कालिञ्चोकमा लगातार हिमपात, पर्यटक उत्साहित



चिरञ्जीवी मास्के, दोलखा
दोलखाको कालिञ्चोक क्षेत्रमा बिहीबारदेखि लगातार हिमपात भइरहेको छ। शुक्रबार पनि बिहानैदेखि हिमपात भएकाले पर्यटकलाई मन्दिर पुग्न कठिनाइ भएको स्थानीय बताउँछन्।

बिहीबार बिहानैदेखि लगातार हिमपात भएपछि अहिले दुई फिटभन्दा बढी हिउँ जमेको सुनपाती होटलका प्रोपाइटर हरि ओलीले बताए। टायरमा जन्जीर भएको सानो सवारी साधनमात्र कुरीसम्म पुग्ने भएकाले अघिल्लो शुक्रबार र शनिबार जति पर्यटक यो शुक्रबार मन्दिरमा आउन नसकेको ओली बताउँछन्।

कालिञ्चोकको प्रवेशद्वार कुरीमा करिब ४० वटा होटल रहेका छन्। फोनबाट कालिञ्चोकका सबै होटल बुक भएको तर लगातारको हिमपातका कारण सबै पर्यटक भने आइनसकेको सुनपाती होटलका प्रोपाइटर ओली बताउँछन्। मौसमका कारणले आउन कठिनाइ नभए शुक्रबार रातिसम्म ३÷४ हजार पर्यटक कालिञ्चोक आउने ओलीको भनाइ छ।

लगातारको हिमपातले बाटोभरि हिउँ जमेपछि ठूलो तथा टायरमा जन्जीर नभएका सवारी साधन भने गैरीबाट माथि जान सकेका छैनन्। गैरीबाट पैदल जाँदा मन्दिर पुग्न २÷३ घण्टा लाग्ने स्थानीय बताउँछन्।

दोलखा कालिञ्चोक रिर्सोटका सञ्चालक नुर्वु तामाङ लगातारको हिमपातले केही असजिलो भए पनि चारैतिर हिउँले डाँडाकाँडा ढाकेकाले पर्यटकहरू निकै उत्साहित भएको बताउँछन्। ‘लगातारको हिमपातले केही असहज भए पनि कालिञ्चोक आउने पर्यटकहरू सबै खुसी देखिएका छन्’, तामाङले भने– ‘सबै पर्यटक हिउँमा खेलेर निकै रमाइलो गरिरहेका छन्।’

३८४२ मिटरको उचाइमा रहेको कालिञ्चोक मन्दिर प्राकृतिक र धार्मिक दुवै हिसाबले निकै महŒवपूर्ण मानिन्छ। कालिञ्चोकको कुरीबाट मन्दिरसम्म केबलकार सञ्चालन भएपछि पर्यटकको संख्यामा वृद्धि भएको स्थानीय होटल व्यवसायीहरूको भनाइ छ।
झन्डै ४ हजारको उचाइमा रहेको मन्दिर परिसरको जलकुण्ड नै कालिञ्चोकको मुख्य विशेषता हो। हिमपातले मन्दिर परिसर तथा जलकुण्डसमेत ढाकिएपछि पर्यटक झन् उत्साहित बनेको तामाङको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्