उत्कृष्ट बने सुशील र दिवाना



नेपाल समाचारपत्र, काठमाडौं
त्रिभुवन आर्मी क्लबका सुशील थापा र नेपाल पुलिस क्लबकी दिवाना शेर्मा वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ च्याम्पियनसिप २०१९ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

सर्वोत्कृष्ट घोषित भएसँगै सुशीलले टिभीएस मोटरसाइकल र दिवानाले टिभिएस स्कुटर प्राप्त गरे । दुवै विजेतालाई वीर गणेशमान फाउन्डेसनका कार्यकरी अध्यक्ष माननीय प्रकाशमान सिंह, प्रतियोगिता संयोजक राजीव श्रेष्ठ लगायतले पुरस्कृत गरे । नेपाली बक्सिङको इतिहासमा मोटरसाइकल र स्कुटर पुरस्कार दिएको पहिलो पटक हो ।

वीर गणेशमान फाउन्डेसनको आयोजनामा वसन्तपुर डबलीमा आयोजित प्रतियोगिताको अन्तिम दिन आर्मी पुरुषतर्फ पनि टिम च्याम्पियन बन्यो । शनिबार भएका ८ फाइनलमध्ये आर्मीले ५ स्वर्ण जित्दै दुवै महिला र पुरुषको टिम च्याम्पियन उपाधि हासिल गरेको हो ।

पुरुष ४९ केजी तौल समूहमा आर्मीका सुशील थापाले एपीएफका प्रदीप महर्जनलाई पराजित गर्दै स्वर्ण पदक जिते । सेमिफाइनलमा पराजित भएका प्रदेश ६ का मोहन गुरुङ र प्रदेश ७ का भनु विष्टले कांस्य पदक हात पारे ।
५२ केजीमा आर्मीका प्रेम चौधरीले एपीएफका विक्रम परियारलाई पराजित गर्दै उपाधि जिते । सोहि समूहमा पुलिसका चन्द्रबहादुर थापा र प्रदेश १ का सुलभ राज तुलाधर तेस्रा भए ।

 आर्मीकै विमल रोकाले ५६ केजीको उपाधि भिडन्तमा एपीएफका पुरन राईलाई पराजित गरे । प्रदेश २ का गणेश थापा र प्रदेश ७ का महेन्द्र चन्दले कांस्य पाए ।

पुलिसका दिनेश श्रेष्ठले ६० केजी तौल समूहमा आर्मीका एकबहादुर घलेलाई पराजित गर्दै स्वर्ण हात पारे । सो समूहमा प्रदेश ५ का गणेश थापामगर र एपीएफका प्रकाश लिम्बूले तेस्रो भए।

पुलिसका भुपेन्द्र थापाले एपीएफका सोनाम सार्कीलाई पराजित गर्दै ६४ केजी तौल समूहको उपाधि जिते । आर्मीका सुरेश नेपाली र प्रदेश ६ का इन्द्र सुनारले कांस्य पदकमा चित्त बुझाए ।

६९ केजीमा एपीएफका विकास लामाले आर्मीका विष्णुप्रसाद घलेलाई हराउँदै प्रथम स्थान हासिल गरे । सेमिफाइनलमा पराजित प्रदेश १ का राजेश गुरुङ र प्रदेश ३ का मनिष डंगोल कांस्यमा सिमित भए । ७५ केजी तौल समूहमा एपीएफका सुमन कार्कीले आर्मीका दिपक श्रेष्ठलाई वाकओभर दिए । प्रदेश २ का दिवस गुरुङ र प्रदेश ३ का दिवेश भूमिलाल तेस्रा भए ।

आर्मीका रवी सुनारले ८१ केजीको फाइनलमा प्रदेश ५ का केशर खत्रीलाई पहिलो राउण्डमा नै नकआउट गरे । प्रदेश ७ का हिक्मत बहादुर शाही र प्रदेश ४ का सुसन पुनले कांस्य प्राप्त गरे । प्रत्येक तौल समूहको विजेताले २५ हजार प्राप्त गरे । उपविजेताले १५ हजार तथा तेस्रो स्थान प्राप्त गर्ने दुई खेलाडीले जनही ७ हजार ५ सय प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्