पलायन राष्ट्रवादी



काम पाइनस् बुहारी पाडाको।।। कन्या भन्याजस्तो आजकल मुलुक छोडेर पलायन हुने नेपालीहरूले देशमा बसेर ढिडोरोटो खाने नेपालीमाथि खनिएको देख्दा उदेक लागेर आउँछ भन्या धरहरालाई। मुलुकमा सम्भावना हुँदाहुँदै विदेश भासिएर राष्ट्रवादी कुरा गर्ने ती नेपालीलाई के भनौं र खै भन्ने गीतको झझल्को आउँछ। विदेशिनासाथ राष्ट्रवादी हुने र मुलुकमा बसेर आफ्नो जीवनयापन गर्नेमाथि नानाभाँतीका आरोप लगाएको देख्दा सरकारले तिनीहरूको नागरिकता नै निलम्बन गरिदिए पनि हुने निष्कर्षमा धरहरा पुगेको छ ।आफूलाई विदेशी भूमि टेक्नासाथ राष्ट्रवादी देख्ने त्यस्ता द्रव्यपिशाचहरूले राज्य सञ्चालकलाई तथानाम भनेर गाली गर्ने गरेको सामाजिक सञ्जालमा आजकल बग्रेल्ती देख्न पाइन्छ। मुलुकमा बसेर फट्याइँ गर्न नपाएपछि पलायन भएका त्यस्ता राष्ट्रका भारहरूविरुद्ध सबै स्वदेशी नेपाली एक भएर उभिनुको विकल्प पनि छैन। कमसेकम विदेशमा बसेर कमाएको पैसा नेपाल पठाए हुने नि, उतै घरजम गर्ने मोजमस्ती गर्ने अनि स्वदेशी नेपालीलाई गाली मात्रै गर्ने यो पाराले त मुलुक बन्दैन है सरकारका महामहिमज्यूहरू। यस्तालाई समयमा नै ठीक लगाउने कानुन ल्याउनुपर्दछ र त्यस्ता देशद्रोहीहरूलाई नेपाल आउन सधैंका लागि बन्देज लगाउनुपर्दछ।

प्रतिक्रिया दिनुहोस्