वाइडबडीे अनियमितता कहिलेसम्म गुपचुप ?



नेपाल वायु सेवा निगमले दुईवटा वाइडबडी विमान खरिद गर्दा ठूलो अनियमितता भएको समाचार बाहिरिएपछि अनुसन्धानले पुर्णता पाउने र जोकोहि दोषि ठहरिएमा कार्वाही शुरु गर्ने सरकारले बताएको थियो । वाइडबडी प्रकरणमा बहालवाला मन्त्री र सचिवसमेत मुछिएपछि भ्रष्टाचारमा संलग्न ठूला माछाहरु पनि कार्वाहीमा पर्ने अनुमान गरे पनि विमान खरिदमा देखिएको अनियमितताको बारेमा आवश्यक प्रक्रिया भने चल्न सकेको छैन ।

संसदीय समितिको प्रतिवेदन सार्वजनिक भएसँगै सरकारले छानविन समिति गठन गरेको थियो । तर, अनुसन्धानले पुर्णता पाउनुको सट्टा गुमराहमा राखि अनुसन्धानमा ढिलाई भइरहेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले शुरुवाति दिनहरुमा वाइडबडि प्रकरणको अनुसन्धान हुनुपर्ने भन्दै चर्को स्वर उठाए पनि स्वयं कांग्रेसका सभापतिसमेत प्रकरणमा मुछिएपछि वाइडबडी प्रकरणको अनुसन्धानका बारेमा कांग्रेस पनि सुस्ताएको देखिएको छ ।

प्रधानमन्त्री केपी ओलीले निरन्तर भ्रष्टाचार विरुद्धमा लड्ने बताइरहदा अर्बौँको अनियमितता हुँदा पनि सरकार मौन देखिनु लज्जास्पद हो । भाषणमा भ्रष्टाचारीलाई कुनै माफ नहुने भने पनि व्यवहारमा ठिक उल्टो देखिएको छ । वाइडबडि प्रकरण जति लम्बिदै छ, उतिनै राजनितिक मुद्धा बन्दै गएको छ । सरकारको उदासिनता र कांग्रेसको मौनताले गर्दा जनतामा आशंका उब्जिनु स्वभाविक हो । त्यसैले पनि वाइडबडि प्रकरणको अनुसन्धानलाई छिटो भन्दा छिटो पुर्णता दिएर दोषिमाथि कार्वाही शुरु हुनुपर्छ । साना–ठूला जोकोहिलाई पनि कानुन एकैसरह हो । त्यसैले, अर्बौँको भ्रष्टाचार भएको वाइडबडि प्रकरणको छानबिन हुनुपर्छ र दोषीलाई कानुनि कठघरामा उभ्याउन सरकार गम्भिर हुन आवश्यक छ । भ्रष्टाचारलाई निर्मुल गर्ने कुरा भाषणमा मात्र सिमित हुनुहुदैँन ।
– सुरज शाक्य, काठमाडौं ।

नेपाल अझै एचआईभीको जोखिममा
नेपालमा एचआईभीको नयाँ संक्रमण दर बढ्दो अवस्थामा देखा परेको छ । नेपालमा २७ वर्षअघि देखा परेको एचआईभी सहर हुँदै ग्रामीण क्षेत्रमा फैलिँदो क्रममा छ । सुरुवातमा चार जना यौनकर्मीका फेला परेको यसको संक्रमण अहिले दैनिक १५ जनाभन्दा बढीमा फैलिँदै गएको विभिन्न संघसंस्थाहरुको तथ्यांकले देखाएको छ । नेपालमा एचआईभी भित्रिएपछि हालसम्म तीन हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ७० हजार जना संक्रमित रहेको अनुमान छ । सरकारी सेवामा परीक्षण गराउनेबाहेक बाँकीको अवस्था अझै अज्ञात नै छ ।

स्वास्थ्य मन्त्रालयले सेवाबाहिर रहेका संक्रमितले रोग फैलाउन सक्ने त्रास कायमै रहेको जनाएको छ । सो मन्त्रालयमा सरकारी सेवाबाहिर रहेका संक्रमितको कुनै तथ्यांक छैन । जसका कारण एचआईभीको त्रास झनै बढेको छ । चालू आर्थिक वर्ष २०७५÷७६ को पहिलो छ महिनाको अवधिमा मात्रै प्रदेश नम्बर ३ मा १६२ जनामा एचआईभीको संक्रमण भेटिएकोे छ । सामाजिक विकास मन्त्रालयका अनुसार यो नयाँ संक्रमितहरुको तथ्यांक हो । असुरक्षित यौन सम्पर्कलगायतका गतिविधिले एचआईभीको नयाँ संक्रमण बढेको देखाएको हो ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकुले गरेको सर्वेक्षणमा महिला यौन व्यवसायीमा एचआईभीको व्यापकता दर भने घटेको पाइएको छ । सन् २००३ मा २ प्रतिशत रहेको महिला यौन व्यवसायीको व्यापकता दर सन् २०१८ को अन्त्यसम्म आइपुग्दा ०.७ प्रतिशत झरेको देखाएको छ । पछिल्लो समय एचआईभीबारे सचेतनाकै कारण भारतमा काम गरेर फर्किएका पुरूष, आप्रवासी श्रीमतीहरुमा एचआईभी व्यापकता दरसमेत घटेको देखिएको छ ।

सन् २००८ मा ३.३ प्रतिशत रहेको एचआईभी व्यापकता दर दस वर्षको अन्तरालमा ०.७ प्रतिशतमा झर्नु ठूलो उपलब्धि मान्नुपर्छ । एचआईभी तथा एड्ससम्बन्धी कार्यक्रम प्रभावकारी हुँदै गएकाले नयाँ संक्रमण दर घट्नुका साथै एड्सका कारण मृत्यु हुनेको संख्यामा ३० प्रतिशतले कमी आएको पाइएको छ । नेपालमा रहेका एचआईभी संक्रमितमध्ये ६० प्रतिशत अझै पनि एन्टी रेक्ट्रो भाइरल (एआरभी) सेवाको पहुँचबाट टाढा रहेका छन् । नेपालमा ३२ हजार ७३५ एचआईभी संक्रमित रहेकोमा १४ हजार ५४४ ले मात्र एआरभी सेवा लिने गरेको देखिएको छ । करिब ७० प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौन सम्पर्कको माध्यमबाट सर्ने गरेको छ ।

सुरुवातमा एचआईभी शब्द सुन्नेबित्तिकै मानिसले हेय भावले हेर्ने गरे पनि पछिल्लो समय एचआईभी संक्रमितलाई हेर्ने दृष्टिकाणमा भने परिवर्तन आएको छ । पहिले एचआईभीको उपचार सम्भव नभएकै कारण धेरै मानिसहरु त्यसको सिकार भएका थिए । नियमित औषधि सेवन गरे लामो समय जीवन बचाउन सकिन्छ । नेपालमा एचआईभीका लागि विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले विगत २५ वर्षदेखि सचेतनामूलक कार्य गर्दै आइरहेका छन् । गत वर्ष प्रदेश नं ३ मा ७१५ जनामा एचआईभी संक्रमण भएको थियो ।

बर्सेनि एचआईभीको नयाँ संक्रमण दर बढ्दो अवस्थामा रहेकाले यसबाट बच्न यौन सम्पर्क गर्नुअघि अनिवार्यरुपमा अस्थायी साधन प्रयोग गर्नुपर्छ । अस्थायी साधन प्रयोग गर्नुपने ज्ञान प्रदेश नं ३ का ८३ प्रतिशत महिला र ८७ प्रतिशत पुरुषमा देखिनु अर्को उपलब्धि हो । यस्तै, नियमित एआरटी सेवा लिने पनि ४ हजार ८२ जना छन् । जसबाट एचआईभी परीक्षण र औषधिसमेत निःशुल्क प्राप्त गर्न सकिन्छ । सरकार, विभिन्न संघसंस्था, समुदाय र व्यक्तिहरुको सामूहिक प्रयासबाटै एचआईभीबारे सचेतना अभियान सञ्चालन हुँदै आएको छ । नेपालमा ५८ प्रतिशत वयस्क जनसंख्या अझै एचआईभीको जोखिममा रहकाले यसमा व्यक्ति स्वयं सचेत भई एचआईभी न्यूनीकरण गर्नु जरूरी देखिएको छ ।
– भरत राना मगर, हेटौडा ।

प्रतिक्रिया दिनुहोस्