क्रिकेटरको तलब आयो



काठमाडौं, (नेस)
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको २ वर्षको मासिक पारिश्रमिक उपलब्ध गराएको छ ।
शनिबार राष्ट्रिय खेलकुद परिषदले जनाएअनुसार खेलाडीको पारिश्रमिक परिषद्को स्टान्डर्ड चार्टड बैंकमा जम्मा भएको छ । बैंकमा १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ जम्मा भएको पनि परिषदले जनायो । यो तलब आगामी सातामा बाँड्ने परिषदका सल्लाहकार रोहित दाहालले बताए । यो २०१७ र २०१८ वर्षको तलब उपलब्ध भएको हो ।

२०७३ वैसाखमा नेपाल क्रिकेट संघ निलम्बनमा परेपछि राष्ट्रिय खेलाडीले विना तलब नै खेलिरहेका थिए । संघ निष्क्रिय भएको अवस्थामा आईसीसीको नेपालको घरेलु क्रिकेट र अन्तर्राष्ट्रिय क्रिकेटमा दखल बनिरहेको छ ।
नेपालको पुरुष क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएपछि परिषदले आगामी दिनमा खेलाडीको मासिक तलबका साथै अन्य सुविधाको पनि बृद्धि गर्न आईसीसीसंग पहल गर्ने दवाव दिएको जानकारी गरायो ।

आईसीसीबाट २१ जना खेलाडीलाई तीन समहूमा वर्गिगत गरेर पारिश्रमिक दिइने छ । ए श्रेणीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी छन् । ए श्रेणीमा रहेका खेलाडीको मासिक तलब ३५ हजार रुपियाँ रहेको छ ।
बी श्रेणीमा आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार शाह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र शक्ति गौचन छन् । बी श्रेणीका खेलाडीको मासिक तलब २५ हजार रुपियाँ रहेको छ । सी श्रेणीमा सुवास खकुरेल, सागर पुन, दिलिपनाथ, सुनील धमला, सुशन भारी, किशोर महतो र विनोद भण्डारी रहेका छन् । सी श्रेणीका खेलाडीलाई १५ हजार मासिक तलब छुट्याएको छ ।

प्रतिक्रिया दिनुहोस्