प्रधानसेनापति खुला म्याराथन हुने



काठमाडौं, नेस

नेपाली सेनाको सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रको आयोजनामा प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता २०७५ हुने भएको छ ।

सेना दिवसको अवसरमा ‘रन फर फन’ भन्ने मूल नारा रहेको उक्त प्रतियोगिता आगामी फागनु १८ गते आयोजना गरिने सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रका केन्द्रपति शशीकिरण रायमाझीले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएका हुन् ।

प्रतियोगितामा विभिन्न पाँच विधामा प्रतिस्पर्धामा हुनेछ । प्रतियोगिताको फुल म्याराथन अन्तर्गत ४२.१९५ किलोमीटर, हाफ म्याराथन महिला–पुरुष तथा ४५ वर्षमाथि उमेर समूहको दौड, १० किमि दौड, पाँच किमिको वाकाथन र सैनिक विद्यालयका छात्रछात्राको लागि पाँच किमिको दौड हुनेछ ।

फुल म्याराथनमा पुरुष खेलाडीले मात्र सहभागिता जनाउनेछन् भने हाफमा ४५ वर्षमाथिका महिला तथा पुरुष खेलाडीले भाग लिनेछन् । त्यसैगरी १० किमि दौडमा विदेशी सैनिक सहचारी (महिल–पुरुष) र सैनिक अधिकृतको सहभागिता रहनेछ ।

पाँच किमि वाकाथनमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, निजामती उच्च पदाधिकारी र आमन्त्रित व्यक्तित्वको सहभागिता रहनेछ भने पाँच किमी दौडमा सैनिक विद्यालयका छात्र÷छात्रा, सकल दर्जाका छोरा छोरीले भाग लिनेछन् ।

म्याराथनमा पहिलो हुने खेलाडीले रु एक लाख २५ हजारसहित १५० सिसिको बजाज कम्पनीको मोटरसाइकल पाउनेछ । त्यस्तै दोस्रोले रु ६५ हजार, तेस्रोले रु ३५ हजार, चौथोले रु २५ हजार, पाँचौले रु १५ हजार, छैटौंले रु १० हजार र सातौं हुने खेलाडीले रु पाँच हजार पाउने छन् ।

हाफ म्याराथन अन्तर्गत ४५ वर्ष उमेर समूहका पहिलो दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु ५० हजार, रु ३५ हजार र रु २५ हजार पाउनेछन् भने ४५ वर्षमाथि उमेर समूहका खेलाडीले रु ४० हजार, रु २५ हजार र रु १५ हजार पाउनेछ ।

दश किमी दौडमा पहिलो दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश ः रु आठ हजार, रु ६ हजार र रु पाँच हजार पाउने छन् भने १० किमिकै सैनिक अधिकृत विधातर्फ पहिलो हुनेले रु चार हजार, दोस्रोले रु तीन हजार र तेस्रो हुने खेलाडीले रु दुई हजार पाउने छन् । पाँच किमिको छात्रछात्रा दौडमा पहिलो हुनेले रु १० हजार, दोस्रोले रु सात हजार र तेस्रो हुने खेलाडीले रु पाँच हजार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्