कठिन जितसँगै मनाङ सेमिफाइनलमा



पोखरा, (नेस)
‘ए’ डिभिजन लिग विजेता मनाङ मस्र्याङ्दी क्लबले १० खेलाडीमा सीमित ब्रिगेड युथ क्लबलाई टाइब्रेकरमा ५–४ ले हराउँदै मनकामना केबलकार पोखरा कपको सेमिफाइनलमा पुगेको छ।

बुधबार पोखरा रंगशाला मैदानमा भएको मनाङ र ब्रिगेडबीच खेल निर्धारित समयमा १–१ बराबरीमा रोकिएको थियो। खेलको निर्णय टाइब्रेकरमा हुँदा मनाङ भाग्यमानी ठहरियो। नियमित समयमा ब्रिगेडका लागि रित्तिक खड्काले १६औं मिनेटमा उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए। रित्तिकले मनाङका तीन डिफेन्डरलाई बिट गर्दै दोस्रो बारमा गरेको प्रहारले जाली चुमेको थियो।

पहिलो हाफमा १–० गोलले पछि परेको मनाङले खेलको ६७औं मिनेटमा बराबरी गोल फर्कायो। मनाङका आसिफ मुहम्मदले गरेको लामो फ्रि किक प्रहारमा ओलावाला आफिजले दिएको हेड ब्याकपासमा बिमल रानाले गोल गरेका थिए। तर ८८औं मिनेटमा ब्रिगेडका गोलरक्षकले डिबक्सबाहिरको बललाई हातले फालेपछि रातो कार्ड खाँदै बाहिरिए। १० खेलाडीमा सीमित ब्रिगेडका लागि उक्त रातो कार्ड खानु दुर्भाग्यपूर्ण र≈यो।

ब्रिगेडका प्रशिक्षक सुबित कार्कीले राम्रो टिमसँग पनि १० जना खेलाडीको प्रदर्शनमा सन्तुष्ट रहेको बताए। उनले भने– ‘मनाङ लिग विजेता क्लब हो, हामी १० खेलाडीमा भएर समेत बराबरीमा खेल्यौं।’

उता मनाङका प्रशिक्षक सुमन श्रेष्ठले खेलाडीले खेल हल्का रूपमा लिँदा टाइब्रेकरमा पुगेको बताए। उनले भने– ‘हाम्रा केही खेलाडी घाइते भएका कारण पनि सोचेजस्तो खेल खेल्न सकेनौं, विपक्षीले पनि राम्रो खेल खेल्यो।’

प्रतिक्रिया दिनुहोस्