने महिलाबाट भइरहेको बताएका थिए । जापानमा बृद्धहरुको आवादी धेरै बढेको र यो स्थिति जन्मिने बच्चाको संख्या कम भयो भने गम्भिर हुने आसोले बताए । आसो जापानका अर्थ मन्त्री पनि हुन् ।

आसोको उक्त विवादास्पद बयानको विपक्षले कडा विरोध गरेका छन् । उप प्रधानमन्त्रीको बयान महिला प्रति असंवेदनशिल भएको बताएका छन् । देशमा बच्चा चाहने धेरै जोडी छन् तर उनीहरु विभिन्न कारणले असमर्थ छन् । विपक्ष सधैँ आसोलाई रुढिवादी नेता मान्छन् र उनले प्राय महिला विरुद्ध बयान दिइरहेका हुन्छन् ।

विपक्षीको विरोधपछि आसोले माफी माग्दै आफनो बयान फिर्ता लिएका छन् । ७८ बर्षिय तारो आसोले आफनो बयानलाई सन्चार माध्यमले तोडमरोड गरि प्रस्तुत गरेको बताएका छन् । आफुले देशमा घट्दो जन्मदर र जापानको स्वास्थ्य अर्थ ब्यवस्थाका विषयमा सरल तरिकाले बताउने प्रयास मात्र गरेको उनले बताए ।

केही तथ्यांक उल्लेख गर्दै सन् २०१८ मा जापानको जनसंख्या किर्तिमान ४ लाख ४८ हजारले कम भएको दर्ता रहेको आसोले जानकारी दिए । उक्त बर्ष ९ लाख २१ हजार बच्चाको मात्र जन्म भएको र यो विगत एक सताब्दीको सबैभन्दा कम भएको उनले बताए । बृद्धहरुको बढ्दो स्वास्थ्य खर्च र युवा जोडीमा बढ्दो कामको भार आगामी समयमा विश्व स्तरमा ठुलो समस्या बन्ने आसोले चेतावनी दिए ।

सत्तारुढ लिबरल डेमाक्र्याटिक पार्टी (एलडीपी)का महासचिव तोशिहिरो निकाईले पनि देशका युवा विरुद्ध यसतै प्रकृतिको बयान दिइसकेका छन् । उनले सन् २०१८ मा सन्तान नजन्माउने निर्णय गरेका जोडी सबैभन्दा ठुलो स्वार्थी भएको बताएका थिए ।

विशेषज्ञहरु जापानमा घट्दो जन्मदरका लागि त्यँहाका केही निति तथा नागरिकहरुको जीवनशैली भएको बताउँछन् । जापानका बच्चाको पालन पोषण अत्यन्तै महँगो छ । देशमा बाल कल्याण प्रावधानको कमी र कामको भार सबै भन्दा ठुलो समस्या भएको विज्ञहरुले बताए ।

दुई महिना अगाडी एलडीपीका सांसद कांजी कातोले भेनेका थिए, महिलाले कम्तिमा ३ बच्चा जन्माउनु पर्छ । उनले विवाह गरेर पनि एक्लै बस्न रुचाउने र सन्तान नजन्माउनेहरु देशका लागि बोझ भएको बताएका थिए । त्यसैगरी सन् २००७ मा स्वास्थ्य मन्त्री हाकुओ यानागिसावाले महिलालाई बच्चा जन्माउने मेसिन बताएका थिए । महिलाको सार्वजनिक कर्तब्य भनेको धेरै बच्चा जन्माउनु र देशको जन्मदर बढाउने कार्यमा सहयोग पुर्याउनु भएको स्वास्थ्य मन्त्रिीले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्